काठमाडौं । साउन ५ गते राति ११ बजे आएको भीषण बाढी र पहिरोले दोखला जिल्लामा अवस्थित सिप्रिङ खोला जलविद्युत आयोजनाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । यसका कारण सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवर्द्धन गरेको यस १० मेगावाट क्षमताको आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारी अनुसार, बाढी र पहिरोले आयोजनाको हेडवर्क्स अर्थात् बाँध क्षेत्रका अधिकांश संरचनाहरूमा गम्भीर क्षति पुगेको छ । संरचना क्षतिग्रस्त भएकाले तत्कालका लागि उत्पादन पूर्ण रूपमा रोक्नु परेको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक सुरेन्द्र बहादुर खड्काले यस विषम परिस्थितिबारे सम्बन्धित नियामक निकायहरूलाई औपचारिक जानकारी गराएका छन् । कम्पनीले नेपाल धितोपत्र बोर्ड, विद्युत नियमन आयोग, कम्पनी रजिस्ट्रारको कार्यालय र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत यस सम्बन्धमा बोधार्थ पठाएको छ ।
आयोजनामा पुगेको क्षतिको विस्तृत विवरण र पुनः सञ्चालनका लागि लाग्ने समयबारे थप अध्ययन भइरहेको छ । यस प्राकृतिक विपत्तिका कारण आयोजना ठप्प हुँदा कम्पनीको दैनिक उत्पादन र आम्दानीमा प्रत्यक्ष नकारात्मक असर पर्ने देखिएको छ ।
