समाचार

माइतीघरमा टमाटर किसानको आन्दोलन : मन्त्री गीता चौधरीको पहलमा कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु

By अर्जुन भट्टराई •

माइतीघरमा टमाटर किसानको आन्दोलन : मन्त्री गीता चौधरीको पहलमा कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु

काठमाडौं । टमाटरको उचित मूल्य नपाएको भन्दै बुधबार बिहान काठमाडौंको माइतीघर मण्डलमा किसानहरूले सडकमा टमाटर फालेर विरोध प्रदर्शन गरे।

उचित मूल्य, प्रभावकारी बजार व्यवस्थापन र किसानको हित संरक्षणको माग राख्दै आन्दोलनमा उत्रिएका किसानहरूलाई कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयमा बोलाई छलफल गरिन्।

छलफलमा किसानहरूले टमाटरको उचित मूल्य सुनिश्चित गर्न, बजारमा सहज पहुँच दिलाउन र बिचौलियाको प्रभाव कम गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने माग राखे। मन्त्री चौधरीले किसानका माग जायज रहेको स्वीकार गर्दै तत्काल बजार व्यवस्थापन र आपूर्ति प्रणाली सुधार गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन्।

मन्त्रालयको पहल र कालीमाटी फलफूल तथा तरकारी बजारको समन्वयमा बुधबारदेखि कालीमाटीबाट टमाटर काठमाडौं उपत्यका बाहिर ढुवानी सुरु गरिएको छ। माग भएका बजारमा टमाटर आपूर्ति गरी किसानले उत्पादनको उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले यो ढुवानी गरिएको मन्त्रालयले जनाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानको उत्पादनले उचित बजार र उचित मूल्य पाउने वातावरण सिर्जना गर्न बजार व्यवस्थापन, आपूर्ति प्रणालीको सुदृढीकरण र बजार विस्तारका कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.