समाचार

दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

By अर्जुन भट्टराई

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याएका शबहरु त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शबहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ ।

आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.