समाचार

बाजुरामा २३औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव सम्पन्न, प्रविधि र उत्पादन बढाउन जोड

By अर्जुन भट्टराई

बाजुरामा २३औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव सम्पन्न, प्रविधि र उत्पादन बढाउन जोड

बाजुरा । बाजुरामा २३औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव हर्षोल्लासका साथ मनाइएको छ। ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराअन्तर्गत जिल्लाका नौवटै स्थानीय तहले यो वर्षको दिवस मनाएका हुन्।

कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाका कृषि शाखाको आयोजनामा मनाइएको यस दिवसमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, किसान र पत्रकारहरू किसानकै खेतबारीमा पुगेर उत्सव मनाए।

कार्यक्रममा अर्गानिक मल, परम्परा, संस्कृति र आधुनिक प्रविधिलाई एकसाथ अँगाल्दै धान रोपाईँ गरियो। हाते ट्र्याक्टरको सहायताले खेत जोत्दै र खन्दै सहभागीहरूले आधुनिक प्रविधि अपनाएर उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए। धपधपे हिलोमा एक–आपसमा हिलो छ्याप्दै रमाइलो पनि गरियो।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले किसानहरूलाई शुभकामना दिँदै आजको दिन ‘मानो खाएर, मुरी उब्जाउने दिन’ भएको बताए। उनले हिलो र माटोसँग रम्ने बानीको विकास गरी परम्परा र संस्कृतिलाई जीवन्त राख्नुपर्नेमा जोड दिए। ‘परम्परा, प्रविधि र संस्कृतिको संरक्षणमा स्थानीय कृषक मुख्य जिम्मेवार हुनुपर्छ। कृषि पेशा नै आत्मनिर्भरताको प्रमुख आधार हो,’ उनले भने।

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले कृषिमा व्यावसायिक रूपमा लाग्नुपर्नेमा जोड दिँदै धान दिवसले कृषि क्षेत्रमा सकारात्मक छाप छाडेको बताए। ‘बाजुरा जस्तो हिमाली जिल्लामा कृषि अझै पनि अधिकांश नागरिकको मुख्य पेशा हो। यस क्षेत्रमा लगानी र आधुनिकीकरण अपरिहार्य छ,’ उनले भने।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्काले उत्पादन वृद्धि, रैथाने बालीनालीको प्रवर्द्धन र अर्गानिक खेतीमा ध्यान दिनुपर्ने बताए। साथै नेपाल सरकार र पालिकाहरूले नीतिगत रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरी कृषि अर्थतन्त्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए।

बडीमालिका नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्यायले परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक प्रविधि अपनाउनुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएकाले कृषि क्षेत्रमा असर परेको बताउँदै तीनै तहका सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राखे।

किसानहरूले नयाँ प्रविधिको विकास र सरकारले समयमै बीउ, मल तथा सिँचाइको व्यवस्था गरेमा उत्पादन बढाउन सकिने गुनासो गरे। बाजुराका अधिकांश ठाउँमा आकाशे पानीकै भरमा रोपाईँ हुने गर्छ भने केही भिरालो र पाखो जमिनमा अझै रोपाईँ हुन सकेको छैन।

धान दिवस केवल औपचारिक कार्यक्रम मात्र नभई किसानको श्रमको सम्मान गर्ने दिनका रूपमा लिइन्छ। खेतमा गुञ्जिएका असारे भाका, सामूहिक रोपाईँ र स्थानीय संस्कृतिको झल्कोले कार्यक्रमलाई थप जीवन्त बनायो। कृषि सामग्रीको सहज उपलब्धता र बजार व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि किसानहरूले औँल्याए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले दही, चिउरा र केरा खाँदै आपसी सद्भाव कायम राखेर खेतबारीबाट विदाई लिने परम्परा यस पटक पनि निभाइयो।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बाजुरामा ६ हजार ९१५ हेक्टर धानको क्षेत्रफल रहेको छ, जहाँ १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुने गर्छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.