दास ढुंगा दुर्घटनाको २९ वर्ष: एमालेले नै लुकायो प्रतिवेदन

एउटा भनाइ छ– हरेक शासक कसै न कसैको रगतले रङ्गिएको हुन्छ अनि त्यो शासक जीवनपर्यन्त कसै न कसैको निशानामा पनि हुन्छ।  यही साश्वत सत्य पछ्याइरहेको नेपालको राजनीतिमा यस्ता थुप्रै रक्तपात पूर्ण घटना भएका छन् जसको रहस्य अब सायदै सार्वजनिक होला।

यस्तै रहस्यपूर्ण अथवा तथ्यहरू सार्वजनिक नै नभएको दुर्घटना हो दासढुंगा काण्ड। जसलाई नेपालका कम्युनिष्ट घटकहरूले त्यसमा पनि नेकपा एमालेले झण्डै ३ दशक यता राजनीतिक बर्को ओढाएर भोटको राजनीति गरिरहेको छ। आज त्यही दिन अर्थात् जेष्ठ ३ गते हो।

जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रणेता तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र नेता जीवराज आश्रित चढेको जीप दुर्घटनामा परेको चर्चित् ‘दासढुंगा काण्ड, २०५०’ हत्या हो कि दुर्घटना ? अझैसम्म रहस्यमय नै छ। नेकपा एमालेले भण्डारीकै आदर्शलाई कार्यदिशा बनाएको छ। पटक पटक एमाले नै सरकारको नेतृत्वमा पुगेको छ। अझ त्यो भन्दा पनि टिठ लाग्दो संयोग, तिनै मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारी दुई पटक यो मुलुकको राष्ट्रतिको भूमिकामा पुगेकी छन् तर भण्डारीकै परिवारले समेत दासढुंगा काण्ड सम्बन्धी छानवीन प्रतिवेदन बाहिर ल्याउन चाहेको छैन। यो घटनाका सन्दर्भमा, सुरुबाटै थुप्रै संशयपूर्ण टिका टिप्पणी भएका छन्। एमाले कै जिम्मेवार नेता यो घटनामा जिम्मेवार थिए भन्नेसम्मको आरोप लाग्ने गरेको छ। यसलाई हटाउन अथवा दोषी पहिचान गरेर भण्डारी र आश्रितलाई न्याय दिन भण्डारी पत्नी विद्या भण्डारीले नै जरुरी देखेकी छैनन्। जो दासढुंगा काण्ड यता निरन्तर नेपालको राष्ट्रिय राजनीतिको केन्द्र भागमा क्रियाशील रहँदै विभिन्न महत्वपूर्ण जिम्मेवारी पूरा गरेपछि मुलुकको राष्ट्रपति बनेकी हुन्।

के थियो दासढुंगा दुर्घटना ?

नेकपा एमालेको तेस्रो कास्की जिल्ला अधिवेशनमा भाग लिएर २०५० साल जेठ ३ गते दिउँसो ३ बजे कास्कीका नेता कार्यकर्तासँग बिदा भई जेठ ४ गते चितवनमा हुने एमालेको अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा भाग लिन चितवनतर्फ जाँदै गर्दा दास ढुंगामा यो दुर्घटना भएको थियो। नेकपा एमाले पार्टीको बा.अ.च ८७९३ नम्बरको पजेरो जिपमा पार्टीका संगठन विभाग प्रमुख जिवराज आश्रित, गोरखा एमालेका सचिव ऋषि कट्टेल र चालक अमर लामा थिए। झण्डै सवा ३ बजे पोखराबाट मुग्लिनतर्फ लागेको जिपमा रहेका कट्टेल आँबु खैरेनीमा झरेपछि  दासढुंगा पुग्दा बेलुकीको पौने ६ बजेको थियो। त्यसवेलाका समाचार विवरण हेर्दा पोखराको दीपेन्द्र सभागृहमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन समय १२ बजे थियो तर प्रमुख अतिथि भण्डारी साढे १ बजे कार्यक्रमस्थल पुगेका थिए। सो कार्यक्रममा महासचिव भण्डारीले जनताको बहुदलीय जनवादको व्याख्या गर्दै झण्डै एक घण्टा रुस, चीन क्युवा तथा भियतनामको राजनीतिक घटनाक्रम जोडेका थिए। सोही सभामा भण्डारीले नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको खुलेर प्रशंसा गरेका थिए। टनकपुर सम्झौताको प्रश्नमा, सिंह देश र जनताप्रति चिन्तित रहेको भन्दै भण्डारीले सिंहलाई धन्यवाद दिएर सम्बोधन टुंग्याएका थिए। त्यसबेला संसदमा एमालेले टनकपुर सम्झौतालाई लिएर अवरोध जारी राखेको थियो। सडकमा संघर्ष थियो। कांग्रेस नेता सिंहले कांग्रेसको बैठकमा प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको प्रसंग उठाएर गिरिजाप्रसाद नेतृत्वको सरकारको आलोचना गरेका थिए।

२०५० साल माघमा काठमाडौमा सम्पन्न पार्टीको महाधिवेशन पछि एमालेको पर्याय जस्तै बनेर स्थापित भएका भण्डारीको जिप दुर्घटनामा निधन भए लगत्तै नेकपा एमालेले केपी शर्मा ओलीको संयोजकत्वमा छानबिन आयोग बनायो। घटना लगत्तै एमालेले निकालेको पहिलो औपचारिक वक्तव्यमा दासढुंगा घटनालाई दुर्घटना मात्रै भनेको थियो। जतिवेला सरकारले प्रचण्डराज अनिल आयोग गठन गरिसकेको थियो। जनस्तरबाट पद्मरत्न तुलाधरको नेतृत्वमा अर्को आयोग गठन भयो। सरकारी आयोगको प्रतिवेदनलाई एमालेले स्वीकार गरेन र उल्टै त्यसका विरुद्ध संघर्ष गर्‍यो। जतिवेला जिपका चालक अमर लामालाई उपचारका नाममा ट्रयाकलाईजर नामक औैषधी दिएर प्रहरीको निगरानीमा अस्पतालमा राखिएको थियो। एमालेले संघर्ष नरोकेपछि सरकारले त्रिलोकप्रताप राणाको नेतृत्वमा २०५१ असारमा अर्को आयोग गठन गर्‍यो। राणा नेतृत्वको आयोगले २०५१ साल साउन ३० गते आइतवार आफ्नो प्रतिवेदन तत्कालीन राजा वीरेन्द्र समक्ष पेश गरेको थियो।

शंकास्पद चालक अमर लामा: जो आफैं मारिए

दुर्घटनापछि जिपसँगै आफू पनि त्रिशुली नदीमा खसेको भन्ने बयान दिएका चालक अमर लामाले सुरुमा गाडी लिरविर गरेको, ब्रेक हान्न खोज्दा ब्रेक नलागेको, भित्तापट्टी ठोकाउन खोज्दा नसकेको, मदन भण्डारी अगाडीको सिटमा  बेल्ट बाँधेर बसेको, आफू पनि गाडीमै नदीमा खसेको, पानीबाट पौडिएर बाहिर निस्केको र करिब डेढ सय फिट तलबाट माथि सडकमा आएको भन्ने बयान दिएका थिए। तर लामाको कुहिनो र नाकमा बाहेक कतै खास चोटपटक नलागेको र उनी गोडामा लाएको चप्पल समेत लगाएर नारायणघाट पुगेको तत्कालीन एमालेका नेता जागृतप्रसाद भेट्वालले घटनापछि सञ्चारकर्मीलाई बताएका थिए। चितवनबाट त्यसबेला प्रतिनिधित्व गर्ने स्वतन्त्र सांसद भीमबहादुर श्रेष्ठले दुर्घटनास्थलको निरीक्षण गरेपछि भनेका थिए– ‘जिप खसेको दास ढुंगाको मूल सडकको दाहिनेतर्फ भुसको थुप्रो राखिएको थियो भने देब्रेतर्फ तीन वटा ससाना बालुवाका थुप्रा थिए। दुर्घटनास्थल आसपास कतै पनि बस्ती नरहेको र निर्माण कार्य समेत नभएको एकान्त ठाउँमा ती संकेत केका थिए ? घटना शंकास्पद छ, श्रेष्ठको प्रश्न थियो, जिपसँगै नदीमा खसेको चालकलाई दुर्घटना लगत्तै विदेशी नम्वर प्लेटयुक्त कालो सिसा भएको गाडीले नारायणघाटमा लगेर छाडेको देखिन्छ, त्यसपछि उक्त गाडी लामालाई छाडेर नवलपरासीतर्फ लागेको सुनियो, त्यसैले यो शंकास्पद छ, श्रेष्ठको यो भनाइबारेपछि छानबिन आयोगले चालक लामासँग प्रश्न गरेको थियो।

यसबाहेक दासढुंगा घटनापछि शंकाको घेरामा परेका चालक लामाले नारायणघाटबाट काठमाडौको बागबजारमा रहेको एमालेको कार्यालयमा टेलिफोन गरेर मदन भण्डारी सवार जिप दुर्घटनामा परेको पहिलो सूचना दिएका थिए। घटनापछि अनुसन्धानमा खटिएका सुरक्षाकर्मी तथा अधिकारकर्मी र राजनीतिकर्मीले लामाले काठमाडौ सहित विभिन्न नम्वरमा ३ मिनेट भन्दा लामो ट्रंक संवाद गरेर २४ रुपैंया तिरेको बताएका छन्। जबकि त्रिशुलीबाट पौडिएर बाँचेको भन्दै फोन गरिरहेका लामाको खल्तिको पैसा भने नभिजेको स्थानीय वडा प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायव निरीक्षक प्रेम बुढाथोकीले नागरिक छानबिन टोलीलाई बताएका थिए। त्यसपछि सामान्य अवस्थामा रहेका लामा सुरुमा बुढाथोकीसँगै जिल्ला प्रहरी कार्यालय चितवन गएका थिए। प्रहरीले अस्पताल जान सल्लाह दिएपछि बल्ल भरतपुर अस्पताल पुगेका लामालाई त्यसपछि १८ दिनसम्म लठ्याउने औषधी दिएर अस्पतालमै राखियो। यो बीचमा पटक पटक एमाले नेता एवं छानबिन समितिका संयोजक केपी ओलीले लामालाई भेटेर घटना बारे जानकारी लिएका थिए तर उक्त प्रतिवेदन एमालले आजसम्म गोप्य राखेको छ।

तत्कालीन अनेरास्ववियुका नेता रवीन्द्र अधिकारी लगायतका युवा विद्यार्थीले दासढुंगा घटनामा विदेशीको हात रहेको भन्दै होटल होलिडेको कोठा नंवर ५ मा बस्दै आएका फ्रेन्च पर्यटकलाई कुटेका थिए। भारत हुँदै दुई साताअघि पर्यटक भिसामा पोखरा पुगेका ३३ वर्षीय बिडम बर्नाड पोखराको दिपेन्द्र सभागृहमा सम्पन्न मदन भण्डारीको अन्तिम सम्बोधनका बेला समेत कार्यक्रममा पस्ने प्रयत्न गरेको र दासढुंगा दुर्घटनापछि पनि पोखराका राजनीतिक कार्यक्रममा देखा परेको अनेरास्ववियुले आरोप लगायो। लगत्तै कास्की प्रहरीले उनी बस्ने होटलमा छापा मारेको थियो। यससम्बन्धी विस्तृत विवरण एमालेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ तर यो घटनापछि निरन्तर मौन बस्दै राजनीतिक अस्त्र मात्रै बनाइरहेको एमालेले प्रतिवेदन बाहिर ल्याएको छैन।

यो दुर्घटनापछि सुरक्षाकर्मी तथा प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा सार्वजनिक समाचार र विचार हेर्दा २०५० साल जेठ ६ गते पोखराको पृथ्वीनारायण क्याम्पसमा एक जना विदेशी नागरिक कुटिए। तत्कालीन अनेरास्ववियुका नेता रवीन्द्र अधिकारी लगायतका युवा विद्यार्थीले दासढुंगा घटनामा विदेशीको हात रहेको भन्दै होटल होलिडेको कोठा नंवर ५ मा बस्दै आएका फ्रेन्च पर्यटकलाई कुटेका थिए। भारत हुँदै दुई साताअघि पर्यटक भिसामा पोखरा पुगेका ३३ वर्षीय बिडम बर्नाड पोखराको दिपेन्द्र सभागृहमा सम्पन्न मदन भण्डारीको अन्तिम सम्बोधनका बेला समेत कार्यक्रममा पस्ने प्रयत्न गरेको र दासढुंगा दुर्घटनापछि पनि पोखराका राजनीतिक कार्यक्रममा देखा परेको अनेरास्ववियुले आरोप लगायो। लगत्तै कास्की प्रहरीले उनी बस्ने होटलमा छापा मारेको थियो। यससम्बन्धी विस्तृत विवरण एमालेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ तर यो घटनापछि निरन्तर मौन बस्दै राजनीतिक अस्त्र मात्रै बनाइरहेको एमालेले प्रतिवेदन बाहिर ल्याएको छैन।

दुर्घटनापछि पटक पटक प्रहरी हिरासतबाटै आयोगलाई बयान दिएका लामाले २०५१ साउन २८ र साउन ३० गते राणा नेतृत्वको आयोगलाई अन्तिम बयान दिएका थिए। उक्त छानबिन समितिमा अधिवक्ता बिपुलेन्द्र चक्रवर्ती र हर्षनारायण धौभडेल सदस्य थिए। समितिलाई लामाले दासढुंगा घटना प्राविधिक त्रुटीबाट भएको दुर्घटना भन्ने जिकिर गरेका थिए। लापरबाहीपूर्वक सवारी चलाएर नेताद्वयको ज्यान लिएको अभियोगमा पाँच वर्ष जेल परेका लामा सजाय काटेर रिहा भएपछि राजनीतिबाट टाढिए र पत्रकारिता पेसामा आवद्ध भए तर २०६० साल साउन १२ गते डिल्लीबजारको कालिकास्थानबाट उनी अचानक अपहरणमा परे। जतिवेला नेकपा माओवादीको सशस्त्र युद्ध उत्कर्षमा थियो। कालिकास्थानबाट अपहरणमा परेका लामालाई कीर्तिपुरको नयाँबजारमा लगेर गोली हानेर हत्या गरियो, त्यसपछि दासढुंगा सम्बन्धी सबै रहस्य मेटिन पुग्यो। लामाको शंकास्पद हत्याका बारेमा पनि राज्यले विस्तृत विवरण बाहिर ल्याउन चाहेन। जवकि, न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा गठित् छानबिन समितिलाई दिएको बयानमा लामाले मेरो जीवन खतरामा छ भनेका थिए। नभन्दै त्यस्तै ढंगले चालक अमर लामा अर्थात् अमरजंग तामाङ पनि मारिन पुगे।

राणा आयोगको प्रतिवेदनको मूल अंश

मदन भण्डारी र जीवराज आश्रितको दासढुंगा दुर्घटनामा परी मृत्यु भएपछि त्रिलोकप्रताप राणा नेतृत्वको दासढुंगा दुर्घटनासम्बन्धी न्यायिक जाँचबुझ आयोग २०५१ लाई दिएको बयानमा भण्डारी पत्नी विद्या भण्डारीले पनि एमाले विरुद्धको षडयन्त्र भनेकी थिइन्। भण्डारीले जस्तै एमालेको तत्कालीन नेतृत्वले जेठ ३ मा भएको यो घटनालाई देशीविदेशी शक्तिको आडमा भएको षड्यन्त्रपूर्ण हत्या भने पनि न एमालेले गठन गरेको छानबिन आयोगले यसको पुष्टि गर्न सक्यो, न नागरिक आयोगले नै। त्रिलोकप्रताप राणा नेतृत्वको  आयोगले पनि यो रहस्य खोल्न सकेन।

राणा आयोगसमक्ष लामाले नाम अमरजंग तामाङ, उमेर २७ वर्ष, पेसा मजदुरी, घर  तनहुँको भानु गाविस वार्ड नम्बर ८ चामवास, बताएका थिए। प्रहरी सुरक्षामा बयानका लागि उपस्थित भएका लामाले, २०५० साल जेठ ३ गते पोखराबाट नारायणघाटतर्फ आएको बा.अ. च. ८७९२ का पजेरो जीप आफैंले हाँकेको र उक्त जीप दासढुंगामा दुर्घटना भई त्रिशूली नदीमा खसेको उल्लेख गरेका छन्। उक्त पजेरो जीपमा पोखराबाट आउँदा को–को आएका थिए ? लामाले भनेका छन्, मदन भण्डारी, जीवराज आश्रित, ऋषि कट्टेल र म थियौं। उक्त जीप पोखराकै हो कि काठमाडौंबाट ल्याएको हो ? जीपमा  काठमाडौंबाट कोको आएको थियो भन्ने प्रश्नमा लामाले, जीप काठमाडौंबाट ल्याएको। जेष्ठ १ गते पहिले नक्सालबाट केशवलाल श्रेष्ठलाई लिएर महाराजगञ्जमा गई वाचस्पति देवकोटालाई लिई पार्टी अफिस बागबजारमा आई पार्टीको सामान उठाइ जीवराजलाई लिन डल्लु गएको र डल्लुबाट अन्दाजी ९ बजे पोखरा तिर लागेको बताएका छन्।

०४८ सालको संसद्को चुनावपछि भण्डारीको विश्वासिलो चालक बनेका लामा जेठ १ गते पोखरा पुगेर पोखरामा वाचस्पति देवकोटाको डेरामा खाना खाएर हरि पाण्डेको घरमा बास बसेका थिए। यसअघि विश्वबन्धु थापाले प्रयोग गरेको उक्त पजेरो, स्टेरिङ अलि दायाँ तर्फ तानिने र गाडीको स्टेरिङ बक्सको केम बिग्रेको अवस्थामा पोखरा गएको बताएका छन्। आयोगले सोधेको फरक फरक सन्दर्भको प्रश्नमा लामाले भनेका थिए, ‘पोखरा सम्मेलन स्थलमा कुनै विदेशीसँग भेटेको भन्ने कुरो असत्य र झुठ हो। पुष्पज्योति ढुंगानाले र गणेशबहादुर केसी पोखरामा रहँदा मैले कुनै विदेशीसँग भेटेको र नक्सा कोरेर बसेको भन्ने पूर्वाग्रही आरोप लगाएका छन्। यो सत्य हैन। म काठमाडौंबाट पोखरा आउँदा कोरस सांस्कृतिक परिवारले पठाएको गीति क्यासेट आशाको किरण र फूलबारीको कथा, हवाईको व्यथा चक्का बिक्री गर्न केही समय बाहिर निस्केको हो। चिया खाँदा साथीहरूसँग र गाडी बनाउने क्रममा ब्रेक, ह्यान्ड ब्रेकको तार खोज्ने क्रममा वर्कशपहरूमा गएको थिएँ। सम्मेलन सिध्याएर पोखराबाट नारायणघाट भरतपुर आउने समयमा मलाई सामान्य डायरिया भएको थियो, त्यसैले म दीपेन्द्र सभागृहको दायाँतर्फ रहेको ट्वाइलेटमा गएको बेला उहाँहरू हलबाट बाहिर निस्किसक्नु भएको रहेछ, सो अवस्थामा त्यसभन्दा बाहिर म अन्यत्र गएको थिइन। सम्मेलन समाप्त भएपछि जेठ ३ गते अन्दाजी दिउँसो २ बजेतिरको समयमा मदन, जीवराज, ऋषि कट्टेल र म ४ जना चितवनका लागि निस्केका हौं। जीप मैले हाँकेको थिएँँ। बाटोमा एक ठाउँमा गाडीमा रहेको झण्डा खस्न लाग्दा गाडी रोकी झण्डा बाँधेको हुँ। त्यसपछि गाडीमा आउनुभएको कट्टेल आँबुखैरेनीमा झर्नुभयो। त्यसपछि मुग्लिङदेखि अन्दाजी १ किलोमिटर यता नारायणघाटतर्फको स्याउलीबजारमा गाडी रोकेर मदन र मैले चिया पिएका हौं। जीवराजलाई अल्सर भएको हुँदा उहाँले चिया पिउनुभएन। चिया पिएपछि हामी पुन:नारायणघाटतर्फ लाग्यौं। सो दिन पोखरादेखि आउँदा नै भीषण पानी परिरहेको थियो। हामीले चिया खाने ठाउँसम्म पनि पानी पर्न रोकिएको थिएन। सोही पानीको कारण गाडीको सिसामा भित्रपट्टि बाफ बस्ने गर्दथ्यो। दुर्घटनास्थल आइपुग्दा पनि सोही बाफ सिसामा लागिरहँदा मैले आफ्नो अगाडि डेस्कबोर्डमा रहेको रुमालले बायाँ हातले अगाडि सिसाको बाफ आफ्नो र मदन कमरेड अगाडि बाफ पुछ्ने क्रममा गाडी केही दायाँ साइडमा गएको देखें। झस्याङ भएर गाडीलाई सन्तुलनमा ल्याउन बाँया काटें। बायाँ काटेपछि बढी मात्रामा बायाँ काटियो। त्यसपछि गाडी बायाँ बढी काटिएपछि पुन: साइडमा ल्याउन दायाँ काटें। गाडी सन्तुलनमा नआई एक्कासी छेउतर्फ हान्निएर गएपछि पुन: सन्तुलनमा ल्याउन बायाँ काटें। बायाँ काट्दा गाडी एक्कासी भित्तातर्फ मुख भएर पछाडिको भाग थुम्को छेउतर्फ घुम्यो। त्यसपछि गाडी भित्तातर्फ बत्तियो, म आत्तिएँ। ठोकिएला भनी दायाँ काटें। दायाँ काट्दा जति साइडमा आउनु पर्ने हो त्यो नआई हान्निएर भीरतिर गाडी खस्यो। खस्नु अगाडि गाडी असन्तुलित हुँदा मदनले के भो ? के भो ? भनेर सोध्नुभएको थियो।

गाडीलाई सन्तुलनमा ल्याउन लागिरहेको र आफैं पनि निकै आत्तिएको हुँदा उहाँलाई कुनै जवाफ दिन नपाउँदै गाडी भीरतर्फ खस्यो, गाडी भीरतर्फ खसेपछि नदी र सडकछेउको बीच भागनिर एउटा ढिस्कोमा गाडीको मुख बजारियो। गाडी भीरतर्फ खसेपछि मैले आफ्नो साइडको ढोकाको लकमा खोल्न हात के पाएको थिएँ, गाडी बज्रिना साथसाथै म पनि भूईमा खसें। खसेपछि गुल्टिदै तल पाखा बगरमा पुगें। बगरमा पुगी कमरेडहरू कतै हाम फाल्नु भएको छ कि भनी र गाडी कतै अड्कियो कि भनी दायाँबायाँ हेरें, कतै केही थिएन। पछि कमरेड मदनको ब्रिफकेस र मेरो झोला पानीबाट निस्कियो।’

यसरी आयोगले लामासँग यस्ता ६५ वटा प्रश्न गरेर बयान लिएको छ। २५ वटा प्रश्न गर्दा लामाले दुर्घटना हुँदासम्मको घटना बयान गरेका छन् भने त्यसपछि आयोग लामाको शंकास्पद व्यवहारतर्फ केन्द्रित भएको छ। आयोगले गाडी सडकमुनि गुडिरहेको थियो, तपाई हाम्फाल्नु भयो, मदन भण्डारी र जीवराज किन हामफाल्न नसक्ने ? भन्नुहोस्, भनेको छ। जसमा लामाले भनेका छन्: मानिसले पहिले आफूलाई बचाउने प्रयास गर्दछ त्यसपछि मात्र अरुलाई। जहाँसम्म उहाँहरू किन हाम फाल्नु भएन भन्ने प्रश्न छ शायद उहाँहरू पनि आफूलाई बचाउन प्रयासमा हुनुहुन्थ्यो होला। अरु, कि उहाँहरू जानुन् कि भगवान जानुन्।

त्यसपछि २०५१ साल साउन ३० गतेको बयानमा आयोगले: ढोकाको लक, उद्धार कार्यमा नलागी हतारहतार भरतपुरतर्फ आएको विषय, तयारीसाथ नदीमा हाम्फालेको भन्ने आरोप, मुग्लिङबाट वा सुनकोशी होटलबाट घटनास्थल नपुगुञ्जेलसम्म मोटरको अघिपछि कुनै कार, बस, ट्रक, मोटरसाइकल आए नआएको प्रश्न, मोटरको रफ्तार, ना.अ.ख. ६२० नं. ट्रकको खलासीले लामाले चलाएको गाडी पहिले अगाडि रहेको, साइड दिएको, डाईभर फुत्त हामफालेको र जिप नदीमा खसेको भन्ने नागरिक छानबिन आयोगको प्रतिवेदनले उठाएको विषय, मदन भण्डारीको पोशाक, गाडीमा भएको बेल्ट, पोखरामा साबुनको डब्बा किन्दा ‘बाँचियो भने नारायणघाट गई नुहाउँला’ भनेको प्रसंग, सुनकोशी होटलमा चिया खान गाडी रोक्नुको कारण, लामाको सवारी चालक अनुभव, शैक्षिक योग्यता, भाषिक ज्ञान, पारिवारिक झैझगडाको विषय, मोटरमा चढेका एसिया फाउण्डेशन, जाइका र अष्ट्रेलियन एम्बेसीका नागरिकको विवरण, नेकपा (एमाले), मदन भण्डारी र जीवराज आश्रितसँगको सम्बन्ध र घनिष्टता बारे समेत केरकार गरेको थियो।

राणा आयोगको अन्तिम पूरक प्रश्न यस्तो थियो: घटनास्थलमा ३ थुप्रो बालुवा बराबरी दूरीमा र भुसको थुप्रो अर्को ठाउँमा राखिएको देख्नुभयो/भएन ? सो चिनारी भन्दछन् कसो हो ? लामा: उल्लेखित भुस र बालुवाको थुप्रो राखिएको मलाई थाहा छैन। जहाँसम्म त्यहाँ यस प्रकारको भुसको थुप्रो थियो भन्ने कुरा दुर्घटनास्थलकै मानिसहरूबाट निकै समय अगाडि राँगो ल्याउने ट्रकले झारी गएको भन्ने जाहेर भैसकेको छ। थुप्रोको सवालमा मेरो भनाइ यो छ कि बाख्रा हराउनु र बाघ कराउनु भन्ने नेपाली उखानलाई सम्झाउन चाहन्छु।

विद्या भण्डारीको बयान

दुर्घटना लगत्तै गठन भएको त्रिलोकप्रताप राणा नेतृत्वको आयोगलाई भण्डारीले भनेकी थिइन्, ‘यो सुनियोजित र षड्यन्त्रपूर्ण राजनैतिक हत्या हो। किनकि हाम्रो कानमा के कुरा परेको छ भने नेपालको राजनीतिमा राम्रो मानिस टिक्न सक्दैन। मदन भण्डारीको लामो आयु छैन भन्ने हल्ला चलाएको धेरै भयो। आम निर्वाचनको अन्तिमसभा टुँडिखेलको मञ्चमा हुँदा उहाँ जानुअगाडि टेलिफोनमा त्यस्तो चर्को चर्को भाषण गर्ने होइन, छाला टाँगिन्छ भनेको थियो– एक अज्ञात व्यक्तिले। त्यो टेलिफोन मैले उठाएको थिएँ। उहाँले भाषण गरेर फर्केपछि मात्र मैले यो कुरा सुनाएँ। त्यसबेलादेखि नै उहाँको जीवन सुरक्षित छैन भन्ने लागेको थियो, त्यसैले म उहाँलाई निरन्तर सचेत गराइरहन्थें। टनकपुरको विषयमा जुन सडक र सदनमा आन्दोलन भयो, आन्दोलनकारीले सिंहदरबार अगाडि धर्ना दिएको दिन पनि यस्तै फोन आएको थियो। कुनै लोग्ने मान्छेको टेलिफोन थियो। मलाई भाउजू भनेर सम्बोधन गर्‍यो। भाउजू मदन दाइलाई धर्नामा नपठाउनू। त्यहाँ टियर ग्यास र घुँडामुनि गोली हान्ने मात्र होइन, ताकी–ताकी गोली हानिनेछ। पछि तपाईंले पछुताउनु शिवाय केही हुँदैन। तपाई को ? भनेर सोध्दा सेक्रेसी रहँदैन। कृपया मेरो नाम नसोध्नुहोस् क्षेत्रपाटीबाट गरेको भनेका थिए। यो जानकारी मैले उहाँलाई पनि दिएको हो। उहाँले ए फेरि धम्की दिन थालेछन् मात्र भन्नुभयो। टनकपुरको घटनापछि संसद्‌मा मतभिन्नता आइरहेको थियो। यो संसदको दुईतिहाइ मतबाट पारित हुनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो। राष्ट्रिय सहमति हुनुपर्छ भन्ने कुरामा गणेशमानजीहरूको पनि सहमति थियो। गणेशमानजीहरूले मलाई खोजे भने मलाई खबर गर्ने भनी ईश्वर पोखरेललाई जेठ २ गते (०५०) बिहान आफ्नै डेरामा बोलाएर भन्नु भएको थियो। पार्टीको कार्यक्रमको बारेमा कुन दिन कहाँ भनेर हाम्रो बीचमा कुराकानी हुँदैन थियो। ४ गते चितवनमा महिला भेलालाई सम्बोधन गर्ने कुरा मलाई थाहा थियो तर उहाँ ३ गते नै पोखराबाट चितवनतिर आउनुभयो। दुर्घटनाको दिन उहाँहरूको गाडीमा आँबुखैरेनीसम्म ऋषि कट्टेलसँगै हुनुहुन्थ्यो भन्ने सुनेको छु। त्यो गाडी सुरुमा मुग्लिङबाट नारायणघाटतर्फ जाँदा नारायणघाटतर्फ नलागी काठमाडौंतर्फ आएको थियो रे। गाडीमा ठूलो झन्डा थियो। फेरि गाडी, काठमाडौंतर्फ नलागी नारायणघाटतर्फ मोडिएको थियो रे। दासढुंगा पुग्ने केही किलोमिटर वर एउटा ट्रकले त्यो गाडीलाई देखेको रहेछ। ना.अ.ख ६२० को ट्रक डुम्रेबाट नारायणघाटतर्फ गएको त्यसमा ड्राइभर खलासी सहित १०/१२ जना व्यक्ति थिए। त्यो ट्रकलाई पछाडिबाट हर्न दिएपछि ट्रकले बाटो छोडिदियो। जीप अगाडि लाग्यो। त्यो लोडेड ट्रक जीपको पछिपछि दासढुंगासम्म गएको रहेछ। जिप विस्तारै भिरतिर खस्यो र त्यसबाट ड्राइभर हाम्फालेर दुईवटा घुँडा र दुईटा कुहिनाले टेकेर उभिएको ट्रकमा बस्नेहरूले देखेका रहेछन्। घटनापछि वीरेन्द्र झापालीले अमर लामालाई भेट्दा, हामफालेको कुरा बताएको छ तर गाडी स्वाभाविक ढंगले दुर्घटना भएको होइन। किनकि लामा हामफाल्दा उहाँहरू के गरेर बस्नुभयो ? ड्राइभरले हामफाल्दा उहाँहरू पनि हामफाल्न सक्नु हुन्थ्यो। यसमा मेरो सोचाइ उहाँहरूलाई कि त उसले गाडीबाट हामफाल्नु अगाडि मारेको हुनुपर्छ, कि त बेहोस गराएको हुनुपर्छ। एकै ठाउँमा खसेको मोटरभित्रको दुईजना मान्छे दुई बेग्लाबेग्लै ठाउँमा फेला पर्नुभएको छ। यो षडयन्त्र हो।’

रहस्यपूर्ण घटना शृङ्खला

नेपालको राजनीतिक इतिहासमा दासढुंगा दुर्घटना जस्तै रहस्यपूर्ण घटना शृङ्खला लामो छ। दाशढुंगा दुर्घटनाको ८ वर्ष पछि २०५८ साल जेष्ठ १९ जेठ गते राजदरबार हत्याकाण्ड भयो तर हत्याकाण्डको २१ वर्षसम्म पनि उक्त अकल्पनीय हत्याको रहस्य के थियो भन्ने खुलेको छैन। राजदरबार हत्याकाण्ड पछि तत्कालीन सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश लगायत सम्मिलित छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई यो सबै घटनाका लागि जिम्मेवार ठहर्‍यायो तर त्यसमाथि नागरिकले विश्वास गरेनन्। जनस्तरबाट यो हत्याकाण्ड लगत्तै राजगद्दी सम्हाल्न पुगेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र तथा छोरा पारस शाहतर्फ तेर्सिएको आशंका आजसम्म उस्तै छ।

यसपछि श्रीमती विद्या भण्डारीले आयोगलाई दिएको बयानमा लामाले मदन भण्डारी यो देशको राष्ट्रपति बन्ने छन् भन्ने गरेको र यो घटना सामान्य नरहेको उल्लेख गरेकी थिइन। विभिन्न पत्रपत्रिकामा आएको अन्तर्वार्तामा पनि भण्डारीले, आफू चुप लागेर नबस्ने र मदन आश्रितको हत्यारालाई नछाड्ने चेतावनी दिएकी थिइन्। जो अहिले यो मुलुकको राष्ट्रपतिको भूमिकामा छिन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!