समाचार

श्रीमती र छोरा  द्वारा ४२ वर्षीय पुरुषको हत्या

By अर्जुन भट्टराई

दाङ : दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसमा एक जनाको हत्या भएको छ।मंगलबार बेलुकी करिब ८ बजे ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चन्द्रा रेशमकी श्रीमती हुन् भने शिवराज जेठा छोरा हुन्। घरायसी विवादमा आमाछोरा मिलेर रेशमको हत्या गरेको देखिएको दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए।

घटनाबारे स्थानीय बासिन्दाबाट खबर पाएपछि राती ११ बजे घटनास्थल पुगेको प्रहरीले मृतककी श्रीमती चन्द्रालाई घरबाटै पक्राउ गरेको थियो। बाबुको हत्या गरेपछि घरबाट भागेका शिवराजलाई पनि प्रहरीले मध्यराति पक्राउ गरेको छ।

मृतक रेशमको शव पोस्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.