समाचार

वैदेशिक रोजगारमा पठाइदिने भन्दै एक करोड ७४ लाख ठगी गर्ने दुई जना पक्राउ

By अर्जुन भट्टराई

काठमाडौँ ।  वैदेशिक रोजगारमा इटाली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट एक करोड ७४ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद तथा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भइ हाल कलङ्की बस्ने २९ वर्षीय रणबहादुर घर्ती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउदले इटाली पठाउने भन्दै आठ जनाबाट नौ लाख तथा घर्तीले शिवराम थापासमेत आठ जनालाई क्यानडा पठाउने भन्दै पीडितहरूबाट पटकपटक गरी रु एक करोड ६५ लाख रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

साउदलाई मंगलबार काठमाडौँ महानगरपालिका–२८ बागबजार तथा रणबहादुर घर्तीलाई काठमाडौँ महानगरपालिका–१६ वनस्थलीबाट हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेका दुबै जनालाई आजै आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.