समाचार

पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनद्वारा आयल निगम घेराउ

By अर्जुन भट्टराई

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले आयल निगम घेराउ गरेका छन् ।

विद्यार्थी सङ्गठनले पेट्रोल, ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार दुई घण्टा आयल निगम घेराउ गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए भने अनावश्यक रुपमा कर लगाएर सरकारले नै पेट्रोलियम पदार्थ मूल्य उच्च बनाएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागी बिद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको चुलो बल्न नसक्ने अवस्था आएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर नागरिकको जनजिवन सामान्य बनाउन माग गरेका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ता नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले कुन दलको सरकार छ भन्ने हिसाव आफुहरुले नगर्ने भन्दै गरिव जनताको चूल्हो बल्न छाडेको कुरा महत्वपूर्ण भएको बताए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बिद्यार्थीको दवावले नै मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने बताएका छन् ।

निगमले पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपियाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिण्डरमा दुई सय रुपियाँले बढेको थियो । मूल्यवृद्धिसँगै एक लिटर पेट्रोलको १८० रुपियाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपियाँ तथा एक सिलिण्डर ग्याँसको मूल्य १८ सय रुपियाँ तोकिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.