समाचार

सामूहिक भक्तिगान गर्दै मनाइयो मिथिलामा झुला पर्व

By अर्जुन भट्टराई

महोत्तरी । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ  ।


१३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिकरूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एक प्रकारको कलात्मक पिङ)मा भुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन् ।

साउन शुक्लपक्ष लाग्नु अघि मुख्यबाली धान रोपाइँ सकेका किसान तथा अन्य पेशाका सर्वसाधारण आफ्नो बस्ती नजिकका मठमन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै नाच्छन् । झुलाउत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । साउन पूर्णिमाको मध्यरातमा झुला झुलाइने रेशमको डोरी छिनाएर यो पर्व सम्पन्न गरिन्छ ।

झुलाउत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर एवं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ । साउनको पनि पछिल्लो शुक्लपक्ष मिथिलामा मुख्यबाली धान रोपेर सकिएपछिको समय हुन्छ । यतिखेर किसान मन्दमन्द पानी परिरहोस् भन्ने कामना गर्छन् । यसैबेला धानको रोपो हरियो फेरिएर लहलहाएको दृश्यले किसान आफ्नो मिहेनतप्रति मख्ख पर्छन् । प्रकृतिले जताततै सुन्दरता बिगारेको यो बेला रमाउन नै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना इष्ट देवदेवी  राम, कृष्ण एवं सीता, राधासँग खेलेको अनुभूति सँगाल्न झुलापर्वमा रमाउने गरेका मैथिल परम्परा र संस्कृतिका जानकार बताउँछन् ।

मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रशन्न गराउनु पर्ने मैथिल परम्परा अनुसार साउन शुक्लपक्षका पछिल्ला १३ दिन यो पर्व विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गराएको लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णव बताउँछन्  ।

जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिएको हीरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

पर्वभरि मटिहानी र जनकपुरधाम आसपासका मठमन्दिरबाट देवदेवी प्रतिमा झुलाका लागि जम्मा पारिन्छन् । एक ठाउँलाई मुख्य केन्द्र बनाएर यो पर्व मनाउने परम्परा छ । महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ । जहाँ लक्ष्मीनारायण मठमन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा भुलाइन्छ । मटिहानीमा नेपाल–भारतका गरी दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइने चलन छ । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् । यो मिथिलाको परम्परासँग जोडिएको खास सांस्कृतिक पर्व रहेको लोकसंस्कृतिका अध्येता डा राजेन्द्रप्रसाद विमलले जानकारी दिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.