जनकपुर । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/०८३ मा कुल ७०.८८ प्रतिशत मुद्दा फैसला गर्न सफल भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले यो जानकारी दिए। उनले भने कि वार्षिक लक्ष्यअनुसार १०१.६० प्रतिशत मुद्दा फैसला गर्न अदालत सफल भएको छ।
यस आर्थिक वर्षमा ४,५४६ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा वास्तवमा ४,६१९ वटा मुद्दा फैसला भए। कुल ६,५१६ वटा मुद्दा दर्ता भएकोमध्ये ४,६१९ को फैसला भइसकेको छ भने अहिले १,८९७ वटा मुद्दा फैसला हुन बाँकी छन्। उल्लेखनीय कुरा के छ भने यस अवधिमा विगतका दुई वर्ष नाघेका पुराना सबै मुद्दाको पनि फैसला भइसकेको छ।
गत पाँच वर्षको तुलना गर्दा अदालतको प्रदर्शन क्रमशः सुधार भएको देखिन्छ। आर्थिक वर्ष २०७८/०७९ मा ४९.१५ प्रतिशत र २०७९/८० मा ४४.१७ प्रतिशत मात्र मुद्दा फैसला भएका थिए। २०८०/०८१ मा सबैभन्दा बढी ७१.१३ प्रतिशत फैसला भएको थियो भने २०८१/०८२ मा यो आँकडा ६६.०५ प्रतिशतमा झरेको थियो। अहिले २०८२/०८३ मा फेरि बढेर ७०.८८ प्रतिशत पुगेको छ।
न्यायाधीश कुँवरका अनुसार प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएकाले मुद्दाहरूको फैसला पहिलेभन्दा छिटो हुन थालेको छ। इजलासको कारबाही युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने गरिएकोमा केही गुनासो आएपछि अब सम्बन्धित पक्ष र वकिलको अनुमति लिएर मात्र प्रत्यक्ष प्रसारण गरिने गरिएको उनले स्पष्ट पारे।
