काठमाडौं। आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको व्यवसायीकरण अनिवार्य रहेको बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र ब्यालेटमार्फत शान्तिपूर्ण रूपमा भएको सत्ता हस्तान्तरण विश्व इतिहासकै सुनौलो क्षण हो। अब मुलुकको मुख्य लक्ष्य सुशासन र आर्थिक रूपान्तरण हुनुपर्छ।’
उनका अनुसार शून्य भ्रष्टाचार र सुदृढ शासन व्यवस्थाको जगमा उभिएर देशलाई अगाडि बढाउन निर्वाहमुखी खेतीपाती छाडी व्यावसायिक कृषि प्रणाली अपनाउनु अपरिहार्य छ।
बस्नेतले तथ्यांक प्रस्तुत गर्दै भने कि देशको ६० प्रतिशत जनसमुदाय कृषिमा आश्रित छ, तर त्यसमध्ये केवल १८ प्रतिशतले मात्र व्यावसायिक खेती गरिरहेका छन्। बाँकी ४२ प्रतिशत किसान अझै पनि निर्वाहमुखी खेतीमा सीमित रहेका छन् र व्यावहारिक रूपमा अर्ध–बेरोजगारको अवस्थामा छन्।
‘ती ४२ प्रतिशत किसानलाई व्यावसायिकतातर्फ नडोहोर्याएसम्म र उनीहरूको जीवनस्तर नउकासेसम्म देशमा समतामूलक समृद्धि हासिल हुन सक्दैन,’ उनले भने।
ठूला अर्थशास्त्री र विद्वानहरूको निचोड पनि रोजगारी सिर्जनामै केन्द्रित हुने उल्लेख गर्दै उनले कृषिलाई मुलुकको मुख्य आर्थिक खम्बा बनाउनुपर्नेमा जोड दिए। साथै, यस क्षेत्रको व्यवसायीकरणका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता पनि औंल्याए।
बस्नेतले आफूले सञ्चालन गरेको आरजु राइस मिललाई यसको सफल उदाहरणका रूपमा प्रस्तुत गरे। सानो स्तरबाट सुरु भएको यो मिलले कृषिलाई व्यावसायिक मार्गमा लैजान सकिन्छ भन्ने कुरा प्रमाणित गरिसकेको उनको दाबी छ। यही मोडलले नै देशको बेरोजगारी समस्या समाधान गरी समृद्धिको सपना साकार पार्न सक्ने विश्वास उनले व्यक्त गरे।
