हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल बिद्यालयहरुमा पुराउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितको निर्देशन

सारांश :

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल बिद्यालयहरुमा पुराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल बिद्यालयहरुमा पुराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सवै बिद्यालयमा पुराउन पनि निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिए । उनले पाठ्यपुस्तक नपाउने समस्याको दीर्घकालीन समाधान खोज्न सुझाव दिए भने पाठ्यपुस्तक बितरणको जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव दिएका छन् ।

बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले कागज अभावका कारण समयमा नै पाठ्यपुस्तक छपाई कार्यमा समस्या भएको जानकारी दिएका छन्। असारको पहिलो हप्तासम्म देशभरका बिद्यालयमा पुराउने दावी गरेका छन् । स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपर्ने भएकाले र रुस–युक्रेन युद्धका कारण किताब छाप्ने कागज आइनपुगेको उनको भनाई छ ।

बैठकमा समिति सदस्य योगेश भट्टराईले शैक्षिक सत्र सुरु हुने भन्दा निकै अगाडी देखि नै पाठ्यपुस्तक छपाईको काम सुरु गर्नुपर्ने सुझाव दिएका छन् । हरेक बर्ष पाठ्यपुस्तक अभावको समस्या समाधानको दिर्घकालिन समाधान खोज्नुपर्ने उनको भनाई छ ।

त्यस्तै समिति सदस्य चित्रलेखा यादवले पाठ्यपुस्तक अभावका कारण सार्वजनिक बिद्यालयको शिक्षाको गुणस्तरमा समेत असर पर्ने धारणा राखेका छन् ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमीला देवी बज्राचार्यले कागजको समस्या कारण नै समयमा पाठ्यपुस्तक छपाई गर्न नसकेका भन्दै यसको समाधानमा मन्त्रालय लागिरहेको जानकारी दिएकी छिन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!