आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा प्रदान गरेका कर छुट तथा सुविधाहरू 

सारांश :

आर्थिक विधेयक, २०८२ ले विभिन्न क्षेत्रमा कर छुट तथा सुविधाहरू प्रदान गरेको छ। यस विधेयकले विशेष गरी ढुवानी सेवा प्रदायक, अवकाश कोषमा योगदानकर्ता, सामाजिक संस्थाहरू, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्त:शुल्कका करदाताहरू, अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक र पुराना सवारी साधन धनीहरूलाई लक्षित गरेको छ। यस लेखमा आर्थिक विधेयक, २०८२ द्वारा प्रस्तावित प्रमुख छुट तथा सुविधाहरूको विस्तृत चर्चा गरिएको छ।

१. ढुवानी साधनको भाडा खर्च कट्टी सम्बन्धी विशेष व्यवस्था (दफा २२)

आर्थिक वर्ष २०७८/७९, २०७९/८० र २०८०/८१ मा स्थायी लेखा नम्बर (PAN) नभएका प्राकृतिक व्यक्तिहरूबाट ढुवानीका साधन भाडामा लिई भुक्तानी गर्दा आयकर ऐन, २०५८ को दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ङ) बमोजिम अग्रिम कर कट्टी गरी भुक्तानी गरेको भए स्थायी लेखा नम्बर उल्लेख भएको बीजलक नभए पनि सो भाडा बापतको रकम सम्बन्धित आय वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाइनेछ। यो व्यवस्थाले साना ढुवानी व्यवसायीहरूलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

२. अवकाश योगदान बापतको रकम हस्तान्तरण सम्बन्धी विशेष व्यवस्था (दफा २३)

क. अवकाश कोषको आबद्धता: आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू २०८३ साल आषाढ मसान्तभित्र कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम स्थापित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापित नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापित सामाजिक सुरक्षा कोष वा निवृत्तिभरण कोष ऐन, २०७५ बमोजिम स्थापना भएको निवृत्तिभरण कोषद्वारा सञ्चालित अवकाश कोषमा अनिवार्य रूपमा आबद्ध हुनुपर्नेछ।

ख. रकम हस्तान्तरणमा कर छुट: उपदफा (१) बमोजिमको आबद्धताको क्रममा साविकको अवकाश कोषमा योगदानकर्ताले जम्मा गरेको अवकाश योगदान तथा सोमा थप भएको एकमुष्ट रकम सोही अवधिभित्र तोकिएको कोषमा हस्तान्तरण भएमा त्यसरी हस्तान्तरण गरिएको रकम आयकर ऐन, २०५८ को दफा ८८ बमोजिम अग्रिम करकट्टी गरिने छैन। यसले अवकाश कोषको व्यवस्थापनलाई एकीकृत गर्न र योगदानकर्ताहरूलाई सहजता प्रदान गर्न मद्दत गर्नेछ।

३. सामाजिक संस्थालाई लाग्ने कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिन्हा सम्बन्धी विशेष व्यवस्था (दफा २४)

संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका सामुदायिक अस्पताल वा स्वास्थ्य संस्था वा यातायात सम्बद्ध संघ संस्थाहरूलाई सम्बन्धित कर कार्यालयबाट २०८२ साल जेठ १५ गतेभन्दा अघि मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र सालिन्दा आर्थिक ऐन बमोजिम लाग्ने कर निर्धारण वा संशोधित कर निर्धारण भई बक्यौता रहेकोमा त्यस्तो करदाताले निर्धारित कर २०८२ साल पुस मसान्तभित्र दाखिला गरेमा बाँकी ब्याज, शुल्क, थप दस्तुर र जरिवाना मिन्हा हुनेछ। यसले सामाजिक संस्थाहरूलाई आर्थिक भार कम गर्न सहयोग पुर्याउनेछ।

४. मूल्य अभिवृद्धि करको जरिवाना, थप दस्तुर र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था (दफा २५)

क. बक्यौता भुक्तानीमा छुट: मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम दर्ता भएका करदाताले २०८१ साल चैत्र मसान्तसम्मको आफ्नो बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण, सो विवरण बमोजिमको कर र ब्याजको पच्चीस प्रतिशत रकम २०८२ साल पुस मसान्तसम्ममा बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुनेछ।

ख. विवरण बुझाई कर दाखिलामा छुट: मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०८१ साल चैत्र मसान्तसम्मको आफ्नो बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण बुझाई कर दाखिला गर्न मात्र बाँकी रहेको करदाता समेत बक्यौता कर र विलम्ब शुल्कको पच्चीस प्रतिशत रकम २०८२ साल पुस मसान्तसम्ममा बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुनेछ।

५. अन्त:शुल्कको जरिवाना र विलम्ब शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था (दफा २६)

क. अन्त:शुल्क र विलम्ब शुल्कमा छुट: अन्त:शुल्क ऐन, २०५८ को दफा १०क. बमोजिम अन्त:शुल्क निर्धारण र असुल गर्नुपर्ने दायित्व भएको इजाजतपत्रवालाले २०८१ साल चैत्र मसान्तसम्मको आफ्नो बुझाउनुपर्ने अन्त:शुल्क विवरण, सो विवरण बमोजिम बुझाउनुपर्ने अन्त:शुल्क रकम र विलम्ब शुल्कको पचास प्रतिशतले हुन आउने रकम २०८२ साल पुस मसान्तसम्ममा बुझाएमा सोमा लाग्ने जरिवाना र बाँकी विलम्ब शुल्क मिनाहा हुनेछ।

ख. विवरण बुझाई अन्त:शुल्क दाखिलामा छुट: अन्त:शुल्क ऐन, २०५८ बमोजिम २०८१ साल चैत्र मसान्तसम्मको आफ्नो बुझाउनुपर्ने अन्त:शुल्क विवरण बुझाई अन्त:शुल्क दाखिला गर्न मात्र बाँकी रहेको इजाजतपत्रवाला समेत बक्यौता अन्त:शुल्क र विलम्ब शुल्कको पचास प्रतिशत रकम २०८२ साल पुस मसान्तसम्म बुझाएमा अन्त:शुल्क ऐन, २०५८ बमोजिम लाग्ने जरिवाना र बाँकी विलम्ब शुल्क मिनाहा हुनेछ।

६. अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक तथा हवाई टिकट बिक्री गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर छुट सम्बन्धी व्यवस्था (दफा २७)

क. सेवा प्रदायकलाई छुट: मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम दर्ता हुन बाँकी रहेको अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक मूल्य अभिवृद्धि करमा दर्ता भई २०८० साल कार्तिक १ गतेदेखिको कारोबारमा सङ्कलन गर्नुपर्ने वा गरेको मूल्य अभिवृद्धि कर २०८२ साल असोज मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने ब्याज, जरिवाना, थप दस्तुर मिनाहा हुनेछ।

ख. टिकट बिक्री गर्ने व्यक्तिलाई छुट: मूल्य अभिवृद्धि करमा दर्ता भएको वा नभएको अन्तर्राष्ट्रिय हवाई टिकट खरीद बिक्रीको कारोबार गर्ने व्यक्तिको हकमा २०८० साल कार्तिक १ गतेदेखिको कारोबारमा सङ्कलन गर्नुपर्ने वा गरेको मूल्य अभिवृद्धि कर २०८२ साल असोज मसान्तसम्ममा दाखिला गरेमा लाग्ने ब्याज, जरिवाना, थप दस्तुर बुझाउनुपर्ने छैन। साथै, २०८० साल कार्तिक १ गते अघिको बुझाउनुपर्ने कर, ब्याज, जरिवाना र थप दस्तुर समेत मिनाहा हुनेछ।

७. आय विवरण पेश नगरेको अवस्थामा कर निर्धारण भएका करदाताहरूलाई छुट दिन सम्बन्धी व्यवस्था (दफा २८)

क. आय विवरण पेश गर्ने सुविधा: आय विवरण पेश नगरेका व्यक्तिलाई आयकर ऐन, २०५८ को दफा १०१ बमोजिम विगतमा सम्बन्धित कर कार्यालयबाट कुनै आय वर्षको लागि संशोधित कर निर्धारण गरिएकोमा संशोधित कर निर्धारण पश्चात त्यस्तो व्यक्तिले आफ्नो बुझाउनुपर्ने सो आय वर्षको आय विवरण दाखिला गरी सो अनुसारको कर रकम बुझाइसकेको भए वा आय विवरण बुझाउन बाँकी रहेको भएमा समेत २०८२ साल पुस मसान्तभित्र आय विवरण बुझाई सो अनुसारको कर दाखिला गर्न सक्नेछ।

ख. कर परीक्षण र पुनः संशोधित कर निर्धारण: उपदफा (१) बमोजिम प्राप्त भइसकेको वा हुने आय विवरणको सम्बन्धमा सम्बन्धित कर कार्यालयबाट २०८३ साल आषाढ मसान्तभित्र कर परीक्षण गरी पुनः संशोधित कर निर्धारण गर्न सकिनेछ। त्यस्तो अवस्थाको कर निर्धारणमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २० को उपदफा (४) र आयकर ऐन, २०५८ को दफा १०१ को उपदफा (३) बमोजिमको हदम्याद लाग्ने छैन।

ग. पुरानो आदेशको कार्यान्वयन नहुने: उपदफा (१) बमोजिम दाखिला भएको कर विवरण सम्बन्धमा उपदफा (२) बमोजिम परीक्षण गरी पुनः संशोधित कर निर्धारण गरिएकोमा बाहक कार्यालयबाट साविकमा गरिएको संशोधित कर निर्धारण आदेश कार्यान्वयन गरिने छैन।

८. नेपालमा विद्युतीय सेवा प्रदान गर्ने नेपाल बाहिरको व्यक्तिको सम्बन्धमा विशेष व्यवस्था (दफा २९)

नेपालमा विद्युतीय सेवा प्रदान गर्ने नेपाल बाहिरको व्यक्तिले आर्थिक ऐन, २०८१ को दफा १६ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १०ख.१. बमोजिम दर्ता भई सो बमोजिमको कर परिपालना गर्ने व्यक्तिको हकमा आयकर ऐन, २०५८ को दफा २ को खण्ड (कघ) को उपखण्ड (५) को व्यवस्था लागू हुने छैन। यसले विद्युतीय सेवा प्रदायकलाई थप स्पष्टता प्रदान गर्नेछ।

९. आयकरको ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था (दफा ३०)

आयकर ऐन, २०५८ को दफा ५७ को उपदफा (१) बमोजिम स्वामित्व परिवर्तन भई कर निर्धारण भइसकेको बासिन्दा निकायको हित रहेको नेपालको अर्को बासिन्दा निकायलाई सो स्वामित्व परिवर्तनको आधारमा संशोधित कर निर्धारण भई बक्यौता रहेको भएमा त्यस्तो निकायले २०८२ साल आषाढ मसान्तसम्ममा निर्धारित कर रकम दाखिला गरेमा त्यस्तो संशोधित कर निर्धारण बमोजिमको ब्याज र शुल्क मिनाहा हुनेछ।

१०. सार्वजनिक तथा निजी सवारी साधनको आयकर मिनाहा सम्बन्धी विशेष व्यवस्था (दफा ३१)

बीस वर्षभन्दा पुरानो वा सञ्चालनमा आउन नसकेका सार्वजनिक वा निजी सवारी साधनको लगत कट्टा गर्ने प्रयोजनको लागि आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को आयकर २०८२ साल पुस समान्तभित्रमा बुझाएमा आर्थिक वर्ष २०८१/८२ भन्दा अघिको आयकर तथा ब्याज मिनाहा हुनेछ। यसले पुराना तथा असञ्चालित सवारी साधनहरूको व्यवस्थापनमा सहजता ल्याउनेछ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!