राजनिती

नेपाली कांग्रेसद्वारा स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक

By अर्जुन भट्टराई

नेपाली कांग्रेसले स्थानीय तह केन्द्रीत घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङ लगाएतले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको कांग्रेसले घोषणपत्रलाई ‘सङ्कल्प’ को नाम दिएको छ । घोषणापत्रमा कांग्रेसले विगतमा सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षको भूमिकामा जानीनजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनतासमक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । कांग्रेसले तत्कालिन नेकपाको सरकारलाई अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात भनेको छ भने प्रतिनिधिसभा विघटन लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र भएको घोषणा पत्रमा उल्लेख छ । पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड तथा जनप्रतिनिधिको उत्तरदायित्वलाई पूर्णरुपमा आत्मसात् गर्दै आफ्ना पार्टीका तर्फबाट स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले गर्ने केही महत्वपूर्ण कामका बारेमा समेत ‘कांग्रेसको सङ्कल्प’मा समेटिएको महामन्त्री गगन थापाले जानकारी दिए ।

त्यस्तै जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्न नदिने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.