समाचार

खावालिङ स्कुलमा विद्यार्थी कुटपिट प्रकरण: शिक्षामन्त्री पोखरेलले पीडितसँग भेटी दिए हौसला

By अर्जुन भट्टराई •

खावालिङ स्कुलमा विद्यार्थी कुटपिट प्रकरण: शिक्षामन्त्री पोखरेलले पीडितसँग भेटी दिए हौसला

काठमाडौं। काठमाडौंको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले यो विषयमा गम्भीर चासो देखाएको छ।

भिडियोमा विद्यालयकी शिक्षिका सोना राना कक्षा ४ मा पढ्ने एक विद्यार्थीलाई कुटपिट गरेको दृश्य देखिएको छ। यो घटना विसं २०८२ सालको पुस महिनाको हो। पीडित विद्यार्थीको उमेर १३ वर्ष छ र उनको घर बाग्लुङमा छ।

भिडियो भाइरल भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक र प्रधानाध्यापकलाई मन्त्रालयमा बोलाई छलफल गरिन्। मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाको विस्तृत जानकारी लिइन् र उनलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन तथा खेलकुदमा निरन्तर अघि बढ्न प्रोत्साहित गरिन्।

छलफलका क्रममा मन्त्री पोखरेलले आवश्यक परेमा कानुनी प्रक्रिया अघि बढाउन मन्त्रालयले सहजीकरण गर्ने विश्वास दिलाइन्। साथै, घटनामा संलग्न शिक्षिकालाई आवश्यक परामर्श दिई सचेत गराउन र भविष्यमा यस्ता घटना नदोहोरिउन् भनी शिक्षकहरूका लागि तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई आग्रह गरिन्।

मन्त्रालयका अनुसार घटना एक वर्षअघि भएको भए पनि यस्ता घटना पुनः नदोहोरिउन् भन्ने उद्देश्यले सबै पक्षसँग छलफल गरी आवश्यक पहल गरिएको हो।

यसैबिच, शिक्षिका रानाले सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्तो कार्य नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक सुनिल रानाका अनुसार काठमाडौंको थली निवासी शिक्षिका रानालाई आवश्यक छानबिनपछि गत जेठमै विद्यालयबाट निष्कासन गरिएको थियो।

प्रधानाध्यापक रानाका अनुसार उक्त भिडियो विद्यालयकै एक अर्का शिक्षकले खिचेका थिए, जसलाई अध्यापन कार्य सन्तोषजनक नभएको कारण अघिल्लो वर्ष वैशाखमै विद्यालयबाट निष्कासन गरिएको थियो। विद्यालयले आफूहरूको निष्कासनप्रतिको असन्तुष्टिका कारण उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको दाबी गरेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.