अन्तराष्ट्रिय

दक्षिण अफ्रिकामा आगलागी हुँदा दुई हजार व्यक्ति घरविहीन

By अर्जुन भट्टराई

काठमाडौं । दक्षिण अफ्रिकाको केपटाउनमा भएको आगलागीमा परी दुई जनाको मृत्यु हुनुका साथै करिब दुई हजार व्यक्ति घरविहीन भएका आपतकालीन सेवाले जनाएको छ । शनिबार साँझ र आइतबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ ।

केपटाउनका अग्नि नियन्त्रक तथा उद्धार प्रवक्ता जर्मेन क्यारेल्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “जलेर सख्त घाइते भएका एक वयस्क पुरुष र महिलाको उपचारका क्रममा निधन भएको चिकित्सकहरूले जनाएका छन् ।” केपटाउनबाट करिब ३० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलेनी बस्तीमा आइतबार राति २ः३० बजे भएको भीषण आगलागीमा १५० भन्दा बढी छाप्रा जलेर नष्ट भएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको क्यारेल्सेले बताए । दक्षिण अफ्रिकामा छाप्राहरूमा बर्षेनी आगलागी हुने र सयौँको अकालमा मृत्यु हुने गरेको छ । आगलागी दक्षिण अफ्रिकाभरिका प्रमुख शहरहरू नजिकैको विशाल अनौपचारिक बस्तीका गरिब बासिन्दाहरूका लागि सदाबहार खतरा हो ।

आवास मन्त्रालयका अनुसार दक्षिण अफ्रिकामा १२.३ प्रतिशत मानिस साना छाप्रा ९झुपडी० मा बसोबास गर्ने गरेका सन् २०२२ मा सङ्कलन गरिएको एक तथ्याङ्कमा उल्लेख छ । रङ्गभेदको अन्त्य भएको ३० वर्षपछि पनि भूमिको स्वामित्व र आवास नीति देशको राजनीतिमा चर्को विवादित विषय बनेको छ र आगामी मे २९ मा हुने चुनावमा मुख्य चर्चाको विषय बनेको छ । एजेन्सी

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.