काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो। यो रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइनेछ।
प्राधिकरणका अनुसार त्रिवेणी गाउँपालिका–२ घुसेनीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकैको ११ केभी प्रसारण लाइनको तार छुँदा यो दुर्घटना भएको थियो। प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ को विनियम ११ को उपनियम १ बमोजिम यो क्षतिपूर्ति र उपचार खर्च भुक्तानी गर्दै आएको छ।
प्राधिकरणको विनियमावली अनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति विभागीय प्रमुखले, २ लाखदेखि ५ लाखसम्म सम्बन्धित उपकार्यकारी निर्देशकले, ५ लाखदेखि १० लाखसम्म मुख्य प्रशासकीय अधिकृतले र १० लाखभन्दा बढी रकम सञ्चालक समितिले निर्णय गर्ने व्यवस्था छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजीरहरूका आधारमा पीडित परिवारलाई सहयोग गरिएको बताए। उनले भने, ‘यो रकमले पीडा भुलाउने त होइन, तर जीवनयापनमा थोरै भए पनि सहयोग होस् भन्ने अपेक्षा गरिएको छ।’
मन्त्री श्रेष्ठले हरेक वर्ष विद्युतीय दुर्घटनाबाट हुने जनधनको क्षतिको तथ्यांक डरलाग्दो रहेको उल्लेख गर्दै प्राधिकरणलाई आफ्ना संरचनाहरूको नियमित मर्मत गर्न, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन, सुरक्षा सतर्कता अपनाउन र नागरिकमा जनचेतना तथा पूर्व सूचनाका कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। साथै विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नागरिकको सचेतना पनि उत्तिकै जरुरी रहेको उनले बताए।
