समाचार

२०७२ सालको शक्तिशाली भूकम्पको आठ वर्ष पूरा

By अर्जुन भट्टराई

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ ।

विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र ४७१ जनाको निधन भएको थियो ।

भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान  निर्माण गर्‍यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन ।

उद्यानभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र हुनेछ । त्यस्तै उद्यानमा दुई शौचालय, एक चमेनागृह, पार्किङस्थलसमेत निर्माण गरिएको छ ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.