मनोरंजन

नेपाली सर्ट फिल्म ‘पाउलो ‘इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा मनोनयन

By अर्जुन भट्टराई

काठमाडौं । भारतको लखनउमा यही अप्रिल १५ देखि २१ सम्म आयोजना हुन लागेको इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल(आईसीएफसी)’ मा नेपाली सर्ट फिल्म ‘पाउलो (द सुज)’ मनोनयनमा परेको छ ।
जुत्ताको कथावस्तु रहेको फिल्ममा नरेन भट्टराई, प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाको अभिनय छ ।

काठमाडौंमा छायांकन गरिएको फिल्ममा मोहन अभिलाषीको लेखन तथा निर्देशन छ । लेखक तथा निर्देशक अभिलाषीले फिल्ममा पशुपतिनाथ परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथालाई देखाइने बताए ।

‘फिल्ममा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाहपश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको छ’, निर्देशक अभिलाषीले भने । उनले जुत्ता सामाग्री मात्र नभई मानवीय अनुभूति पनि भएको बताए ।

फिल्ममा रेनुका कार्कीको कास्टिङ, चक्रप्रसाद पोखरेलको प्रोडक्सन, करन साउदको सहायक निर्देशन, नारायण जिसीको छायांकन र अनिलकुमार महर्जनको सम्पादन छ । फिल्म ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको हो ।

निर्देशक अभिलाषीले यसअघि यसअघि निर्माण गरेका सर्ट फिल्म ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुलवाल’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भई प्रदर्शन भइसकेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.