काठमाडौं । विवाहित महिलाका लागि आयोजना गरिने सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल २०२६’ को आवेदन प्रक्रिया शुरु भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यो जानकारी सार्वजनिक गर्यो। इच्छुक महिलाले खल्ती एपमार्फत वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमा रहेको फारम भरेर आवेदन दिन सक्नेछन्।
रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यस वर्षदेखि ‘मिसेस् नेपाल कस्मो’ नामक नयाँ शीर्षक थपिएको जानकारी दिए। उनका अनुसार साउन २३ गते अडिसन हुनेछ भने कात्तिक १४ गते ग्रान्ड फिनाले सम्पन्न हुनेछ। एउटै मञ्चमा ‘मिसेस् नेपाल वर्ल्ड’, ‘मिसेस् नेपाल इन्टरनेसनल’ र ‘मिसेस् नेपाल कस्मो’ गरी तीनवटा शीर्षकका लागि प्रतिस्पर्धा हुनेछ। साथै, अविवाहित वा एकल महिलाका लागि छुट्टै ‘एमएस् नेपाल इन्टरनेसनल’ विधा पनि राखिएको छ।
झाले भने, ‘विवाहित, सम्बन्धविच्छेद भएका र एकल सबै महिला सहभागी हुन सक्नुहुन्छ, तर एकपटक विवाह भएको हुनुपर्छ। उमेर सीमा २१ देखि ५० वर्षसम्म तोकिएको छ। उचाइ र तौलको कुनै बाधा छैन।’
विदेशमा बस्ने नेपाली नागरिकले पनि अनलाइन अडिसनमार्फत सहभागिता जनाउन पाउनेछन्। काठमाडौं बाहिरका महिलाका लागि पोखरा, इटहरी र विराटनगरलगायतका स्थानमा अडिसन सञ्चालन गरिनेछ। छनोट भएका सहभागीलाई ४५ दिने प्रशिक्षणका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तालिम पनि उपलब्ध गराइनेछ।
कार्यक्रममा मिसेस् नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तले पनि आफ्नो अनुभव साझा गरिन्। उनले भनिन्, ‘एक–दुई वर्षअघि म मिडियासामु आएर बोल्न सक्छु भन्ने पनि सोचेकी थिइनँ। तर आज मिसेस् नेपाल वर्ल्डले मलाई यो प्लेटफर्म र आत्मविश्वास दिएको छ।’
पन्तले नेपाली समाजमा विवाहित महिलालाई घर–परिवारको जिम्मेवारीमा सीमित गर्ने सोच अझै कायम रहेको बताउँदै महिलाहरूलाई आफ्ना सपना नत्याग्न आग्रह गरिन्। उनले भनिन्, ‘क्षमता छ भने आफ्ना इच्छा र आकांक्षाहरू नमार्नुहोस्। यस्ता प्लेटफर्ममा सहभागी भएपछि आफ्नै जीवनमा सकारात्मक परिवर्तन महसुस गर्नुहुनेछ।’
