राजनिती

नेपाल-युएनडीपी सहकार्यको ६० वर्ष : अर्थमन्त्री वाग्लेले गरे आभार व्यक्त, भने— ‘१०० वर्षसम्म चलोस् यो साझेदारी’

By अर्जुन भट्टराई

नेपाल-युएनडीपी सहकार्यको ६० वर्ष : अर्थमन्त्री वाग्लेले गरे आभार व्यक्त, भने— ‘१०० वर्षसम्म चलोस् यो साझेदारी’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको बदलिँदो प्राथमिकता र आवश्यकताअनुसार संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको विकास सहकार्यलाई थप सुदृढ बनाउने सरकारको इच्छा व्यक्त गरेका छन्।

नेपाल र युएनडीपीबीचको सहकार्य सुरु भएको ६०औँ वर्षगाँठको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले विगत ६० वर्षदेखि विभिन्न विकास क्षेत्रमा निरन्तर सहयोग गरेकोमा युएनडीपीप्रति हार्दिक आभार व्यक्त गरे।

उनले गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा युएनडीपीले पुर्‍याएको योगदानलाई अविस्मरणीय बताए। “यहाँहरूले नेपालका विकास प्रयासमा पुर्‍याउनुभएको योगदानका लागि धेरै-धेरै धन्यवाद। आज ६० वर्ष पुगेको यो सहकार्य आगामी १०० वर्षसम्म पनि निरन्तर रहोस् भन्ने कामना गर्दछु,” उनले भने।

अर्थमन्त्री वाग्लेले संयुक्त राष्ट्रसङ्घको छातामुनि हुने विकास सहकार्यलाई केवल आर्थिक लगानीको रूपमा मात्र नहेरी अन्तरदेशीय समन्वय, ज्ञान आदानप्रदान र दीर्घकालीन साझेदारीको महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्ने धारणा राखे।

नेपालमा वातावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवा सशक्तीकरण र डिजिटल रूपान्तरणका क्षेत्रमा युएनडीपीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले बदलिँदो विकास चुनौती र आवश्यकताअनुसार आगामी दिनमा पनि यो सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

आफ्नो व्यावसायिक जीवनको महत्वपूर्ण समय युएनडीपीमै बिताएको सम्झना गर्दै उनले उक्त संस्थासँगको आफ्नो सम्बन्धलाई विशेष अनुभवका रूपमा उल्लेख गरे।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले युएनडीपीले नेपालमा विगत ६० वर्षमा गरेका प्रमुख कामकाज, उपलब्धि र सहकार्यका झलकहरू समेटिएको फोटो पुस्तक ‘६० वर्षको सहयात्रा’ पनि सार्वजनिक गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.