राजनिती

संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न काँग्रेस माग

By अर्जुन भट्टराई

काठमाण्डौ । संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारसँग माग गरेको छ ।

संसद् सचिवालयका कर्मचारीहरूले बैठक भत्ता लगायतका सेवा, सुविधा बढाउनुपर्ने माग गर्दै आन्दोलन शुरु गरिरहेका वेला नेपाली काँग्रेसले उक्त माग न्यायसम्मत भएको निष्कर्ष निकाल्दै उनीहरूको माग तत्काल सम्बोधन हुने गरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

आज सिंहदरबार सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधन गर्नेबारे दलहरूसँग छलफल गरेका थिए ।

सोही बैठकमार्फत संसद् सचिवालयका कर्मचारीहरूले राखेको बैठक भत्ता लगायतको काम उचित, जायज र न्यायसम्मत भएकाले माग तत्काल सम्बोधन हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई अनुरोध गरिएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

उनले संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधन गर्ने विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको पनि स्पष्ट पारेका छन् । त्यसैगरी प्रमुख सचेतक लेखकले संसद्का लागि आवश्यक बजेटको तत्काल निकासा गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

संसद्को कामलाई प्रभावकारी बनाउने गरी अर्थमन्त्रालयले संसदलाई बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । प्रमुख सचेतक लेखकले संसद्लाई पनि मितव्ययी भएर बजेट खर्च गर्न पनि सुझाव दिएका छन् ।

‘संसद् सचिवालयका कर्मचारीले गरेको श्रमअनुसारको पारिश्रमिक वा भत्ता पाउनुपर्‍यो भन्ने जुन विषय हो । अर्को कानूनले जुन २०६८ सालमा सुविधा दिएको छ– घरभाडाको सुविधा, स्वैच्छिक भत्ता, सुरक्षा भत्ता लगायतका दिएको थियो। त्यो चाहिँ १४–१५ वर्षमा पनि पुनरावलोकन भएन। यथावत् रह्यो। १५ वर्षमा त धेरै फरक परिसकेको छ। त्यसो हुनाले सचिवालयका कर्मचारी साथीहरूले राख्नुभएका माग न्यायोचित र जायज छन् भन्नेमा सबै राजनीतिक दलहरू सहमत छौं’ लेखकले भने ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.