काठमाडौँ । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालन भइरहेको नेपालकै पहिलो र नमुना ढुवानी ग्राम जाने सडकमा स्थानीयले अवरोध गरेका छन् ।
बुटवल उपमहानगरपालिका–१२ ढवाहामा रहेको ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम जाने सडकमा स्थानीयले अवरोध गरेपछि व्यवसायीहरू अन्योलमा परेका छन् । स्थानीयको अवरोध र नगरपालिकाले समन्वयकारी भूमिका नगरेकाले ढुवानी ग्राम अनिश्चितकालीन बन्द गर्ने स्थानीयहरूले जनाएका छन् ।
संगमपथ सुधार समितिका संयोजक डम्मरदेव अर्यालले कुनै पनि हालतमा ढुवानी ग्रामसम्म पुग्नका लागि आफ्नो टोलको सडक प्रयोग गर्न नदिने उल्लेख गरे । बुटवल उपमहानगरले आफ्नो प्रतिबद्धताअनुसार काम नगरेको, ढुवानी ग्रामका लागि वैकल्पिक सडकको व्यवस्था नगरेको लगायतका कारण देखाउँदै अर्यालले आफूहरूले सडक प्रयोग गर्न नदिने उनले बताए ।
नयाँगाउँ चोकदेखि दक्षिणतर्फ बेलभरिया पुलसम्मको सडक कुनै पनि हालतमा ढुवानीका सवारीका लागि प्रयोग गर्न नदिने स्थानीयको अडान छ । काठमाडौँ, पोखरा लगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका शहरहरूमा सामान पुर्याउने स्टेशनको रूपमा रहेको ढुवानी ग्राम बन्द हुँदा देशभरको सेवा प्रभावित हुने व्यवसायी कमल घिमिरेले बताए । ढुवानी ग्राम बन्द हुँदा निजी क्षेत्र तथा राज्यले समेत ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने उनको भनाइ छ ।
ढुवानी ग्राम पुग्ने सडक प्रयोग गर्दा स्थानीयले अवरोध गर्ने, ढुङ्गा मुढा लिएर बस्ने लगायतका क्रियाकलाप हुन थालेपछि आफूहरूले असुरक्षित ठानेर सेवा बन्द गर्नुपरेको घिमिरेले बताए । ढुवानी ग्रामको प्रयोग गरे बापत व्यवसायीहरूले मासिक डेढ लाख बढी राजश्व बुटवल उपमहानगरलाई बुझाउँदै आएको व्यवसायीहरूको भनाइ छ ।
बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्थानीयहरूले भनेका सबै मागहरू तत्काल पूरा गर्न नसकिने स्पष्ट पारे । पहुँच मार्गका लागि उपमहानगरले लगानी गरेको कुरा स्मरण गराउँदै उनले स्थानीयले यसरी नै अवरोध गरे ढुवानी ग्राम बन्द गरेर राख्नु बाहेकको विकल्प नभएको जिकिर गरे । सार्वजनिक–निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानी ग्राम निर्माण भएको हो । हेबी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएर व्यस्त बुटवलको ट्राफिक चापलाई कम गर्ने योजना अनुसार स्थापना गरिएको ढुवानी ग्राम पहुँच मार्गको विवादले बन्द हुने स्थितिमा पुगेको छ ।
सम्बन्धित समाचारहरु:
पाेखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा, यात्री समस्यामा
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
बंगलादेशले किन्ने भयो नेपालबाट ४० मेगावाट बिजुली
भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
एमाले आज नयाँ गठबन्धबारे छलफल गर्न सचिवालय बैठक बस्दै
नारायणगढ–मुग्लिन सडककाे पच्चीस ठाउँमा पहिराेको जोखिम
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
