काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई औपचारिक रूपमा शपथ ग्रहण गराए।
असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पुँजी बजारमा लगानीकर्ताको लगानी सुरक्षित गर्न र बजारप्रतिको विश्वास अभिवृद्धि गर्न निर्देशन दिए। उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाहिरी प्रभावबाट टाढा रहेर निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए। साथै, पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको गति समाउन पुँजी बजारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए।
अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक र छ महिनादेखि एक वर्षसम्मका स्पष्ट कार्ययोजना तयार गरी प्रस्तुत गर्न निर्देशन दिए। बजारमा फैलिने अनावश्यक हल्लाले साना लगानीकर्तामा त्रास उत्पन्न हुने भएकाले त्यसलाई नियन्त्रण गर्न पनि उनले आग्रह गरे।
‘धेरै बोलेर होइन, काम गरेर प्रमाणित गर्नुपर्छ’ भन्दै अर्थमन्त्री वाग्लेले परिणाममुखी कार्यसम्पादनमा जोड दिए। उनले मन्त्रालयबाट हस्तक्षेप नहुने स्पष्ट पार्दै हरेक हप्ता बजारको प्रगति विवरण बुझ्न चाहने बताए।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकार र अर्थमन्त्रीको विश्वासअनुसार पुँजी बजार सुधारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। लगानीकर्ताको हित, बजार विकास र आर्थिक वृद्धिलाई प्राथमिकतामा राख्दै विगतका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्ने पनि उनले बताए।
