काठमाडौं । असार १५ नेपाली समाजका लागि राष्ट्रिय धान दिवस मात्र होइन, कृषिसँग जोडिएको संस्कृति, परम्परा र मौलिक खानपानको उत्सव पनि हो। यस दिन दही–चिउरा खाने परम्परा पुस्तौँदेखि चल्दै आएको छ। तर बदलिँदो जीवनशैली, सहरीकरण र जंकफुड संस्कृतिको प्रभावले यो परम्परा क्रमशः ओझेलमा पर्दै गएको भन्दै दुग्ध व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
यही पृष्ठभूमिमा नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान (डीडीसी) तथा निजी डेरी उद्योगहरूले दही–चिउरा र मोहीको उपभोग बढाउने अभियानलाई तीव्र बनाएका छन्।
**मौलिक संस्कृति जोगाउने अभियान**
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार एसोसिएसनले विगत पाँचदेखि सात वर्षदेखि असार १५ मा दही–चिउरा र साउन १५ मा खीर खाने विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
उनले भने, ‘समाजमा मौलिक संस्कृति बिर्सिने प्रवृत्ति बढ्दै गएको छ। असार १५ मा दही–चिउरा र साउन १५ मा खीर खाने परम्परा हाम्रो सांस्कृतिक पहिचान हो। यदि हामीले यसको संरक्षण गरेनौं भने भावी पुस्ताले आफ्नो मौलिक पहिचान नै बिर्सनेछन्।’
उनका अनुसार पहिले खेतको आलीमा बसेर दही–चिउरा र अचार खाने, हिलो खेल्ने, रोपाइँ गीत गाउँदै धान रोप्ने चलन थियो। अहिले त्यो वातावरण हराउँदै गएकाले हरेक वर्ष यस्ता कार्यक्रम गरेर पुरानो संस्कृतिलाई सम्झाउने प्रयास भइरहेको छ।
**दहीको बिक्रीमा उल्लेख्य वृद्धिको अपेक्षा**
काठमाडौं दुग्ध वितरण आयोजना (डीडीसी) बालाजुले यस वर्ष असार १५ लाई लक्षित गर्दै करिब ३० हजार केजी दही बिक्री गर्ने लक्ष्य लिएको छ। गत वर्ष आयोजनाले २० देखि २५ हजार केजी दही बिक्री गरेको थियो।
आयोजनाका प्रमुख चक्रवर्ती पौडेलले भने, ‘बजारमा माग निकै बढेको छ। प्रधानमन्त्रीले याक चिजको प्रचार गरेपछि डीडीसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको हामीले अनुभव गरेका छौं। आउटलेटहरूमा बिक्री झण्डै दोब्बर भएको छ।’ उपभोक्ताले अभाव महसुस नगरोस् भनेर यस वर्ष पर्याप्त मौज्दात राखिएको उनले बताए।
**मोहीको बढ्दो लोकप्रियता**
पौडेलका अनुसार अहिले मोहीको माग दहीभन्दा पनि तीव्र गतिमा बढिरहेको छ। तर उत्पादन क्षमता र जनशक्तिको अभावले मागअनुसार आपूर्ति गर्न नसकिएको उनले स्वीकार गरे।
‘सामाजिक कार्यक्रम, विवाह, पार्टी प्यालेसदेखि विभिन्न समारोहमा चिसो पेय पदार्थको विकल्पका रूपमा मोही प्रयोग हुन थालेको छ। स्वास्थ्यका दृष्टिले पनि उपयोगी भएकाले यसको व्यापार लगातार बढिरहेको छ,’ उनले भने।
नेपाल डेरी एसोसिएसनले करिब चार वर्षअघि सुरु गरेको ‘मोही अभियान’ अहिले सफल बन्दै गएको अध्यक्ष दाहाल बताउँछन्। पहिले मोहीलाई सामान्य वर्गको पेय भनेर हेरिन्थ्यो। अहिले प्याकेजिङ गरेर बजारमा ल्याइएपछि होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस र विद्यालयसम्म यसको प्रयोग बढेको छ।
‘हामीले विद्यालय, आश्रम तथा विभिन्न सार्वजनिक स्थानमा गएर मोहीको महत्त्वबारे जानकारी दियौं। अहिले युवा पुस्ताले पनि अन्य चिसो पेय पदार्थको सट्टा मोही रोज्न थालेका छन्,’ उनले भने।
**साउन १ देखि बोतलमा मोही**
हालसम्म पोली प्याकमा मात्र उपलब्ध डीडीसीको मोही अब साउन १ गतेदेखि बोतलमा पनि पाइने भएको छ। आयोजनाका प्रमुख पौडेलका अनुसार बोतलको डिजाइन फाइनल भइसकेको छ र साउन १ देखि १ लिटर र ३०० एमएल गरी दुई साइजका बोतलमा मोही उत्पादन हुनेछ।
नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा ओखलढुंगा डेरी एन्ड एग्रिभेटका सञ्चालक दीपप्रसाद धमलाका अनुसार अहिले दर्जनभन्दा बढी डेरी उद्योगले प्याकेजिङ गरिएको मोही उत्पादन सुरु गरिसकेका छन् र आगामी दिनमा देशभरका किराना पसलसम्म बोतलमा मोही उपलब्ध गराउने लक्ष्य रहेको छ।
**दूध बजारमा सुधार**
कोभिड–१९ महामारी र भूकम्पपछि दूधको खपत घट्दा किसानले दूध फाल्नुपर्ने अवस्था आएको थियो। तर अहिले अवस्था फेरिएको छ। दाहालका अनुसार गर्मीयाममा बजारमा आउने करिब ३२ लाख लिटर दूधमध्ये झण्डै ५० प्रतिशत दही उत्पादनमा प्रयोग हुने गरेको छ। यसैगरी मासिक डेढदेखि दुई लाख लिटर प्याकेजिङ गरिएको मोही बजारमा बिक्री भइरहेको छ।
**स्वास्थ्य र स्वदेशी उत्पादनलाई प्राथमिकता**
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष नरेशलाल श्रेष्ठले जंकफुड संस्कृतिले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको बताउँदै दही, दूध, मोही र सागसब्जीजस्ता प्राकृतिक खाद्य पदार्थको प्रयोग बढाउन आग्रह गरे।
उनले भने, ‘स्वदेशी डेरी उत्पादनको उपभोग बढ्दा किसानको दूध बिक्री हुन्छ, उद्योग चल्छ, रोजगारी सिर्जना हुन्छ र स्वदेशी पूँजी देशभित्रै घुम्छ। त्यसैले सरकारले पनि डेरी क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ।’
डेरी व्यवसायीहरूका अनुसार दही–चिउरा र मोहीको प्रवर्द्धन केवल बिक्री बढाउने उद्देश्यले होइन। यसले नेपाली संस्कृति जोगाउने, किसानलाई प्रोत्साहन गर्ने, डेरी उद्योग विस्तार गर्ने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने बहुआयामिक उद्देश्य बोकेको छ। विद्यालयस्तरदेखि नै दूध, दही र मोहीको पोषण मूल्यबारे शिक्षा दिन सकियो भने भविष्यमा जंकफुडको प्रयोग घट्दै जाने र स्वदेशी खाद्य संस्कृतिप्रति आकर्षण बढ्ने विश्वास गरिएको छ।
