काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटलाई सन्तुलनमा ल्याउने काम भइरहेको बताएका छन् ।
बिहीबार प्रदेशको सामाजिक बिकास मन्त्रालयले बिराटनगरमा आयोजना गरेको लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि कार्यक्रमका बोल्दै उनले यसअघि बजेट निर्माण गर्दा जानेर वा नजानेर गल्ती भएको भन्दै अहिले सन्तुलनमा ल्याउने काम भइरहेको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको संरचना र पूर्वाधार निर्माणमा अत्यधिक समय र साधन श्रोत खर्चिनुपर्ने अवस्था भएकाले लैंगिक उत्तरदायी बजेट निर्माण हुन नसकेको बताए ।
लैंगिक रुपान्तरणका लागि लैंगिक उत्तरदायी बजेट ल्याउने कुरामा प्रदेश सरकार सचेत रहेको उनले बताए ।
त्यस्तै कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले महिला अधिकार सुनिश्चित गर्न महिलाको नेतृत्व अपरिहार्य रहेको धारणा राखे । पूर्वसचिव कृष्णहरी बास्कोटाले लैंगिक उत्तरदायी बजेट ल्याउने कार्य २०६४ सालको बजेटबाट शुरु भएको र यसबाट मुलुकको दिगो विकास सूचकांक सुधार गर्न प्रभावकारी भूमिका खेल्ने बताए ।
