समाचार

पाँचथरमा चट्याङ लागेर ५४ भेडा मरे

By अर्जुन भट्टराई

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो। 

चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मरेका अधिकांश माउ भेडा छन्। 

चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ। 

उक्त गोठमा एक सय ३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछि क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.