काठमाडौं । व्यावसायिक रूपमा सफल सिनेमा ‘खुस्मा’ बनाएका निर्देशक अशोक थापा मगरको दोस्रो सिनेमा ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ।
असार १५, राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सिनेमाका दुई फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको छ। ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका यी दुई पोस्टरले एउटै प्रेमकथाका फरक–फरक भाव र मनोविज्ञान प्रस्तुत गर्छन्।
पहिलो पोस्टरमा सोनम र उपासनाबीचको प्रेम, आत्मीयता र खुसीका क्षण देखाइएका छन् भने दोस्रो पोस्टर भावनात्मक र गम्भीर छ, जसमा दुवै पात्र मौन र पीडायुक्त मुद्रामा देखिन्छन्। यो पोस्टरले कथामा आउने उतारचढाव, बिछोड र भावनात्मक संघर्षको झल्को दिन्छ।
निर्देशक अशोक थापा मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई सिनेमाको कथामा बुनिएको छ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्मित यस सिनेमामा सोनम तोप्देन र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्। साथै शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिन लगायतका कलाकारको अभिनय रहेको छ। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्।
उल्लेखनीय कुरा के छ भने यस सिनेमाबाट मिस सिक्किमको उपाधि जितेकी साहारा हाङमा लिम्बूले नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी छन्, जुन सिनेमाको थप आकर्षण मानिएको छ।
निर्देशक अशोक थापा मगरको पहिलो सिनेमा ‘खुस्मा’ बक्स अफिसमा सफल रहेको थियो। सोही सिनेमाबाट उपासना सिंह ठकुरीले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। यसपटक पनि यही सफल जोडी एकसाथ आएकाले ‘जलाकी’ प्रति दर्शकको अपेक्षा उच्च रहेको निर्माण पक्षको विश्वास छ। यसअघि ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीत टिकटक, फेसबुक रिल्स र युट्युबमा निकै लोकप्रिय भएको थियो।
सिनेमाका निर्मातामा ओम घर्ति मगर, बीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। प्राविधिक पक्षमा शैलेन्द्र डी. कार्कीले छायांकन गरेका छन् भने एसडी योगी र सरित राईले संगीत दिएका छन्। सुरेन्द्र राना र राम अविरल विष्टले लेखेका गीतमा एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगरको स्वर रहेको छ।
‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले देशभर वितरण गर्नेछन्।
