समाचार

‘भातमुखी’ नेपाल आयातित चामलमा निर्भर: धान उत्पादन बढाउने योजना कमजोर, रैथाने जात संकटमा

By अर्जुन भट्टराई

‘भातमुखी’ नेपाल आयातित चामलमा निर्भर: धान उत्पादन बढाउने योजना कमजोर, रैथाने जात संकटमा

काठमाडौं। नेपालले प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आएको छ, तर यस वर्ष पर्याप्त वर्षा नहुँदा देशका अधिकांश धानखेत अझै बाँझै छन्। मनसुन पूर्ण सक्रिय नभएकाले रोपाइँ प्रभावित भएको छ र किसान आकाशे पानीकै भरमा बस्न बाध्य छन्।

जलवायु परिवर्तन, अनियमित मनसुन, मलको अभाव, कमजोर सिँचाइ, रैथाने बीउ संरक्षणको चुनौती र उत्पादनपछि बजारको अनिश्चितताले नेपाली धान खेती वर्षेनी झन् कठिन बन्दै गएको कृषि क्षेत्रका विज्ञहरू बताउँछन्।

**आयातित चामलमा बढ्दो निर्भरता**

नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठका अनुसार धानको उत्पादकत्व विगतको तुलनामा केही सुधार भए पनि अपेक्षाअनुसारको उपलब्धि हासिल हुन सकेको छैन। उनले भने, ‘प्रतिइकाइ उत्पादन बढाउन र किसानले बजारको मागअनुसारका जात प्रयोग गर्न आवश्यक छ।’

नेपाली उपभोक्ताको स्वाद परिवर्तनसँगै मसिनो र लामो दानाको चामलको माग बढेको छ, जसले स्थानीय धानको उपयोग घटाउँदै विदेशी चामलमा निर्भरता बढाएको छ। ‘हामीले आफ्नै उत्पादनको धान खान छाड्यौं, विदेशबाट आएको चामल खान थालेका छौं। यो धान क्षेत्रको ठूलो चुनौती हो,’ श्रेष्ठले भने।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डीबी बस्नेतले धान दिवस अब केवल एउटा औपचारिक कार्यक्रम मात्र बनेको र धानको उत्पादन क्रमशः घट्दै गएको बताए। उनका अनुसार खेती गर्ने जनशक्ति र प्रक्रियामा आएको कमीले उत्पादनमा प्रत्यक्ष असर परेको छ।

**रैथाने धान जोगाउनु अनिवार्य**

जुम्ली मार्सीजस्ता रैथाने धानका जात अहिले देश-विदेशमा चिनिन थालेका छन्, तर राज्यको संरक्षण भने पर्याप्त छैन। श्रेष्ठले भने, ‘उत्पादन कम भए पनि यस्ता जातको आफ्नै महत्व छ। स्थानीय बीउ संरक्षण नगरे भविष्यमा नेपालको कृषि जैविक विविधता नै संकटमा पर्न सक्छ।’

नयाँ विकसित जातको तुलनामा उत्पादकत्व कम हुने भएकाले किसान रैथाने धान लगाउन हिच्किचाउने गरेका छन्। बस्नेतका अनुसार रैथाने बीउहरू लोपको अवस्थामा पुगेका छन् र सरकारले प्रवर्धनका लागि पर्याप्त काम गर्न सकेको छैन। ‘निजी क्षेत्रले प्रयास गरिरहेको छ, सरकारले पनि सहयोग गर्नुपर्छ,’ उनले भने।

**मनसुन अनिश्चित, सिँचाइ विस्तार अपरिहार्य**

यस वर्ष मनसुन केही चाँडै नेपाल प्रवेश गरे पनि पर्याप्त वर्षा भएको छैन। श्रेष्ठले भने, ‘आवश्यक बेला पानी पर्दैन, नचाहिएको बेला अत्यधिक वर्षा हुन्छ।’ धान पानीमा आधारित बाली भएकाले सिँचाइको दीर्घकालीन व्यवस्था अनिवार्य रहेको उनको भनाइ छ।

अनुसन्धानबाट पानी कम हुँदा छिट्टै पाक्ने र बढी पानी सहन सक्ने धानका जात विकास भइसकेका छन्। खुमल-२, खुमल-४ लगायत उन्नत जातसँगै सुगन्धित तथा बासमती धानको माग पनि बढिरहेको श्रेष्ठले बताए।

**बजार सुनिश्चितता र मल कारखानाको माग**

धान उत्पादनपछि उचित मूल्य नपाउँदा किसान निरुत्साहित हुने गरेको उल्लेख गर्दै श्रेष्ठले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरी धान खरिदको व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए। ‘सरकारले व्यवस्थित रूपमा किसानबाट धान खरिद गरिदियो भने कृषक उत्साहित हुन्छन्,’ उनले भने।

मल कारखाना स्थापनाको माग वर्षौंदेखि उठ्दै आए पनि अझै पूरा हुन नसकेको श्रेष्ठले बताए। अन्तर्राष्ट्रिय द्वन्द्व, मूल्यवृद्धि र आयातमा निर्भरताका कारण किसानले समयमा मल पाउन सकेका छैनन्। रासायनिक मलसँगै प्राङ्गारिक मलको प्रयोग बढाएर माटोको गुणस्तर जोगाउनु पनि उत्तिकै जरुरी रहेको उनको भनाइ छ।

**वास्तविक किसानसम्म अनुदान पुगेन**

कृषि अनुदान कार्यक्रमले केही सकारात्मक प्रभाव पारे पनि वास्तवमा खेती गर्ने किसानसम्म प्रभावकारी रूपमा पुग्न नसकेको श्रेष्ठले बताए। बस्नेतका अनुसार समयमा मल र बीउ नपाउनु, सिँचाइको अभाव, खेती गर्ने जनशक्तिको कमी र कृषि प्राविधिकको अभाव अहिलेका मुख्य समस्या हुन्।

धान उत्पादन बढाउन सरकारले विशेष पकेट क्षेत्र विकास गर्नुपर्ने बस्नेतको सुझाव छ। ‘सिँचाइ, मल, बीउ, कृषि प्राविधिक र आधुनिक प्रविधि एकीकृत रूपमा उपलब्ध गराउन सके उत्पादन उल्लेखनीय रूपमा बढाउन सकिन्छ,’ उनले भने।

कृषि विज्ञहरूका अनुसार धान दिवस केवल उत्सवको दिन नभई नेपालको खाद्य सुरक्षा र किसानको भविष्य सुनिश्चित गर्ने नीति कार्यान्वयनको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.