अर्थ

व्यापार बढाउन होइन, उधारो असुल्नमै समय बित्दैछ : मोरङका उद्योगी बिरेन्द्र बस्नेत

By अर्जुन भट्टराई •

व्यापार बढाउन होइन, उधारो असुल्नमै समय बित्दैछ : मोरङका उद्योगी बिरेन्द्र बस्नेत

काठमाडौं । मोरङस्थित आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बहादुर बस्नेतको पीडा सुन्दा नेपालको धान–चामल उद्योगको एउटा कटु वास्तविकता सामुन्ने आउँछ — समस्या उत्पादनमा होइन, उधारोमा छ ।

वर्षमा करिब १५ अर्ब रुपैयाँको कारोबार गर्ने यस मिलको करिब तीन करोड रुपैयाँ अहिले बजारमा फसेको छ । काठमाडौं, पोखरालगायत विभिन्न सहरका होलसेलर र रिटेलरबाट यो रकम उठ्न बाँकी छ । उधारो असुल्न कानुनी र प्रशासनिक प्रक्रियामा जानुपरेको बस्नेत बताउँछन् ।

“चामल अन्तिम उपभोक्तासम्म पुग्दा नगदमै बिक्री हुन्छ, तर त्यो पैसा बीचका व्यापारीको तहमा अड्किन्छ,” उनी भन्छन्, “यसले उद्योगीको पूँजी थुनिने अवस्था सिर्जना गर्छ । व्यापार विस्तार गर्नुभन्दा उधारो असुल्नमै बढी समय र ऊर्जा खर्च गर्नुपर्ने अवस्था आएको छ ।”

बस्नेतका अनुसार नयाँ सरकार बनेपछि केही सहजीकरण भए पनि उधारो असुली झनै प्रभावकारी बनाउनु जरुरी छ । पैसा नतिर्ने व्यापारीलाई प्रहरी प्रशासनमार्फत तत्काल भुक्तानी गराउने वा छिटो कानुनी कारबाही गर्ने संयन्त्र बने उद्योगीहरूलाई ठूलो राहत हुने उनको भनाइ छ । उनले यो ३ करोडको समस्या समयमै नसुल्झाइए भविष्यमा अर्बौंको संकट बन्न सक्ने चेतावनी दिँदै यसलाई एउटा उद्योगको मात्र नभई समग्र व्यापारिक प्रणालीको चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् । आगामी दिनमा यस विषयलाई उद्योगीहरूको साझा अभियानका रूपमा अघि बढाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

उधारोको चुनौतीबीच पनि आरजु राइस मिलले किसानसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको छ । उद्योगले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानबाट धान खरिद गरिरहेको बस्नेतको दाबी छ । मलको अभावलाई उनले नेपालको मात्र नभई विश्वव्यापी समस्या भएको बताए ।

आरजु राइस मिलको वार्षिक धान प्रशोधन क्षमता ३० देखि ३५ हजार टन रहेको छ । अब उद्योगले चामल उत्पादनमा मात्र सीमित नरही प्रशोधनपछि निस्कने कनिका र राइस ब्रान उपयोग गर्ने पूरक उद्योग स्थापना गर्ने योजना अघि बढाएको छ, जसले उत्पादनको पूर्ण उपयोग र मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखेको बस्नेतले बताए ।

स्वदेशी चामलको गुणस्तरबारे पनि बस्नेत स्पष्ट छन् । नेपाली चामल आयातित चामलभन्दा कुनै हिसाबले कमजोर नभई धेरै अवस्थामा झन् राम्रो रहेको उनको तर्क छ । उत्पादन भएको खेतसम्म ट्रेस गर्न सकिने भएकाले विषादीको अवस्था पनि स्पष्ट थाहा पाउन सकिने उनी बताउँछन् । चामल ग्लुटेन–फ्री खाद्य भएकाले स्वास्थ्यका दृष्टिले पनि भातभन्दा रोटी सधैं राम्रो भन्ने धारणा वैज्ञानिक रूपमा सही नभएको उनको भनाइ छ । उनले उपभोक्तालाई सन्तुलित मात्रामा नेपाली चामललाई दैनिक भोजनमा समावेश गर्न आग्रह गरे ।

बस्नेतका अनुसार नेपाली उपभोक्ताले स्वदेशी चामल रोजेमा किसान, उद्योग र राष्ट्रिय अर्थतन्त्र तीनै पक्षलाई प्रत्यक्ष फाइदा पुग्नेछ । आरजु राइस मिलले उठाएको तीन करोड रुपैयाँ उधारोको मुद्दाले नेपालको कृषि–व्यवसायमा व्यवस्थित व्यापारिक संस्कृतिको खाँचो अझै कायमै रहेको स्पष्ट देखाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.