सर्लाही । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका स्वर्गीय विवेक मण्डलको परिवारसँग भेट गरेका छन् । मन्त्री महतो मंगलबार साँझ मण्डलको निवासमा पुगी शोकसन्तप्त परिवारसँग भेटघाट गरे ।
मन्त्री महतोले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरे । साथै, यस कठिन घडीमा प्रदेश सरकार परिवारको साथमा रहने र आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै मन्त्री महतोले विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउने बताए । आफ्नै क्षेत्रका नागरिकको पीडामा सरकार संवेदनशील रहेको उल्लेख गर्दै परिवारलाई आवश्यक सहयोग गरिने पनि उनले स्पष्ट पारे ।
उल्लेखनीय छ, विवेक मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । शरीरको ८५ प्रतिशत भाग जलेका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार राति करिब २ बजे उनको निधन भयो ।
विवेकको निधनपछि परिवार गम्भीर आर्थिक संकटमा परेको छ । उनका पछि श्रीमती, एक छोरा र एक छोरी छन् । परिवारका अनुसार गाउँघर तथा बैंकबाट लिएको गरी करिब ३५ लाख रुपैयाँ ऋण अझै बाँकी छ । उनका दाई हाल कतारमा बैदेशिक रोजगारीमा छन् ।
यसैबीच, गोडैता नगरपालिकाले मण्डल परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगर प्रमुख देबेन्द्र यादवले तत्काल २५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिसकिएको र नगरपालिकाको खाता सञ्चालनमा आएपछि बाँकी ७५ हजार रुपैयाँ उपलब्ध गराइने जानकारी दिए । आर्थिक संकटमा परेको परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको उनले बताए ।
प्रदेश सरकार र स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएसँगै मण्डल परिवारले दीर्घकालीन आर्थिक सहयोग, रोजगारी तथा ऋण व्यवस्थापनमा समेत राज्यको साथको अपेक्षा राखेको छ ।
