Uncategorized

बिस्का जात्राको चौथो दिनमा हात नभएको लिङ्गो ठड्याइयो

By अर्जुन भट्टराई

भक्तपुरको प्रसिद्घ बिस्का जात्राको चौथो दिन बुधबार बिहान तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ । त्यसैगरी यसिँख्यमा ५५ हात लामो योसिँद्योः ठड्याएर जात्रा मनाइन्छ । उक्त योसिँद्योःलाई भने वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ ।

भैरवनाथको प्रतीक मानिने योसिँद्योःको शीर्षभाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । योसिँद्योःको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । योसिँद्योः उभ्याउन बाँधिएका आठ डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । यो जात्रा अगाडि लिङ्गो भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तानेर यसिँख्य पुर्याउनुपर्ने परम्परा छ । योसिँद्योः उभ्याइसकेपछि मध्यरातमा दर्शनका लागि नवदुर्गा देवगण आउने परम्परा छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.