काठमाडौं । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएका छन् । यी मध्ये तीन जनाको उपचारकै क्रममा मृत्यु भइसकेको छ भने एक जना गम्भीर घाइते अवस्थामा उपचाररत छन् । यी घटनाले मानसिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व र सञ्चारमाध्यमको भूमिकामाथि गम्भीर बहस सुरु गराएको छ ।
**असार २५ गते : राहदानी विभाग अगाडि आत्मदाह**
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि असार २५ गते २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए । गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । यस घटनाले देशभर व्यापक ध्यानाकर्षण गराएको थियो ।
**असार २७ गते : बुद्धनगरमा अर्को घटना**
काठमाडौंकै बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरे र उनको पनि निधन भयो ।
**असार ३० गते : सर्लाहीमा मण्डलको मृत्यु**
सर्लाहीको गोडैता नगरपालिकाका ४२ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरे र असार ३० गते उपचारकै क्रममा उनको मृत्यु भयो । प्रहरीका अनुसार यो घटना व्यक्तिगत तथा सामाजिक समस्यासँग जोडिएको प्रारम्भिक अनुमान गरिएको छ ।
**पछिल्लो घटना रौतहटमा**
रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् । उनी देबेन्द्र सहनीका छोरा हुन् । रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमका अनुसार घाँटीमुनिको करिब ३१.५ प्रतिशत भाग जलेको छ । उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा लगिएको थियो र प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । हाल उनको अवस्था मध्यम रहेको र उनका बुबा उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ । परिवारका सदस्यले दिएको जानकारी अनुसार उनी मानसिक रोगको औषधि सेवन गरिरहेका थिए र घटनाका बेला मादक पदार्थ सेवन गरेको हुन सक्ने प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
**’कपी–क्याट इफेक्ट’को खतरा**
लगातार एउटै प्रकृतिका घटना दोहोरिएपछि मनोचिकित्सक डा. गोपाल ढकालले यसलाई ‘कपी–क्याट इफेक्ट’सँग जोडेर हेर्नुपर्ने बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘एउटा घटनालाई पटक–पटक समाचार, भिडियो र सामाजिक सञ्जालमार्फत सनसनीपूर्ण ढंगले प्रस्तुत गर्दा आत्महत्याको सोचमा रहेका व्यक्तिले त्यही माध्यम अनुकरण गर्न सक्छन् ।’
उनका अनुसार नेपालमा दैनिक औसत २० जनाले आत्महत्या गर्ने तथ्यांक छ । तर कुनै एउटा विधिलाई अत्यधिक प्रचार गरिएपछि सोही विधि अपनाउने सम्भावना बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । विशेषगरी बालबालिका र किशोरकिशोरीमा यस्तो प्रभाव झन् बढी देखिन सक्ने भएकाले सञ्चारमाध्यमले थप संवेदनशीलता अपनाउनुपर्ने उनले जोड दिए ।
**डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आग्रह**
डा. ढकालले आत्मदाहसम्बन्धी समाचार सम्प्रेषण गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तयार गरेको मिडिया गाइडलाइन पालना गर्न आवश्यक रहेको बताए । घटनाको विधि, स्थान वा विस्तृत दृश्यलाई प्राथमिकता दिनुभन्दा मानसिक स्वास्थ्य, रोकथामका उपाय र उपलब्ध सहयोग सेवाबारे जानकारी दिनुपर्ने उनको सुझाव छ ।
‘किन मानिस यस्तो अवस्थामा पुग्छ, कसरी रोक्न सकिन्छ र संकटमा परेका व्यक्तिले कहाँबाट सहयोग पाउन सक्छन् — यी विषयलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नुपर्छ,’ उनले भने ।
पछिल्ला यी घटनाले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, समयमै मनोसामाजिक परामर्श उपलब्ध गराउने व्यवस्था, परिवार र समुदायको सहयोग तथा जिम्मेवार सञ्चार अभ्यासको आवश्यकतालाई थप स्पष्ट पारेको डा. ढकालले बताए । मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको प्रमुख मुद्दाका रूपमा लिएर राज्यले प्रभावकारी रोकथाम कार्यक्रम र जनचेतनामूलक अभियान थप सशक्त बनाउनुपर्ने आवश्यकता यी घटनाले औँल्याएका छन् ।
