पानी सुक्दै जमिन भासिदै: शहरको अस्तित्व नै संकटमा

खोइ कुवा? न छ पोखरी, न त ढुंगेधारो
पानीका भरपर्दा स्रोत (ढुङ्गेधारा, कुवा र पोखरी) संरक्षण गर्दा संकटका सारथी बन्छन् भन्ने एउटा गतिलो उदाहरण धुम्बाराही चोकसँगैको जोर कुवा हो । जहाँ वर्षैभरि पानी जम्मा भइरहन्छ र आसपासका सयौं सर्वसाधारण वर्षौदेखि यही कुवाको पानीमा आश्रित छन् ।

ढुंगेधारा र कुवाको इतिहास काठमाडौको प्राचीन सभ्यतासँग जोडिएको छ। अहिलेको पुस्ता भने ढुंगेधारा अथवा कुवाको महत्त्व थाहा पाउनेस्थितिमा छैन। कुवाको चिसो पानी अथवा ढुंगेधाराबाट कलकल निस्कने भूमिगत पानीलाई आधुनिकताले पुरिदिएको छ।
पानीका यी मुहान संकटमा पारेका छन्। परिणाम काठमाडौको तिर्खा मेट्ने भरपर्दा स्रोत कुवा, ढुङ्गेधारा तथा इनारहरू लगभग मासिएका छन्। जति अस्तित्वमा छन्, तिनले अझै सयौंको प्यास मेटिरहेका छन्।
यस्तै पुरानोमध्येको एउटा अमृत कुवा पनि हो। काठमाडौ नयाँ बानेश्वरस्थित् संसद भवन नजिकै रहेको अमृत कुवा दशकौंदेखि छुस्याहा गल्ली, थापा गाउँ, बोगटी टोल तथा मध्य बानेश्वर आसपासका विपन्न समुदायको त्राण धान्ने सारथी बनिरहेको छ। अहिले पनि सुक्खा याममा यही कुवाले हजारौं स्थानीयको तिर्खा मेटिरहेको छ।
अमृत कुवासँगैका पुरानो बासिन्दा ७६ वर्षका नारायण गर्दाइली, आफ्नो बाल्यकाल यही कुवा अथवा नजिकैको वाँणगंगा ढुंगेधारोमा खेलेर बितेको सम्झनुहुन्छ। गर्दाइलीको ३ पुस्ताले यही कुवाको पानी पिइरहेको छ तर अलि पर रहेको वाँण गंगा ढुंगेधारा पहिलेको तुलनामा निकै सानो भएको छ। हामीले यो कुवा संरक्षण कै लागि वरिपरि ठूला ठूला बोरिङ गर्न दिएका छैनौं। आसपासका क्षेत्रमा अग्ला भवन बनेका छैनन्। निकै जतन गरेर जोगाएका छौं, यो कुवा नहुने हो भने त, यहाँका गरिबले पानी पिउनै पाउने थिएनन्, गर्दाइलीले भन्नुहुन्छ– कुवामा दिनमा सयौं लिटर पानी जम्मा हुन्छ।
बानेश्वर कै तेजेश्वर महादेव परिसरमा रहेको वाँण गंगा धारोमा भने अहिले पानी आउन छाडेको छ। यो बानेश्वरको नामकरणसँग जोडिएको निकै पुरानो धारो हो। जताततै अग्ला अग्ला घर बनाएर पानी आउने स्रोत नै सुकाए, गर्दाइली सम्झन्छन्, वर्षैभरि यी धाराहरूमा कलकल पानी झथ्र्यो अहिले प्लास्टिकको ट्याङ्की राखेर पानी वितरण गरिन्छ, धारो वरिपरिको जग्गा जमिन सबै मिचेर खाइसकेका छन्।
वाँण गंगा धारोसँगै रहेको पुरानो कुवा पनि धारो मर्मतका क्रममा पुरिएको छ, सँगै रहेको अर्को सयौं वर्ष पुरानो ढुंगेधारो मासिएपछि अहिले महानगरपालिकाले त्यही धारो रहेको जमिनमा विश्राम स्थल बनाएर जमिन जोगाइरहेको छ। पार्क भित्रको भित्तामा ढुंगेधारो सजिलै देख्न सकिन्छ।
काठमाडौं उपत्यकाको सभ्यता विकास क्रमसँग जोडिएका यस्ता कुवा, ईनार अथवा ढुंगेधारा अहिले कति अस्तित्वमा छन् भन्ने विवरण कुनै पनि निकायसँग छैन तर शताव्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी पहिला काठमाडौ, ललितपुर र भक्तपुरका टोलमा थुप्रै कलात्मक कुवा तथा धारो रहेको बताउनुहुन्छ। अग्ला घर बने, घरघरमा पाइपको पानी आउन थाल्यो यस्ता सम्पदाको संरक्षण कसले गर्ने ? जमिन भित्रबाट आकासे पानी तथा भूमिगत पानीको स्रोत व्यवस्थापन गरेर परापूर्वकालमा निर्माण गरिएका कुवा, पोखरी, राजकुलो र ढुंगेधारोहरूमा पानीको कहिल्यै अभाव नहुने गरेको जोशीको भोगाइ छ।
अहिलेको पुस्ताका लागि भने यस्ता परम्परागत स्रोत तथा ज्ञान एकादेशको कथा जस्तै बनिसकेका छन्। २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि काठमाडौ उपत्यका भित्रका धेरै ढुंगेधारा सुके तर त्यसपछि कसैले पनि कुवा र ढुंगेधाराको पानीको स्रोत खोतल्ने वा खोजी गर्ने काम नगरेको जोशीले बताउनुभयो। बंगलामुखीको धारो त सुक्यो, अरुको के कुरा, जोशीले भन्नुभयो।
ढुंगेधारा र कुवा सुकेपछि उपत्यकाका धेरै ठाँउमा विकल्पका रूपमा बटुवा तथा स्थानीयको सुविधाका लागि धारा नजिकै अलग्गै प्लास्टिकको ट्याङ्की र धारा राखेर खानेपानी उपलब्ध गराउन थालिएको छ। केही ढुंगेधाराको मुहान सुकेपछि ढुंगेधारामा फोहोर थुप्रिएको छ। ढुंगेधारा सफाइमा न महानगरको चासो पुगेको छ न स्थानीय उपभोक्ताले नै पहल गरेका छन्।
मध्ये बानेश्वरको नेपाल पूजा प्रतिष्ठान परिसरमा केही वर्ष अघिसम्म ३ वटा ढुंगे धारामा कलकल पानी झर्थ्यो। अनामनगरबाट समेत गाग्री र जर्किन बोकेर सर्वसाधारण पानी भर्न आउँथे। किरिया पुत्रिभवन लगायतका हिन्दु धर्म संस्कारसँग जोडिएका सबै गतिविधि हुने यो भवनमा अहिले प्राकृतिक पानीको स्रोत सुकेको छ। ढुंगे धाराबाट पानी आउन छाडेपछि प्रतिष्ठानले धार्मिक गतिविधि गर्ने प्रयोजनका लागि चाहिने पानीका लागि नजिकै अलग्गै प्लास्टिकको ट्यांकी र धारा राखेर खानेपानी उपलब्ध गराइरहेको छ।


स्थानीय वोर्णबहादुर खत्रीका अनुसार यो पीपलबोटसँगै रहेको चिटिक्क परेको ढुंगेधारो तत्कालीन सामाजिक अगुवा भुपालमानसिंह कार्कीको अग्रसरतामा पुनर्निर्माण गरिएको थियो । तत्कालीन राजा महेन्द्रले २०२७ सालमा यो धारो उद्घाटन गरेका थिए । डिल्ली बजार र पुरानो बानेश्वर आरोलोको यो धारो एकै दिन उद्घाटन भएको हो– खत्री बताउँछन् तर अहिले धारोसँगैको गौचरण समेत व्यक्तिले दर्ता गरिसकेका छन् । धारोसँगै बनेको नोवेल अस्पतालको विशाल भवनका कारण यो धारो अहिले संकटमा परेको छ । पानी आउने धारोको स्रोतमा अग्ला अग्ला संरचना बनेका कारण बन्द भएको छ ।


स्थानीय रविन रजक, पूजा प्रतिष्ठानको पुरानो धारो र कुवाको स्रोत सुकाउने ढंगले नजिकै डिप बोरिङ गरेपछि सयौं वर्ष पुराना धारोमा पानी झर्न छाडेको बताउनुहुन्छ। रजकका अनुसार दुई तीन सय घर धुरीको सुविधाका लागि स्थानीय नागरिक अगुवाले प्रतिष्ठान नजिकै डिप बोरिङ गरे तर डिप बोरिङबाट वितरण गरेको पानीमा ढलको छोक्रा मिसिएर आउँछ, यसले सयौं वर्षदेखिको भरपर्दो पानीको मुहान समेत सुकाइदिएको छ। रजक भन्नुहुन्छ– राम्रोसँग अध्ययन नै नगरी जथाभावी जमिनमनिको पानी निकाल्दा यसलेसँगै रहेको अर्को कुमाले धारोको पानी र कुवा समेत सुकाएको छ। उहाँका अनुसार कुमाले धारो र कुवाले बानेश्वरसँगै अनामनगर बस्तिका सयौं स्थानीयलाई पानी ढुक्कै आपूर्ति गरेको थियो तर अहिले उक्त धारोमा हिउँदमा पानी आउनै छाडेको छ।
स्थानीय जेष्ठ नागरिक भीमकुमार थापाका अनुसार नेपाली सेनाको परिवार बस्ने थापागाउँ हाइटमा रहेको एक सय घरधुरीले पानी भर्ने कुमालेको कुवा अहिले सुकेको छ। २०५९ सालमा विश्व हिन्दु महासंघ र नेपाल खानेपानी संस्थानले मिलेर यो कुवा तथा धारोको जिर्णोद्धार गरिएको थियो। कुमालेको धारोमा एउटा धारो र एउटा पुरानो कुवा अहिले पनि देख्न सकिन्छ तर अहिले न धारोमा पानी झर्छ न कुवाको पानी निकाल्न मिल्ने अवस्थाको छ। डिप बोरिङ र घरघरमा भूमिगत पानी निकाल्ने प्रतिस्पर्धाले यो पुरानो धारो र कुवा सुकाएको हो।
यस्तै दुरवस्थामा छ पुरानो बानेश्वर ओरालोमा रहेको पुरानो ढुंगेधारो। स्थानीय वोर्णबहादुर खत्रीका अनुसार यो पीपलबोटसँगै रहेको चिटिक्क परेको ढुंगेधारो तत्कालीन सामाजिक अगुवा भुपालमानसिंह कार्कीको अग्रसरतामा पुनर्निर्माण गरिएको थियो। तत्कालीन राजा महेन्द्रबाट २०२७ सालमा यो धारो उद्घाटन भएको थियो। डिल्लीबजार र पुरानो बानेश्वर आरोलोको यो धारो एकै दिन उद्घाटन भएको हो– खत्री सम्झनुहुन्छ तर अहिले धारोसँगैको गौचरण समेत व्यक्तिले दर्ता गरिसकेका छन्। धारोसँगै बनेको नोवेल अस्पतालको विशाल भवनका कारण यो धारो अहिले संकटमा परेको छ। पानी आउने धारोको स्रोतमा अग्ला अग्ला संरचना बनेका कारण बन्द भएको छ। धारोको पानी निकास हुने पुरानो राजकुलो माथि अग्ला भवन बनेका छन्। न पानी कतैबाट आउँछ न धारोको खाल्डोमा जमेको पानी बाहिर जाने बाटो बाँकी छ, खत्री भन्नुहुन्छ– यो धारोको पानी बगेर तल धोवी खोलासम्म जाने कुलो समेत मिचेर खाइसकेका छन्। आफूहरू लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनेको बेला पटक पटक गौचरण, राजकुलो र ढुंगेधारा संरक्षणका लागि अग्रसरता लिन आग्रह गरेको खत्रीले बताउनुभयो। कार्की अथवा खत्री परिवारले २०४६ साल अघिसम्म अहिले आकासे पानी र फोहोर जमेर घिनलाग्दो पोखरी जस्तो देखिने यही धारोको पानी पिउँथे।
पानीका भरपर्दा स्रोत (ढुङ्गेधारा, कुवा र पोखरी) संरक्षण गर्दा संकटका सारथी बन्छन् भन्ने एउटा गतिलो उदाहरण धुम्बाराही चोकसँगैको जोर कुवा हो। जहाँ वर्षैभरि पानी जम्मा भइरहन्छ र आसपासका सयौं सर्वसाधारण वर्षौदेखि यही कुवाको पानीमा आश्रित छन्।
यही कुवाको पानी पिउने, लुगा धुने तथा नुहाउने गरेकी स्थानीय रमिला तामाङ १० वर्षदेखि जस्तोसुकै खडेरीमा पनि यही कुवाले जिविका चलिरहेको बताउनुहुन्छ। जारको पानी प्रयोग गर्न परेको छैन, यही कुवाको पानीले जीविका धानिएको छ। म जस्ता सयौं विपन्न परिवार यसैमा आश्रित छन्, तामाङले भन्नुहुन्छ– अलि तल सुकेधारामा रहेको पुरानो कुवा सुकेपछि यहाँ पानी भर्न आउनेको संख्या बढेको छ। काठमाडौ महानगरपालिका वडा नं. ४ मा रहेको यो कुवा चक्रपथ विस्तारका क्रममा मासिन्छ कि भन्ने चिन्ता स्थानीयको छ।
पछिल्लो पटक वि.स.२०५० सालमा जिर्णोद्धार गरिएको यो कुवाको माथिल्लो भागमा अहिलेसम्म ठूला पूर्वाधार बनेको छैन र स्थानीय बासिन्दाले निरन्तर मुहानको संरक्षण गरिरहेका छन् तर धुम्बाराहीबाट करिब सय मिटरको दूरीमा रहेको अर्को पुरानो सुकेधाराको कुवा भने संरक्षण अभावका कारण सुकेको छ। न धारोमा पानी आउँछ न कुवामा। नजिकैको फ्रेन्डसिप सामुदायिक अस्पतालमा काम गर्ने नरेन्द्र राना सुकेधाराको ढुंगेधारोमा पानी आउन छाडेपछि दुई वर्षयता काठमाडौ उपत्यका खानेपानी लिमिटेडले लाइनको धारा जोडेको बताउनुहुन्छ। काठमाडौ उपत्यकामा खानेपानीको सहज आपूर्ति व्यवस्थापन नहुँदासम्म पुराना राजनीतिज्ञ डाक्टर प्रकाशचन्द्र लोहनीहरूले समेत यही धारो र कुवाको पानी पिउने गरेको तर अहिले यसको संरक्षणमा कसैले चासो नदिएको रानाको गुनासो छ।
आकासे पानी र राजकुलो व्यवस्थापनमा समस्या
काठमाडौं उपत्यकामा आकासे पानीको सही व्यवस्थापन नगरिँदा यस्ता सांस्कृतिक तथा ऐतिहासिक मौलिक सम्पदा मासिएका हुन्। भूमिगत पानीविज्ञ अनन्त गजुरेलका अनुसार, आकासबाट आएको पानी पक्की कंक्रिट बनाएर जमिन भित्र पस्नै नदिने तथा पाइप मार्फत सोझै ढलमा मिसाउने प्रवृत्तिले पुराना कुवा अथवा ढुंगेधाराको अस्तित्व संकटमा परेको हो। जमिनभित्र पानीको पुनर्भरण भएको छैन। हरेक वर्ष भूमिगत स्रोत दोहन मात्रै गरिदा एकातिर कुवा, इनार र धाराहरू सुकेका छन् भने पैतीस चालीस फिटमा निस्कने पानी तान्न अहिले डेढ दुई सय फिट तल जानुपर्ने भएको छ। यसको अर्थ उपत्यकाको जमिन भासिँदै र पानीको स्रोत सुक्दै जानु हो, गजुरेलले भन्नुभयो– पानी व्यवस्थापनमा अब गम्भीर बन्नुपर्छ।
ढुंगेधारा तथा राजकुलोको अनुसन्धानमा क्रियाशील, राजनलाल जोशीका अनुसार यस्ता सम्पदा संरक्षणका लागि सबैभन्दा पहिले लिच्छविकालीन राजकुलो संरक्षणमा फर्किनु पर्छ। लिच्छविकालमा उपत्यकामा राजकुलो मै निर्भर ६ सयभन्दा बढी ढुंगेधारामा पानी झर्थे, जसमा काठमाडौंमा मात्र २ सय ८० भन्दा बढी धारा चलन चल्तीमा थिए तर अहिले काठमाडौं, ललितपुर र भक्तपुर गरी लगभग ४०० हाराहरीका ढुङ्गेधारा मात्र भेटिएका छन्। यसमा पनि कैयौं धारा घडेरीमा परिणत भइसकेका छन्।
अहिले जसोतसो जोगिएका पुराना धाराको पानीको स्रोत खोजी गर्ने क्रममा ललितपुर महानगरपालिकाले लेलेबाट पाटन दरबारसम्म विस्तार भएको राजकुलोलाई २०४६ साल अघि कै अवस्थामा पुनः स्थापना गर्ने योजना अघि बढाएको छ। मेयर चिरीबाबु महर्जन कै अग्रसरतामा सुरु भएको राजकुलो पुनस्र्थापना अभियान अन्तर्गत गोदावरी नगरपालिकाले मुहानदेखि ढोलाहिटीसम्म राजकुलो सुचारु गरिसकेको छ। बाँकी क्षेत्रको प्राविधिक अध्ययन भइरहेको छ।
शताव्दीपुरुष जोशी, भक्तपुरमा धेरै राजकुला अस्तित्वमा रहेकाले अब काठमाडौंमा पनि मासिएका राजकुलो पुनःस्थापना अभियान चलाउनुपर्ने बताउनुहुन्छ। यसले संकटमा परेका दर्जनौं पोखरी, कुवा तथा धारोको पानीको स्रोत पुनः रसाउन सक्छ। जोशीका अनुसार, काठमाडौंको राजकुलो शिवपुरी पहाडबाट बसन्तपुर दरबारसम्म जोडिएको थियो भने भक्तपुरको राजकुलो नगरकोटदेखि दरबार हुँदै सिद्धपोखरीसम्म जोडिएको थियो।
भासिैदै छ– उपत्यकाको जमिन
सतहबाट हेर्दा शहरी क्षेत्रका अधिकांश कुवा तथा पोखरी सुकेका छन्। इनार मासिएका छन् र ढुंगेधारामा पानी आउन छाडेको छ। प्राविधिक रूपमा भने यो समस्यालाई नजिकबाट अध्ययन गरिरहेकाहरू अव्यवस्थित शहरीकरणका कारण काठमाडौ उपत्यकाको जमिन नै भासिइरहेको बताउँछन्।
भूमिगत पानी विज्ञ गजुरेलका अनुसार अत्यधिक र असन्तुलित दोहन गरिए पनि त्यसको अनुपातमा पानी पुनर्भरण गर्ने हो भने काठमाडौं उपत्यकाको जमिनलाई जोगाउन सकिन्छ। अन्यथा, जमिन क्रमशः भासिँदै जानेछ। भूगर्भशास्त्री समेत रहेका गजुरेलले काठमाडौं उपत्यकाको भू–सतहबाट पानी किन भासिँदै गयो भन्ने विषयमा निरन्तर अध्ययन गर्दा, काठमाडौं उपत्यकाको भू–सतह हरेक वर्ष भासिँदै गएको पाइएको बताउनुभयो।
उपत्यका हरेक वर्ष ३ देखि १६ सेन्टिमिटरसम्म धसिँदै गएको गजुरेलको दाबी छ। गजुरेल त्रि–चन्द्र क्याम्पसको भूगर्भ विभागका प्रमुख समेत हुनुहुन्छ। त्रि–चन्द्र क्याम्पसको भूगर्भ विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) र भू–विज्ञान अनुसन्धानमा सघाउने अमेरिकाको यूनाभ्कोले विभिन्न ठाउँमा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गरी भू–सतहको अध्ययन गर्दा ललितपुरको खुमलटारस्थित नास्ट कार्यालय परिसर, काठमाडौंको छाउनी, लाजिम्पाट, शिवपुरी, बाँसबारी र भक्तपुरको सैनिक महाविद्यालय क्षेत्रको जमिन भासिएको पाइएको गजुरेलले बताउनुभयो।
यसको असर स्वतः पानीको उपलब्धतासँग जोडिन्छ, गजुरेल भन्नुहुन्छ– छाउनीमा प्रतिवर्ष १३ सेन्टिमिटर र लाजिम्पाटमा १६ सेन्टिमिटर जमिन धसिएको पाइएको छ। भक्तपुरको सैनिक महाविद्यालय क्षेत्रमा भने जमिन भासिने क्रम ३ सेन्टिमिटर मात्र देखिएको छ।
यसले कुनै पनि बेला गम्भीर परिणाम निम्त्याउने छ। त्यसैले कुवा सुक्यो अथवा ढुंगेधारोमा पानी आएन भन्ने कोणबाट हैन, धारा अथवा कुवामा आउने पानीको सतह किन सुक्दैछ भन्ने कोणबाट पनि अध्ययन गर्न ढिलो भइसकेको छ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!