कथाः प्रयास

आँखाबाट बलिन्द्र धारा आँसु खसाल्दै प्रयास दन्किरहेको चिताको ज्वालालाई एकटकले हेरिरहेछ। उसकी आमाको कोमल शरीरलाई भष्म तुल्याउँदै छ– आगोले। जताततै धुवाँ उडिरहेछ। उ जेठो छोरो बाह्र वर्षको मात्र भएको छ। जेठो छोरोले दागबत्ती दिनुपर्ने हाम्रो धार्मिक परम्परा रे। हिजोसम्म लाडिँदै थियो आफ्नी आमासँग। आज अचानक तिनैको मुखमा आगो हाल्नु पर्दा उसको मन कस्तो भएको होला। आँखाबाट आँसु झरिरहे पनि उ चुपचाप छ। हिक्का छुटेर पनि थामिइ रहेको छ। पोहोर मात्रै यसैगरी आफ्नो बुबालाई दागबत्ती दिएको थियो– उसले। त्यसबेला उ भक्कानिदै घर गएको थियो। आमाले आफ्नो पीर बिर्सेर उसलाई सम्झाएकी थिइन्। आमाको स्नेहले उसले सजिलै सान्त्वना पाएको थियो तर आज उसको काँधमा जिम्मेवारी थपिएको छ। एकै दिनमा उ परिपक्व वयस्क हुन बाध्य भएको छ। उसका भाइ–बैनीहरू साना साना छन्। के गरोस् बरा! अब तिनका लागि उ बा, आमा दुबै बन्नु छ। आठ वर्षकी बैनी, ६ वर्षकी अर्की बहिनी र दुई वर्षको अर्को भाइको हेरचाह उ आफैंले गर्नुपर्छ।
दाह संस्कारको काम सकेर उ आफन्त जनको सहयोगका साथ घर फर्कियो। घरमा फुपूदिदी फुपाजुले उसका भाइ बैनीलाई हेरचाह गरिदिएका रहेछन्। छर–छिमेकी, अरु आफन्त सबै मिलेर उसलाई छुट्टै बस्ने व्यवस्था मिलाइ दिइसकेका रहेछन्।परालमाथि सेतो तन्ना कसेर बनाइएको सानो ओछ्यानतर्फ इशारा गर्दै पुरोहितले भने ‘बाबु प्रयास! तिम्रो त्यो सुत्ने ठाउँ।’ उ केही नबोली निर्दिष्ट ठाउँमा गएर बस्यो। अनिता र अम्बु उसका बहिनीहरू दौडँदै दाइ नजिक आउँदै थिए, फुपूदिदीले समाइहालिन् र भनिन्– दश दिनसम्म तिमीहरूले दाइलाई छुन हुन्न बुझ्यौ। त्यता नजानु नि।’
‘किन र फुपु ?’ आठ वर्षीया अनिताले सोधी।
‘उ आमाको किरिया बसेको। किरियाको काम नसिद्धिएसम्म तिमीहरूले छुन हुन्न। बुझ्यौं ?’
‘के हाम्रो आमा पनि आकाशमा जानु भो ? बुबालाई भेट्न ?’ ’हो बा हो! अब तिम्री आमा कहिले फर्केर आउन्नन्।’ फुपु दिदी आफ्नो आँसु पुछ्दै ती भदैहरूलाई सम्झाउन लागिन्। अनिता र अम्बु दुबै डाको छोडेर रुन थाले। हामी पनि जाने बुबा आमालाई भेट्न …।’
निकै बेरको रुवाबासी पनि बल्ल बल्ल ती बालबालिकाहरू चुप लागे। जुनसुकै पीडा पनि समयरूपी मलमले साम्य पार्दै लान्छ भने भैंm उनीहरू पनि विस्तारै सम्हालिदै गए।
तेह्रदिनको काम पनि सकियो। विस्तारै मानिसहरूको आवत जावत कम हुँदै गयो। फुपू र फुपाजुले करीब दुई महिना जति त ती बाल बालिकालाई हेरचाह गरिदिए। त्यसपछि उनीहरू पनि आफ्नो घर जान लागे। जाने बेलामा फुपू दिदीले भनिन्– बाबु प्रयास अब तँ जेठो बाठो छोरो तैँले नै यिनीहरूलाई हेर्नु पर्छ के गर्छस् हामी पनि आफ्नो घर नगई भएन। मेरा पनि घर व्यवहार छ, तीन तीन जना केटा केटी छन्। अहिले पो केहि दिनलाई यस्तो आपत पर्ययो भनेर देवर देउरानीले हेरिदिया छन्। सँधै हेर्दैनन्।
‘ठीक छ फुपू जानुहोस्– म हेरिहाल्छु नि।’ प्रयासले जवाफ दियो।


आमाको स्नेहले उसले सजिलै सान्त्वना पाएको थियो तर आज उसको काँधमा जिम्मेवारी थपिएको छ। एकै दिनमा उ परिपक्व वयस्क हुन बाध्य भएको छ। उसका भाइ–बैनीहरू साना साना छन्। के गरोस् बरा ! अब तिनका लागि उ बा, आमा दुबै बन्नु छ।


‘यी दुइटी त हुर्केका छन् त्यो सानो विपिनलाई कसरी हेर्लास्। केही महिना म लैजाऊँ त त्यसलाई?’ फुपूदिदीले सोधिन्।
‘पर्दैन दिदी ! अब यिनीहरूको जिम्मा मेरो भयो। म जसरी भए पनि हेर्छु। केही सहयोग चाहियो भने हजुरलाई भनौला।’ प्रयासको मुखमण्डलमा आफूप्रति दृढ विश्वास थियो।
‘लौ त बाबु, ल है नानीहरू पछि फेरि आउँला’ भन्दै आँखाभरि आँसु लिएर फुपू–फुपाजु आफ्नो बाटो लागे।
प्रयासको संघर्ष शुरु भयो। गाउँघरको ठाउँ, भीर पाखा हिँडेर स्कूल जानु पर्ने। सानी बैनी एक कक्षामा, ठूली बैनी अनिता तीन कक्षामा पढ्छन्। प्रयास छ कक्षामा पढ्छ तर अब उसको अगाडि ठूलो चुनौती खडा भएको छ। दुई वर्षे भाइलाई के गर्ने कहाँ राख्ने उसको स्कूल जाने बेला भएको छैन। प्रयासले भाइलाई समेत बोकेर स्कूल गयो। स्कूलमा पुगेर उसले आफ्नो कक्षा शिक्षक मीस शारदालाई विन्ती गर्दै भन्यो। ‘मीस मेरो भाइलाई घरमा हेर्ने कोही छैन। बुबा आमा दुबैजना बितिहाल्नु भयो। हजुरलाई थाहा छँदैछ। म भाइलाई पनि स्कूलमा ल्याउछु है।’ प्रयासको विनयपूर्ण व्यवहार देखेर मीसलाई पनि दया आयो र उनले भनिन्– ‘पख म प्रीन्सिपलसँग कुरा गर्छु अनि मात्र भन्न सक्छु।’
प्रयास भाइलाई बोकेर कक्षा बाहिर उभिरहेको थियो। उसका बहिनीहरू अनिता र अम्बु आ–आफ्नो कक्षामा गैसकेका थिए।
एकछिन पछि शारदा मीस र प्रिन्सिपल सर उसको नजिक आउनु भयो। प्रिन्सिपल सरलाई देखेर प्रयासले नमस्कार गर्‍यो।
प्रिन्सिपलले भन्नु भयो– ‘हेर प्रयास ! नियम अनुसार त यसरी बच्चालाई स्कूलमा ल्याउन मिल्दैन। कैले काहीं बेग्लै कुरा हो तर सँधै कसरी साध्य हुन्छ ? हामीले एउटा कुरा सोचेका छौं।
‘के सर ?’ प्रयासले जिज्ञासु हुँदै सोध्यो।
कक्षाकोठाहरू सफा गर्ने दिदी छन् नि गायत्री, हो उनको कोठा यही स्कूल हाताभित्र छ। तिमीले त देखेकै छौ नि प्रयास।
‘छ सर !’
‘उनले तिम्रो कक्षा हुञ्जेल हेरिदिन्छिन्। बिहान कक्षाहरू सफा गरेपछि उनको केही काम हुन्न्। तिम्रो भाइलाई हेर्न लगाइदिउँला। स्कूल छुटेपछि तिमीले लिएर जानु आफ्नो भाइलाई।’
‘गायत्री दिदीले मान्छिन् त सर ?’
त्यसको तिमी चिन्ता नगर, म कुरा गर्छु।
‘सर हजुरलाई कोटिकोटि धन्यवाद !”
सबैलाई यस्तो गर्न सकिदैन तिमी मान्छे सज्जन र पढाइमा पनि राम्रो छौ। त्यस्तो मान्छेलाई यस्तो ठूलो आपद पर्‍यो त्यसैले हो। बुझ्यौ ?
बुझेँ सर !


तिमी के बन्ने इच्छा छ ? भन्ने प्रश्न सबै विद्यार्थीहरूलाई सोधिदै थियो। कसैले शिक्षक बन्ने भने कसैले डाक्टर कसैले नेता, कसैले के। प्रयासलाई सोही प्रश्न सोधिय। उसले जवाफ दियो ‘मेरो लक्ष्य एउटा आश्रम खोल्ने छ।’
आश्रम ? ऐले जवानीमै जोगी हुन लाइस्, के हो यार यस्तो ? भन्दै सबै गल्लल हाँसे।


अर्को वर्ष त नर्सरी कक्षामा तिम्रो भाइ भर्ना भइ हाल्छ नि।
प्रयास प्रिन्सिपलको कुरा सुनेर अत्यन्त खुशी भयो। अब उसलाई भाइको चिन्ता भएन।
अब प्रयास सँधै आफ्नो सानो भाइलाई समेत स्कूल लिएर जान थाल्यो। भाइ पनि दाइ र दिदीहरूसँग स्कूल जान पाएर खुशी थियो।
दिन बित्दै गयो। आमाले जगेर्ना गरेर राखेको अन्नपात विस्तारै सिद्धिदै गयो। खेत बारीका तरकारीहरू पनि दिनदिनै खाँदा–खाँदै सिद्धिदै गए।
एक दिन अनिताले भनी– ‘दाइ टिनको चामल त सबै सकियो अब के गर्ने? हामीले के खाने ?’
प्रयासले भन्यो ‘तिमीहरू धन्दा नमान। म केही गर्छु। भाइलाई हेरेर बस है भन्दै उ बाहिर गयो। पल्लो घरमा गएर छिमेकी ठूलीआमालाई बोलायो।
ठूली आमा ! ए ठूली आमा !
को हँ ? ठूली आमा आफ्नो घरको ढोकाबाट बाहिर निस्किन्। ए प्रयास पो ! के भो ? किन बोला बाबु ?
ठूली आमा ! भात पकाउनलाई एक गेडो चामल रहेनछ, अलिकति दिनु हुन्छ कि भनेर ।
‘पख।’ ठस्स पर्दै ठूली आमा भित्र गइन् र एउटा भाँडोमा अन्दाजी दुई किलो जति चामल लिएर आइन्।
ल लैजाउ ! यतिले त अलिदिन पुग्ला नि त।
‘हस् पुगि हाल्छ नि । धन्यवाद ठूली आमा ! भन्दै प्रयास घरतिर लाग्यो।
अनिताले बारीबाट सागका केही पातहरू टिपेर केलाउदै थिई। प्रयासले चामल लिएर आएको देखेर उ खुशी हुँदै भनी– ‘दाइ एक दुई दिन त यसले पुग्छ अनि ?’
‘पछि केइ गरुँला।’ प्रयासले जवाफ दियो।
दाजु बैनी मिलेर खाना पकाए अम्बूले भाइ हेरी। त्यसपछि सबैजनाले खाए।
दिन यसरी बित्दै गयो। कहिले कसको कहिले कसको घरबाट खाध्यान्न मागेर गुजारा गर्दै गए।
छिमेकीहरू प्रयास र अनितालाई देखे कि उ फेरि माग्न आए। कति यी अनाथहरूलाई पाल्नु पर्ने हो भन्दै ठस्किन थाले। एकदिन प्रयासले यो कुरा सुन्यो। उसलाई साह्रै दुःख लाग्यो। अनि उ आफ्नो स्कूलको शारदा मीस कहाँ गयो र आफ्नो दुःख पुकार गर्‍यो। बिहान बेलुकी कुनै काम पाइन्छ कि भनी सोध्यो।
शारदा मीसले आफ्नो घरको भाँडा माझ्ने काममा उसलाई भर्ना गरिन्। अर्को शिक्षक रामदेवको घरमा गएर गाई दुहिदिने काम पनि पायो। प्रयासले दिउँसो स्कूल विहान र बेलुका काम गर्दै गरेर भाइ बैनीहरूको पेट पाल्न थाल्यो। बैनी अनिताले खाना बनाउने अम्बूले दिदीलाई सघाउने र भाइलाई हेर्ने काम गर्न थाली। यसरी संघर्षमय जीवन बिताउन थाले ती केटाकेटीहरूले।
प्रयास कक्षा दशमा पु¥यो। सोह्र वर्षको जवान भरखर जुँगाको रेखी बसेको गहुँ–गोरो, गठिलो जीउ र ठिक्कको उचाइ भएको प्रयास पढाइमा झन् अब्बल हुँदै गयो। उसकी बैनी अनिता र अम्बू पैला दोस्रा नभए पनि पढाइमा रामै्र थिए। अनिता सात कक्षामा पुगि अम्बू पाँच कक्षामा पुगि। सानो भाइ विपिन दुई कक्षामा पुग्यो।
कक्षा दशमा उद्देश्य र लक्ष्यको बारेमा नेपाली विषयमा चर्चा भैरहेको थियो।
तिमी के बन्ने इच्छा छ ? भन्ने प्रश्न सबै विद्यार्थीहरूलाई सोधिदै थियो। कसैले शिक्षक बन्ने भने कसैले डाक्टर कसैले नेता, कसैले के। प्रयासलाई सोही प्रश्न सोधियो। उसले जवाफ दियो ‘मेरो लक्ष्य एउटा आश्रम खोल्ने छ।’
आश्रम ? ऐले जवानीमै जोगी हुन लाइस्, के हो यार यस्तो ? भन्दै सबै गल्लल हाँसे।
‘नहाँस ! पहिले उसको कुरा त सुन।’ शिक्षकले भने।
प्रयासले भन्यो ‘म अनाथ बालबालिकाको लागि आश्रम खोल्न चाहन्छु जहाँ म र मेरा भाइबैनी जस्ता अनाथ बाल बालिकाले आश्रय पाउन्। अनाथ हुँदा, अभिभावकविहीन हुँदा कस्तो हुँदो रै छ भन्ने कुरा मैले अनुभव गरेको छु। म उनीहरूको अभिभावक बन्न चाहन्छु। उसको कुरा सुनेर कक्षाको वातावरण एकदमै शान्त भयो। त्यो मौनतालाई तोड्दै एकछिनपछि सरले भन्नु भयो ‘अत्यन्त घतलाग्दो कुरा गर्‍यौ प्रयास तिमीले, उचित विचार ! तिम्रो कामना पूरा होस् !’
प्रयास एसईई परीक्षामा उच्च अंकमा उत्तीर्ण भयो। यसै गरी बाह्र कक्षा पनि पार गर्‍यो उसले। उच्च शिक्षा हासिल गर्न त्यस गाउँमा कुनै कलेज थिएन। उ आफ्ना भाइ, बैनीलाई लिएर काठमाडौं आयो। शहरको चहल पहल देखेर सबै रमाए। जीवन धान्न कठीन संघर्ष झन् गर्नु पर्ययो । बल्ल बल्ल टोखामा एउटा कोठा भाडामा लिएर बस्यो। प्रयासलाई गाउँघरको पढाइ र शहरको पढाइमा धेरै भिन्नता हुँदोरहेछ भन्ने लाग्यो किनभने उसले सरकारी स्कूलमा आफ्ना भाइ बैनीलाई भर्ना गर्न खोज्दा पढाइको स्तरले गर्दा सबैलाई एक एक कक्षा तल झार्नु पर्‍यो। त्यहाँ नुवाकोटमा पनि सरकारी स्कूल यहाँ शहरको पनि सरकारी स्कूल तर उसले ठूलो अन्तर पायो।
गाउँको घर बाहेक खेतबारी सबै बेचेर उ शहर पसेको थियो। चारैतिर धाउँदा धाउँदै बल्ल बल्ल उसले एउटा जागिर पायो। बैनी अनिता र अम्बूले पनि बिहान एक समय अरुको घरमा घरेलु धन्दा गर्ने काम पाए।
समय बित्दै गयो। प्रयासको दृढ संकल्प र अथक परिश्रमबाट उसले एउटा फ्ल्याट लिएर बस्न थाल्यो। त्यही तीन कोठाको फ्ल्याट मध्ये ठूलो चाहिँ कोठामा ‘मेरो प्रयास’ अनाथ बाल आश्रम लेखेर ढोका माथि टाँस्यो। केही दिन अगाडि उसले सडकमा दुई जना बालबालिकालाई फाटेको लुगा लगाएर माग्दै हिँडेको देखेको थियो। तीनै बालकहरूलाई सोधपुछ गरी आफूले लिएर आयो र सोही कक्षमा राख्यो। तिनकै स्याहार, सम्भार गर्न थाल्यो। उसले आफ्नो पढाइ पूरा गरेन तर आफ्ना भाइ बैनीलाई उच्च शिक्षा दिलायो। ती भाइ बैनीहरू ठूला नाम चलेका प्रोजेक्ट, अफिसमा काम गर्न थालिसके। प्रयास भने दिन दिनै अलपत्र परेका सडक बाल बालिकाहरूलाई खोज्दै ल्याउँदै गरेर आफ्नो आश्रममा राख्न थाल्यो। तिनका खाना, कपडाको खर्च पुर्‍याउन, उसकै भाइ बैनीहरूले आफ्ना तलबका केही अंश प्रयासलाई बुझाउने गर्थे। प्रयासले आफूले कमाएको रकम आफ्नो निजी आवश्यकताको लागि चाहिने जति राखेर अरु सबै तीनै अनाथहरूका लागि कोश खडा गरी बैङ्कमा राखि दियो। अनाथ बालबालिकाहरू दिन प्रतिदिन बढ्दै गए।
हाल उसको आश्रममा दश जना अनाथहरू छन् तर अहिलेसम्म उसले आफ्ना भाइ बैनी र आफूबाहेक अरु कसैसँग पनि आर्थिक सहयोग लिएको छैन।
प्रयासले ती दशै जना बालबालिका सबैलाई सरकारी स्कूलमा भर्ना गरिदिएको छ। स्कूल सकिएपछि तिनका दैनिक गृह कार्यमा सघाउने, सर सफाइ, पकाइ तुल्याई तथा अन्य सानातिना व्यावसायिक तालिम दिने काम पनि प्रयास र उसका भाइ बैनीले समय निकालेर गर्न थाले।
प्रयासले तिनीहरूलाई आफ्नो कथा सबै सुनाउँदै प्रतिवद्ध गरायो कि ती बाल बालिकाले जब आफू सक्षम हुन्छन् तब यो आश्रमको लागि आफूले कमाएको रकमको पच्चीस प्रतिशत आर्थिक सहयोग गर्नु पर्नेछ। यदि सकिन्छ भने यस्तै अर्को आश्रम खोलेर उद्धार अभियान शृङ्खला नै शुरु गर्न पनि सकिन्छ।
अहिलेसम्मको प्रयास सफल हुँदै गएकोमा र यस्तै प्रयासले भविष्यमा सक्षम कर्णधारहरू उत्पादन भई समृद्ध समाज निर्माण भएको कल्पना गरेर सन्तुष्ट भयो ।

इन्दु पन्त |  शनिबार ०७:१२ | साहित्य/कला/संस्कृति

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!