त्यो मृगस्थली ! न जोगिए मृग न जोगियो प्रकृति

मृग पालेर उर्वर मृगस्थलीलाई उजाड मरुभूमि जस्तो बनाइएपछि बल्ल अहिले कोषले राष्ट्रिय वन्यजन्तु विभागलाई केही मृग हस्तान्तरण गर्ने पहल थालेको छ। पर्याप्त चरन क्षेत्र चाहिने यस्ता प्रकृतिप्रेमी जनावरलाई तारजालीभित्र थुनेर कोषले धार्मिक क्षेत्रमा किन अपराध गरिरहेको छ ?

झट्ट हेर्दा रमाइलो लाग्छ। फोटो खिचाउन झुम्मिएका सर्वसाधारण, हातमा चाउचाउ र बिस्कुट लिएर लाइन लागेका अवलोकनकर्ता अनि मान्छेलाई देखेर नजिकिएका तारबार भित्र थुनिएका सुन्दर मृगको बथान।
हिन्दू धर्मसँग जोडिएको पवित्र पाशुपत क्षेत्रको श्लेस्मान्तक वनको मृगस्थलीमा देखिने यो सामान्य दृश्य हो। २०६१ सालमा सदर चिडियाखाना जाउलाखेलबाट तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषसँगको सहकार्यमा पशुपति क्षेत्र विकास कोषले १८ वटा कृष्णसार, १० वटा चित्तल र २ वटा रतुवा सहित ३० वटा मृग मृगस्थलीको जंगलमा छाडेको थियो। १८ वर्षपछि मृगस्थलीको चौरमा थुनिएका सबै कृष्ण सार मरेर बिउ नै मासिएको छ। तारबार भित्र मृगको संख्या बढेर १८० को हाराहारी पुगेको थियो तर अहिले घटेर १३० मा झरेको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार सबैभन्दा धेरै चित्तल हुर्किएका छन् तर प्राकृतिक खानाको अभाव छ। पशुपति घुम्न आउने सर्वसाधारणले दिने चाउचाउ र विस्कुटमा बानी परेका मृगहरू मानिससँग झुम्मिने भएका छन्। किनभने जहाँ मृग थुनिएको छ, त्यहाँ बुट्यान र चरन त परको कुरा सयौं वर्ष पुराना रुख समेत सुकेका छन्।
मृग स्वभावैले जङ्गल र चरन क्षेत्र मन पराउने जनावर हुन्। मृग भन्ने बित्तिकै हाम्रो मानसपटलमा बुर्कुसी मार्दै उफ्रिंदै र दौडिदै रनबन चहार्ने चञ्चले जनावरको चित्र आउँछ। काठ्माडौंको पाशुपत क्षेत्रस्थित मृगस्थलीमा भने उजाड र उराठलाग्दो पिँजडा भित्र थुनिएका यी मृग न उफ्रिन्छन्, न रमाउँछन्। हरियो घासँपात चर्ने बानी बिर्सिसकेका यी मृग अहिले पत्रु खानामा पल्किएका छन्।
खर्चको बोझ र उजाड जंगल
कोषले मृगको रेखदेखका लागि ४ जना कर्मचारी पालेको छ। कर्मचारीको सेवा सुविधासहित यही मृगको संरक्षणका लागि वार्षिक एक करोड चानचुन खर्च हुने गरेको छ।
विगत १३ वर्षदेखि मृगस्थलीमा यीनै जनावरको हेरचाह गर्दै आएका उत्तम अधिकारी भन्छन्, राम्रो अध्ययन नै नगरी भावनामा बगेर यस्तो घना जंगलमा ल्याएर मृग छाडियो, अहिले न मृग राम्रोसँग हुर्कने र बाँच्ने अवस्था छ न यो मृगस्थली नै जोगियो। घना जंगल रहेको यो डाँडो अहिले मरुभूमि जस्तै बनेको छ। शनिवार बिहान मृगस्थली पुग्दा, अधिकारी तारबारभित्र मृगलाई दाना खुवाउने ठाउँ सफा गर्दै थिए। दाना खुवाउन बनाएको स्थान नजिकै आकासे पानी जमेर बनेको सानो तलाउमा फोहोर पानी देखिन्थ्यो। अधिकारीका अनुसार केही मृगले यही पानी पिउँछन्, केहीले दाना खाने नजिकै राखिएको भाडोबाट पानी पिउने गरेका छन्। उनका अनुसार, मृग राख्दा सयौं वर्ष बुढा रुखले यो जंगल भरिएको थियो। अहिले सुकेका रुख मात्रै बाँकी छन्। न नयाँ बिरुवा हुर्काउन सकिन्छ, न बाँकी रहेका रुख नै जोगाउन सकिन्छ। अहिले सम्पदा क्षेत्रको हरियाली लुटिएको छ। नयाँ बिरुवा पनि हुर्किन सकेका छैनन्, चारैतिर सुकेका रुख मात्रै छन्। जताततै पहिरो लाग्न थालेको छ।
कोषको व्यवस्थापनमा मृगलाई दैनिक ३ पटक घाँस, दाना र चोक्कर दिइन्छ। चोक्कर र पानीमा नुन प्रयोग गरिन्छ। मृगको आनिबानी र हेरचाहमा झण्डै डेढ दशकको अनुभव बटुलेका उत्तम अधिकारी, नुन खाएपछिको बड्कांैला र पिसावमा हुने अम्लियपनका कारण माटो अत्यन्तै सुख्खा बनेको र सयौं वर्ष पुराना रुख भटाभट मरिरहेको बताउँछन्।

कोषले सुरुमा गोरखनाथको पश्चिमदेखि किराँतेश्वरको पूर्वसम्मको ८० रोपनी जग्गामा तारजाली लगाएको थियो। मृगको पिसाब र बोक्रा तथा जरा समेत खोतल्ने बानीका कारण पूरै जंगल क्षेत्र मासिने अवस्थामा पुग्यो। त्यसपछि, पहिरो र प्राकृतिक विनाश समेत रोक्न आधा भन्दा बढी भाग घटाइएको छ।
पूरै जंगल उजाड भएपछि हरियाली फर्काउन तथा पहिरो जान थालेको क्षेत्र जोगाउन कोषले यही बीचमा करोडौं खर्च गरेकोे छ। मृगस्थलीमा देखिएको यो समस्या समाधानका लागि डेढ करोडभन्दा बढी खर्च गरेर संरक्षण परियोजना चलाइएको तर विनाश हुनबाट रोक्न नसकिएको कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले बताए।
मृग थुनिएको जमिनमा ढुंगा, छारो उड्ने माटो र प्लास्टिक मात्रै देखिन्छन्। जसले विश्व सम्पदा सूचीमा रहेको पाशुपत क्षेत्रको मृगस्थलीको वातावरण असहज बन्दै गएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पनि स्वीकारे। अहिले पनि मृगस्थली वरिपरी पहिरो लाग्ने डर उत्तिकै छ, पुराना रुख सुकेका छन्, खतिवडाले भने– नयाँ विरुवा हुर्काउन समय लाग्छ। त्यसैले बालुवा भरेका बोराले पहिरो रोकथाम गरिएको छ।
अहिले किराँतेश्वर तथा गुह्ेश्वरी आसपासको क्षेत्रमा जताततै पहिरो रोक्न बालुवा भरेका बोरा राखेको देख्न सकिन्छ। यो पनि सम्पदा संरक्षित क्षेत्रका हकमा मापदण्ड विपरीतको काम हो। कतैकतै तार जाली लगाएर पर्खाल उठाइएको छ, यो जंगल क्षेत्रमा मृगको बथानलाई खुला छाडेपछि सुरुको १० वर्ष मै निम्तिएको प्राकृतिक संकट हो।
युनेस्कोको चिन्ता: सरकार मौन
पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन, आफूले सुरुबाटै भावनामा बगेर सम्पदा क्षेत्रको पुरानो जंगलमा मृग नपाल्न आग्रह गरेको सम्झन्छन्। विश्व सम्पदा क्षेत्रलाई चिडियाखाना बनाउने निर्णय नै गलत् थियो, टण्डन भन्छन्– झट्ट सुन्दा त्यसवेला नमिठो लागेको थियो अहिले जंगल व्यवस्थापन र मृगको भरण–पोषणले निम्त्याएको समस्या हेर्दा कोषलाई मृग घाँडो भएको छ।
२०६९ सालमा कम्बोडीयाको नोम्पेन्हमा सम्पन्न युनेस्कोको विश्व सम्पदा समितिको ३७ औं सत्रमा समेत पाशुपत क्षेत्रको मृगस्थली जंगलमा निम्तिएको वातावरणीय क्षति व्यवस्थापनका लागि आवश्यक पहल गर्न नेपाललाई सुझाव आएको टण्डन सम्झन्छन्। त्यसपछि नै कोषले मृग कै कारण सुकेको जंगल जोगाउन, पहिरो रोक्न र थप क्षति हुन नदिन मृगस्थली संरक्षण परियोजना सञ्चालन गरेको हो। त्यसपछि सुरुमा मृगका लागि छुट्याइएको आधा जमिन घटाएर हरियाली क्षेत्र बढाउन खोजिएको छ, जहाँ सुकेका रुख लडिरहेका छन् र जताततै पहिरो लाग्न थालेको छ।

अहिले बाँचेका केही पुराना रुखको वरिपरि फलामको बार लगाएर राखिएको छ। चित्तलले फलामको बार समेत भत्काएर रुखको बोक्रा खाने र सिङ बजार्ने गरेको उत्तम अधिकारीले बताए। उनका अनुसार भाले चित्तलको सिङ हरेक वर्ष झर्ने गर्छ। सिङ झरेको केही महिना मै नयाँ सिङ पलाउन थाल्छ। नयाँ सिङ उम्रिएपछि चित्तलले रुखमा सिंगौरी खेल्ने र त्यही कारण सबै रुखको बोक्रा झरेपछि त्यहींबाट रुख सुक्न थालेको अधिकारीको अनुभव छ। यसबाहेक माटोको उर्वरता मृगको पिशावले नामेट पारेकाले तत्काल नयाँ रुख विरुवा र बुट्यान समेत हुर्काउन सकिने अवस्था छैन। घना जंगल रहेको पशुपतिपारिको श्लेस्मान्तक वनको पश्चिमी भाग उजाडिएको छ।
चितुवा र खोरेंतले सकिए मृग
पशुपति क्षेत्र विकास कोष मृगस्थलीको मृग संरक्षित् क्षेत्रमा चितुवा पल्केको प्रसंग सुन्नै चाहँदैन तर सुरुबाटै मृगको हेरचाहमा खटिएका अधिकारी मृगकै कारण टाढा टाढाबाट आउने निगाले चितुवाले धेरै मृग मारेको सम्झन्छन्। चितुवा आएर अग्ला रुखको माथि लुकेर बस्छ, कुन बेला मृगको शिकार गर्छ पत्तै हुंदैन, सुरु¬ सुरुमा चितुवाले धेरै मृग मारेर खायो, अधिकारीले भने– २०६३ सालपछि काठमाडौमा मृग पाल्नेहरूले पनि धेरै मृग ल्याएर यहाँ छाडेका थिए तर घरमा थुनेर राखेको मृग कुनै पनि बचाउन सकिएन। बाँकी एअरपोर्ट आसपासको जंगल, नागार्जुन, गोकर्ण कता कताको चितुवाले मारे। यही बीचमा उचित उपचार र स्याहार नपाएर ५० भन्दा बढी मृग खोरेंत रोगले पनि मरे– अधिकारीले बताए। यत्रो मृग पालेर उर्वर मृगस्थलीलाई उजाड मरुभूमि जस्तो बनाइएपछि बल्ल अहिले कोषले राष्ट्रिय वन्यजन्तु विभागलाई केही मृग हस्तान्तरण गर्ने पहल थालेको छ। पर्याप्त चरन क्षेत्र चाहिने यस्ता प्रकृतिप्रेमी जनावरलाई पिँजडामा थुनेर कोषले धार्मिक क्षेत्रमा किन अपराध गरिरहेको छ ? वन्यजन्तु संरक्षणकर्मीले पहिलेदेखि उठाइरहेको प्रश्न कहिले निवारण होला ? टुंगो छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

यशोदा भण्डारी

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!