समाचार

तलबभत्ता नपाएको भन्दै शिक्षकको आन्दोलनले सप्तरीका सात हजार विद्यार्थी प्रभावित

By अर्जुन भट्टराई

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ।  

नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले चाडपर्व आउँदासमेत काम गरेको तलब पाउन नसक्दा समस्या भएको भन्दै पालिकाका पाँच मावि र ३० वटा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित छन् ।

तीन महिनादेखि तलबभत्ता नपाएको भन्दै आइतबारदेखि शिक्षकले आन्दोलनका कार्यक्रम गरेका हुन् । साेमबार दोस्रो दिन विद्यालय बन्द गरी धर्नामा बस्दा करिब सात हजार आठ सय ७३ विद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् । नगरपालिकामा कार्यरत दुई सय २२ शिक्षक अहिले आन्दोलित भएका नगर कार्यालयले जनाएको छ। उक्त आन्दोलनका कारण नगरपालिकाभित्रका सबै विद्यालयको पठनपाठन प्रभावित बनेको छ।

गठित सङ्घर्ष समितिका संयोजक अशोककुमार यादवले भन्नुभयो, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तलबभत्ता नपाउँदा समस्या भइरहेको छ । दसैँ जसोतसो ऋण लिएर काट्यौँ, तिहारमा पनि तलब नपाए घरखर्च जुटाउन नै सास्ती हुनेछ ।”यसअघि सङ्घर्ष समितिले कात्तिक ६ गते नगरप्रमुख वीरेन्द्र माझीलाई तीन दिनको समयसीमा दिँदै शिक्षकले पाउनुपर्ने तलबभत्ता यथाशीघ्र निकासा गर्नेबारे ज्ञापनपत्र बुझाएको थियो ।

नगरप्रमुख माझीले केही विषयमा विवाद सृजना भई समयमा नगरसभा सम्पन्न हुन नसकेकाले समस्या भइरहेको बताए । उनले यथाशीघ्र समस्या समाधान गर्न आफू प्रयासरत रहेको उल्लेख गरे । नगरसभा बैठन बस्न नसक्दा चालु आवदेखि शिक्षक, स्वास्थ्यकर्मीलगायतले तलब पाउन सकेका छैनन् भने वृद्धवृद्धाले समाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.