विराटनगर । कर्णाली प्रदेशमा कांग्रेसका सबै मन्त्रीले मुख्यमन्त्रीसमक्ष राजीनामा दिएपछि कांग्रेस–एमाले गठबन्धनको भविष्यलाई लिएर कोशी प्रदेशमा पनि राजनीतिक चासो बढेको छ । सुदूरपश्चिममा समेत गठबन्धनबीच मतभेद देखिइरहेका बेला कोशी प्रदेश सरकारको निरन्तरताबारे चर्चा सुरु भएको हो ।
तर कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले भने कोशीको सत्ता समीकरण नटुट्ने दाबी गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले कोशीमा कांग्रेस र एमालेबीचको सहकार्य यथावत् जारी रहने बताए ।
मन्त्री लिंथेपले बहुमतका आधारमा सरकार गठन हुने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै कोशी प्रदेशको वर्तमान गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारे ।
हाल कोशी प्रदेशमा आलोपालो नेतृत्वको सहमतिअनुसार एमाले सचिव हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । आर्थिक वर्ष २०८३÷८४ को बजेटका सन्दर्भमा कांग्रेस सांसदहरूले सुरुआती चरणमा असन्तुष्टि जनाए पनि दलहरूबीच सहमति भएपछि उक्त बजेट प्रदेशसभाबाट पारित भएको थियो ।
