मनोरंजन

‘गौंथली’मा मदनकृष्ण र डा. रिजालको जोडी: पर्दामा मिलेको केमेस्ट्री, दर्शकमा छाएको छाप

By अर्जुन भट्टराई •

‘गौंथली’मा मदनकृष्ण र डा. रिजालको जोडी: पर्दामा मिलेको केमेस्ट्री, दर्शकमा छाएको छाप

काठमाडौं। साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ले पहिलो सप्ताहन्तमै दर्शकको मन जित्न सफल भएको छ। सकारात्मक ‘वर्ड अफ माउथ’का कारण अधिकांश हलहरूले शो संख्या बढाएका छन्।

निर्देशक तथा निर्माता डा. कपिल रिजालका अनुसार शुक्रबारको तुलनामा शनिबार थप शो राखिए र ती पनि भरिएपछि शनिबार साँझदेखि नै थप शो थप्नुपर्ने अवस्था आयो।

**पुस्तौंको कला–प्रेमको निरन्तरता**

डा. रिजालका हजुरबुवा साहित्यकार हुनुहुन्थ्यो भने पिता डा. भोला रिजाल साहित्य, संगीत र चलचित्रमा सक्रिय रहनुभयो। यही सिर्जनात्मक घरायसी वातावरणले उनलाई बाल्यकालदेखि नै कला र कथाप्रति आकर्षित गर्यो।

उनी सम्झन्छन्, ‘सानो हुँदा हामी तन्नाको पर्दा बनाएर नाटक खेल्थ्यौँ। बुवा र हजुरबुवालाई टिकट काटेर देखाउँथ्यौँ। अहिले फर्केर हेर्दा त्यो हाम्रो प्रतिभालाई प्रोत्साहन गर्ने उहाँहरूको तरिका रहेछ।’

पेशाले दन्त चिकित्सक भए पनि उनको सिर्जनाको चाहना कहिल्यै रोकिएन। विद्यालय र कलेजदेखि चिकित्सा अध्ययनसम्म छोटा चलचित्र र म्युजिक भिडियो बनाउने क्रम जारी राखे।

**स्वास्थ्य र शिक्षा किन केन्द्रमा?**

डा. रिजालका चलचित्रमा स्वास्थ्य, शिक्षा र सामाजिक विषय बारम्बार देखिन्छन्। यसको कारण उनकै जीवन अनुभवमा छ।

उनी भन्छन्, ‘यदि म बैंकरको छोरो भएको भए बैंकिङका कथा भन्थेँ होला। हामी स्वास्थ्य र शिक्षाको वातावरणमा हुर्कियौँ। नेपालजस्तो देशमा यी आधारभूत अधिकार हुन्, कसैबाट वञ्चित भएको देख्न सक्दैनौँ।’

**२५ वर्षपुरानो ‘गौँथली’को नयाँ संस्करण**

यसअघि ‘ह्यारी कि प्यारी’ निर्देशन गरेका रिजालले यसपटक नेपाली माटो र संस्कृतिसँग जोडिएको भावनात्मक कथा भन्न चाहन्थे। त्यसैका लागि करिब २५ वर्षअघि आफ्ना पिता डा. भोला रिजालले बनाएको ‘गौँथली’लाई आधुनिक प्रविधिसहित पुनः सिर्जना गरियो।

उनी भन्छन्, ‘मलाई के लाग्यो भने, एउटा यस्तो फिल्म बनाऔँ जुन आजभन्दा २५ वर्षपछि पनि उत्तिकै सान्दर्भिक लागोस्। प्रविधि अहिलेको, तर कथा र आत्मा नेपाली नै रहोस्। हाम्रो उद्देश्य नेपाली भाषा, संस्कृति, भेषभूषा, संगीत र गाउँको जीवन बोकेको एउटा टाइमलेस फिल्म बनाउनु हो।’

**कास्टिङमा पात्रलाई प्राथमिकता**

चलचित्रमा चर्चित अनुहारभन्दा पात्रमा हराउन सक्ने कलाकारलाई प्राथमिकता दिइयो। मुख्य भूमिकामा सिम्रन पन्तलाई रोज्नुको कारण पनि यही थियो — दर्शकले अभिनेत्रीलाई होइन, ‘गौँथली’ पात्रलाई देखून् भन्ने चाहना। ‘महापुरुष’पछि केही समय पर्दाबाट टाढा रहेका अभिनेता अरुण क्षेत्री पनि यस चलचित्रमार्फत फरक भूमिकामा देखिएका छन्।

**फरक क्षमताका व्यक्तिको सम्मानजनक चित्रण**

‘गौँथली’को एउटा महत्वपूर्ण विषय भनेको अटिजम भएका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण हो। टोलीले यस पात्रको तयारीका लागि विस्तृत अध्ययन गर्यो, अभिभावकसँग परामर्श लियो र कलाकारहरूले प्रत्यक्ष अवलोकन गरे।

चलचित्र हेरेपछि अटिजम भएका बालबालिकाका अभिभावकहरूले आफ्नो अनुभव सुनाउँदै चलचित्रले उनीहरूलाई सम्मानपूर्वक प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।

डा. रिजाल भन्छन्, ‘उहाँहरू मनमा लागेको कुरा खुला रूपमा भन्नुहुन्छ, खुसी हुँदा खुलेर हाँस्नुहुन्छ, रिसाए पनि धेरैबेर मनमा राख्नुहुन्न। त्यो निष्कपटता नै हामीले पर्दामा उतार्ने प्रयास गरेका हौँ।’

**बक्स अफिसभन्दा दर्शकको मन महत्वपूर्ण**

व्यवसायिक सफलताबारे डा. रिजाल भन्छन्, ‘धेरै टिकट बिक्री हुनु भनेको धेरै दर्शकले चलचित्र हेर्नुभयो भन्ने हो। तर त्यसले चलचित्र मन पराउनुभयो कि पराउनुभएन भन्ने मापन गर्दैन।’ पुराना क्लासिक नेपाली चलचित्रहरूको मूल्य कमाइका आधारमा होइन, कलात्मक उचाइका आधारमा मापन हुन्छ भन्ने उनको मत छ।

हाल नेपालभर करिब २०० स्क्रिनमा प्रदर्शन भइरहेको ‘गौँथली’ अन्तर्राष्ट्रिय बजारमा पनि जाँदैछ। अमेरिकामा साउन २४ गतेदेखि, त्यसपछि मध्यपूर्व, बेलायत र अस्ट्रेलियामा पनि प्रदर्शन हुने तयारी छ।

**मदनकृष्ण श्रेष्ठ: ‘मास्टर’को भूमिकामा आफ्नै अनुभव**

चलचित्रमा शिक्षकको भूमिकामा देखिएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘गौँथली’ले मनोरञ्जनका साथै छोरीहरूको शिक्षा, बालविवाह र अटिजमप्रति समाजको दृष्टिकोण बदल्ने सशक्त सन्देश दिएको बताए।

उनले डा. कपिल रिजालसँग परिवारकै जस्तो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै भने, ‘डा. कपिल रिजालसँग हाम्रो सम्बन्ध उहाँका बुवाकै पालादेखिको हो। फिल्मका लागि सम्झिनुभयो, त्यसका लागि धन्यवाद।’

वास्तविक जीवनमा पनि उनले १४ वर्षकै उमेरमा नौ कक्षामा पढ्दै गर्दा प्राथमिक विद्यालयको प्रधानाध्यापक भएर पढाएका थिए। यही अनुभवले उनलाई पात्र बुझ्न सहज बनायो।

**बालविवाह र छोरीको शिक्षाको यथार्थ चित्रण**

श्रेष्ठले चलचित्रले ग्रामीण समाजको यथार्थलाई प्रभावकारी ढंगले उठाएको बताउँछन्। उनी भन्छन्, ‘गाउँमा अझै पनि धेरै छोरीहरूले पढ्ने अवसर पाएका छैनन्। आठ कक्षासम्म पढाएर विवाह गरिदिने चलन अहिले पनि धेरै ठाउँमा छ। राम्रो घर परे ठीकै हुन्छ, नराम्रो परे छोरीको जीवन नै बर्बाद हुन सक्छ।’

विवाहपछि महिलाले आफ्नो पढाइ, कला र सपना पूरा गर्न पाउँदैनन् भन्ने विषय पनि चलचित्रले संवेदनशील रूपमा उठाएको उनको भनाइ छ।

सिम्रन खड्काको अभिनयको प्रशंसा गर्दै उनले भने, ‘सिम्रनले निकै स्वाभाविक अभिनय गरेकी छन्। भावुक दृश्यहरूमा उनको अभिव्यक्ति अत्यन्त प्रभावशाली छ।’

अन्तमा श्रेष्ठले भने, ‘राम्रो चलचित्रलाई दर्शक आफैंले अर्को दर्शकसम्म पुर्याउँछन्। ‘गौँथली’ पनि त्यही किसिमको चलचित्र हो भन्ने मेरो विश्वास छ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.