मनोरंजन

डेब्यु फिल्म ‘लालीबजार’बाटै दर्शकको मन जिते विशाल देवकोटाले

By अर्जुन भट्टराई •

डेब्यु फिल्म ‘लालीबजार’बाटै दर्शकको मन जिते विशाल देवकोटाले

काठमाडौं । अभिनेता विशाल देवकोटाले आफ्नो पहिलो फिल्म ‘लालीबजार’बाटै दर्शकको मन जित्न सफल भएका छन् । फिल्ममा उनले निर्वाह गरेको नारायणको पात्रलाई दर्शकले खुब मन पराएका छन् — कुप्रथा विरुद्ध आवाज उठाउने, शिक्षाको महत्व बुझाउने र इमान्दार यो पात्रले धेरैको दिल छोएको छ ।

मंगलबार आफ्नो जन्मोत्सव मनाइरहेका विशाल थिएटरबाट फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् । नेपालको रंगमञ्चमा उनी अभिनेता मात्र नभई निर्देशकको रूपमा समेत परिचित थिए । फिल्म ‘लालीबजार’मा उनी अडिसनमार्फत छनोट भएका थिए, र उनको अभिनय कौशलताकै कारण डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर पाएको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ ।

सानैदेखि कलाकार बन्ने सपना बोकेका विशालले नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै आफ्नो यात्रा शुरू गरेका थिए । उनी चितवनबाट झन्डै ९ वर्ष अगाडि काठमाडौं आएका हुन् ।

कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा उनको अभिनय हेरेपछि फिल्म ‘लालीबजार’को टोलीको ध्यान उनीतर्फ खिचिएको थियो । प्रदिप भट्टराई, रबिन र जेभी लगायत उक्त नाटक हेर्न आएका थिए, र त्यसपछि विभिन्न चरणको अडिसन पार गर्दै उनी फिल्ममा छनोट भए ।

आफ्नै शब्दमा उनले भने, ‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ । यसपटकको जन्मोत्सव खास नै रह्यो — सोमबार मात्र मैले डेब्यु फिल्मको ५१औं दिन सेलिब्रेट गरें, आज मंगलबार जन्मदिन पर्यो । यहाँबाट मेरो नयाँ यात्रा प्रारम्भ भएको महसुस गरेको छु ।’

दर्शकसँग भेट गर्न मोफसल टुरमा समेत पुगेका विशाललाई अधिकांश दर्शकले ‘छोरा होस् त नारायण जस्तो’ भन्दै प्रशंसा गरेका थिए । ‘लालीबजार’को सफलताले उनलाई फिल्म मेकरहरूसम्म पनि चिनाएको छ र विभिन्न फिल्मबाट अभिनयका प्रस्ताव आउन थालेका छन् ।

तर उनी अहिलेसम्म कुनै निर्णयमा पुगेका छैनन् । उनले भने, ‘प्रस्तावहरू आइरहेका छन्, केही मेकरसँग कुराकानी पनि भएको छ । यद्यपि के गर्ने भन्ने निर्णय गरिसकेको छैन । अब आगामी फिल्मको तयारीमा जुट्ने छु ।’ दर्शकबीच कमाएको विश्वासलाई आगामी प्रोजेक्टमा थप मजबुत बनाउने उनको चाहना छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.