काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ। यो दिन नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण र ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा जोडिएको छ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार कृषिप्रधान देश नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा धान खेती पहिलो र दुग्ध क्षेत्र दोस्रो सबैभन्दा महत्वपूर्ण क्षेत्र हो। लाखौँ किसान परिवारको जीविका यी दुवै क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
नेपाल सरकारले यस वर्षको राष्ट्रिय धान दिवसको मूल नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ तय गरेको छ। जलवायु परिवर्तनका कारण अनियमित वर्षा, खडेरी र बाढीका चुनौती बढिरहेका बेला आधुनिक प्रविधि, उन्नत बीउ, सिँचाइ सुविधा र वैज्ञानिक खेती प्रणालीको विकास अपरिहार्य भएको छ।
नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुन्छ। ६ लाख किसान परिवार प्रत्यक्ष रूपमा दूध उत्पादनमा संलग्न छन्। दुग्ध क्षेत्रले कृषि कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पुर्याउँदै हजारौँ प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। तर पछिल्ला वर्षहरूमा उत्पादन लागत वृद्धि, पशु आहाराको महँगी, दूध भुक्तानीमा ढिलाइ र आयातित वस्तुसँगको प्रतिस्पर्धाले किसान र दुग्ध उद्योग दुवैलाई चुनौतीमा पारेको छ।
असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र होइन। खेतबारीमा दिनभरि कठिन श्रम गरेपछि दही–चिउरा खाने चलनले कृषकलाई ऊर्जा दिनुका साथै श्रमप्रतिको सम्मान, सामूहिकता र सहकार्यको भावना मजबुत बनाउँछ। बेठी लगाएर सामूहिक रोपाइँ गर्ने, हिलोमा रमाउने र खेतको आलीमा बसेर दही–चिउरा, आलु तथा केराउको अचार खाने चलन नेपाली ग्रामीण जीवनको अनुपम सांस्कृतिक सम्पदा हो।
पोषणको दृष्टिकोणले पनि दही अत्यन्त महत्वपूर्ण छ। यसमा उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, फस्फोरस, भिटामिन बी र रिबोफ्लाभिन पाइन्छन्। दहीमा रहेका लाभदायी सूक्ष्मजीवहरूले पाचन प्रणाली सुदृढ बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र समग्र स्वास्थ्य सुधार गर्न सहयोग गर्छन्। दही–चिउराको संयोजन कार्बोहाइड्रेट, प्रोटिन, खनिज पदार्थ र ऊर्जाको सन्तुलित स्रोत भएकाले यसलाई नेपाली समाजको परम्परागत पौष्टिक भोजन मान्न सकिन्छ। विश्व स्वास्थ्य संगठनले पनि दुग्धजन्य पदार्थको नियमित सेवनले पाचन स्वास्थ्य सुधार हुने पुष्टि गरेको छ।
त्यस्तै मोही पनि नेपाली जीवनशैलीसँग जोडिएको स्वास्थ्यवर्धक पेय हो। केही दशकअघि हरेक गाउँघरमा ठेकीमा मथेर मोही बनाउने र छिमेकीसँग बाँडेर खाने संस्कृति व्यापक थियो। माटाको भाँडोमा राखिएको चिसो मोहीले गर्मीमा शरीरलाई शीतलता दिन्थ्यो। समयसँगै यो परम्परा घट्दै गयो र त्यसको ठाउँ आयातित तथा कृत्रिम पेय पदार्थले लिन थाल्यो। तर पछिल्ला वर्षहरूमा केही दुग्ध उद्योगहरूले व्यावसायिक रूपमा मोही उत्पादन गरी बजारमा उपलब्ध गराउन थालेका छन्, जुन परम्परागत खाद्य संस्कृतिको पुनर्जागरणको सकारात्मक संकेत हो।
नेपाल डेरी एसोसिएसनको अनुमान अनुसार यस वर्ष असार १५ मा देशभर करिब ७५ लाख लिटर दही खपत हुने र करिब एक अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा छ। यसले दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था र डेरी उद्योगमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
स्वदेशी उत्पादनको उपभोग बढ्दा विदेशी वस्तुमा निर्भरता कम हुने, किसानको आय वृद्धि हुने र ग्रामीण अर्थतन्त्र चलायमान हुने अपेक्षा छ। असार १५ जस्ता मौलिक पर्वहरूले नेपाली कृषि, संस्कृति, खाद्य परम्परा र स्वदेशी उत्पादनबीचको सम्बन्ध मजबुत बनाउने अवसर दिन्छन्। कृषि पर्यटन र स्थानीय खाद्य संस्कृतिको प्रवर्धनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा मौलिक पहिचानसहित प्रस्तुत गर्न सकिन्छ।
दही–चिउरा र मोही केवल परिकार वा पेय पदार्थ मात्र होइनन्। यी नेपाली सभ्यता, कृषि संस्कृति, पोषण सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय पहिचानका प्रतीक हुन्। कृषि र दुग्ध क्षेत्रको संरक्षण, प्रवर्धन र आधुनिकीकरणमार्फत मात्रै समृद्ध नेपालको सपना साकार हुन सक्छ।
(लेखक प्रल्हाद दाहाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुन्।)
