काठमाडौं । सार्वजनिक यातायातका लागि ठूला विद्युतीय बस किन्न चाहनेहरूका लागि राम्रो खबर आएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट बसको कुल मूल्यको ८० प्रतिशतसम्म ऋण लिन सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले आफ्नो एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारी साधनमा ऋण–मूल्य अनुपात बढाएर ८० प्रतिशत पुर्याएको हो । यसको अर्थ खरिदकर्ताले कम्तीमा २० प्रतिशत रकम मात्र आफ्नै स्रोतबाट जुटाए पुग्छ ।
यसअघि सार्वजनिक र व्यक्तिगत दुवै प्रकारका विद्युतीय सवारीमा अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण पाइन्थ्यो । नयाँ व्यवस्थाले सार्वजनिक यातायातका विद्युतीय सवारीलाई विशेष सहुलियत दिएको छ भने व्यक्तिगत प्रयोजनका विद्युतीय सवारीमा पुरानै ६० प्रतिशतको सीमा कायम राखिएको छ ।
राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायीलाई पनि राहत दिएको छ । आन्दोलनका क्रममा क्षति पुगेका व्यावसायिक सवारी तथा ढुवानीका साधन बदल्नुपर्ने अवस्थामा बैंकहरूले ८० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था गरिएको छ ।
केन्द्रीय बैंकको यो निर्णयले सार्वजनिक विद्युतीय यातायातमा लगानी बढाउन र आन्दोलनबाट प्रभावित व्यवसायीलाई सवारी पुनः खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ ।
