काठमाडौं, जेठ १० । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुद्ध धर्मसँग सम्बन्धित पर्यटनको प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाललाई प्रमुख बौद्ध पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए।
उनले बुद्धको जन्मभूमि लुम्बिनीसहित तिलौराकोट, रामग्राम, बौद्ध र स्वयम्भूजस्ता पवित्र स्थलहरूको महत्वलाई विश्वसामु उजागर गर्नुपर्ने आवश्यकता औँल्याए। ढकालले यस मार्टले नेपाली बौद्ध पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने र पर्यटकहरूको लुम्बिनीमा बसाइ लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले सन् २०१९ देखि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा सुरु भएको BITM लाई अझ सशक्त ब्रान्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
छिमेकी मुलुकका ठूलो बौद्ध जनसंख्यालाई आकर्षित गर्न नेपालका बौद्ध स्थलहरूलाई भारतका तीर्थस्थलहरूसँग जोड्ने ‘बुद्धिस्ट सर्किट’ निर्माणको आवश्यकता पनि उनले औँल्याए। “यदि हामीले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई कम्तिमा एकपटक लुम्बिनी भ्रमण गर्न प्रोत्साहित गर्न सक्यौँ भने यसले नेपालको पर्यटन क्षेत्रमा कायापलट ल्याउन सक्छ,” ढकालले भने।
अध्यक्ष ढकालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा देखिएको ढिलाइ र कनेक्टिभिटीका समस्याहरूप्रति चिन्ता व्यक्त गर्दै हवाई भाडामा लाग्ने भ्याट हटाउनुपर्ने माग गरे। उनले नेपाल पर्यटन बोर्डको भूमिकालाई सुदृढ गर्न, नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउन र अन्तर्राष्ट्रिय बैठक तथा सम्मेलनका लागि आउने प्रतिनिधिहरूका लागि अध्यागमन प्रक्रिया सहज बनाउन सरकारसँग आग्रह गरे।
अध्यक्ष ढकालले होटल, रिसोर्ट र केबलकार परियोजनाहरूमा विदेशी लगानीकर्ताहरूलाई अवसर खोज्न आह्वान गर्दै निजी क्षेत्र अन्तर्राष्ट्रिय साझेदारीका लागि तयार रहेको बताए।