समाचार

ध्रुवे हात्तीलाई रेडियो कलर जडान: बस्तीमा आउनुअघि नै सूचना पाइने

By अर्जुन भट्टराई •

ध्रुवे हात्तीलाई रेडियो कलर जडान: बस्तीमा आउनुअघि नै सूचना पाइने

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनपछि चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्वका लागि समस्या बन्दै आएको ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको छ। यस प्रविधिमार्फत हात्ती बस्तीनजिक आउनुअघि नै स्थानीयलाई सूचना दिन सकिने भएको छ।

यसअघि असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहटाकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको सोही ध्रुवे हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। त्यसपछि थप मानवीय क्षति हुन नदिन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, स्थानीय तह तथा अन्य सरोकारवालाको समन्वयमा हात्तीको खोजी र निगरानी तीव्र पारिएको थियो।

निरन्तरको खोजी क्रममा साउन ३१ गते बेलुका करिब ७ बजकर १५ मिनेटमा निकुञ्जभित्रै सुखीभार पोस्ट नजिक ध्रुवे हात्ती फेला परेपछि विशेषज्ञ टोलीले उसलाई रेडियो कलर जडान गरेको हो।

मन्त्री चौधरीले यसअघि पीडित परिवारलाई भेटेर दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएकी थिइन्।

रेडियो कलरले छोटो–छोटो अन्तरालमा हात्तीको सटीक जिपिएस लोकेसन उपलब्ध गराउने भएकाले नियमित अनुगमन सहज हुनेछ। यसका साथै जोखिमपूर्ण क्षेत्रको पूर्वानुमान गर्न र मानव–हात्ती द्वन्द्व घटाउन पनि यो प्रविधि महत्त्वपूर्ण साबित हुने विश्वास गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जले रेडियो कलरमार्फत ध्रुवे हात्तीको नियमित निगरानी जारी राख्दै आवश्यक व्यवस्थापन कार्यलाई निरन्तरता दिने जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.