मनमा क्रिकेट थियो, भाग्यमा भारतत्तोलन, अल्पायुमा नै किन गइन सञ्जु चौधरी ?

सञ्जु चौधरीलाई क्रिकेट असाध्यै मन पर्थ्यो।२०१५–१६ को मध्यसम्म पनि सञ्जु बाँके जिल्लामा मात्र नभएर पश्चिमाञ्चल क्षेत्रमै महिला क्रिकेटको चर्चित नाम बनिसकेकी थिइन्।तर उनको भाग्यमा क्रिकेट हैन, भारतत्तोलन लेखिएको रहेछ।भारतत्तोलन खेल्नकै लागि उनलाई भगवानले २३ वर्षको छोटो र सार्थक जीवन उपहारस्वरूप दिएका रहेछन्, उनको असामयिक मृत्युपछि अब यी शब्दहरू केवल सान्त्वना मात्र बन्न पुगेका छन् ।

सञ्जुका बाबु नेपालगञ्ज शहरको भेरी अञ्चल अस्पतालमा काम गर्थे।त्यसैको सञ्जुको बाल्यकाल पनि नेपालगञ्ज शहरको सेरोफेरोमा बित्यो।भेरी अञ्चल अस्पतालको उनी बस्ने भाडाको घरबाट महेन्द्र रङ्गशाला हिँडेर गए पनि पाँच–सात मिनेटमा पुगिन्थ्यो।उनी आफ्ना टोलका साथी र दाइहरूसँग दिनहुँ खेल्न भनेर रङ्गशालामा पुग्ने गर्थिन्।यसरी सानैबाट उनलाई खेलप्रति लगाव बढ्दै गयो।

सानैबाट दौड, लङजम्प र हाइजम्प खेलेर हुर्किएकी सञ्जु एथ्लेटिक्स हुँदै क्रिकेटतर्फ आकर्षित भइन्।नेपालगञ्जको रङ्गशालामा धेरै किसिमका खेल गतिविधिहरू हुने गरेता पनि क्रिकेट सबैभन्दा लोकप्रिय थियो।महिला क्रिकेट टोलीले पनि नियमित प्रशिक्षण गर्ने गरेका कारण उनी क्रिकेटतर्फ आकर्षित भइन् र छोटो समयमै यो खेल खेल्ने तरिका र नियमहरू सिकिन्।

नेपालगञ्जका सिनियर खेलाडीहरूको साथ र सहयोगमा समयक्रमसँगै सञ्जुले आफ्नो खेलकौशललाई तिखार्दै लगिन् र छोटो समयमै जिल्लाको महिला टोलीमा स्थान बनाइन्।उनी राम्रै बलिङ गर्थिन् तर उनलाई बलिङ भन्दा ब्याटिङ गर्न बढी रमाइलो लाग्थ्यो।२०१५ सम्म आइपुग्दा उनी बाँकेको जिल्ला महिला टोलीकी राम्रो अलराउण्डरमा पर्दथिन्।२०१५–१६ मा सञ्जुले विभिन्न जिल्लास्तरीय, क्षेत्रीय र राष्ट्रियस्तरको प्रतियोगिताहरूमा भाग लिने मौका पाइन् ।

उनको शारिरीक क्षमता र लगनशीलतालाई हेरेर सञ्जुले क्रिकेटजस्तो टिम गेममा भन्दा भारतत्तोलनजस्तो ‘इन्डिभिजुअल’ गेममा लागिन् भने उनी र यो खेल दुवैका लागि राम्रो हुन्छ भनेर दुईपटक नेपालका तर्फबाट एशियाडमा प्रतिनिधित्व गरिसकेका भारतत्तोलनका भेट्रान खेलाडी समसुद्दीन सिद्दिकीका साथै अन्य गुरूहरूले सञ्जुको घरमै पुगेर उनको परिवारलाई सम्झाएका थिए।

‘अर्का एकजना राजु केसी भन्ने एक परिचितका छोरा प्रकाश र सञ्जुको घरमै पुगेर हामीले उनीहरूको परिवारलाई राजी गराएर उनीहरूलाई यस खेलमा ल्याएका थियौँ’, सिद्दिकीले बताउनुभयो, ‘सञ्जुले हाम्रो यो निर्णयलाई सही साबित गर्दै एकदमै छोटो समयमा यो खेलमा राम्रो गर्दै गईन्।’ भारतत्तोलनमा लागेपछि पनि उनले कहिले पछाडि फर्केर हेर्नुपरेन।समयसँगै उनले आफ्नो स्तरलाई बढाउँदै लैजान सफल भईन् र राष्ट्रियस्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि ख्याति कमाइन्।

सञ्जु चौधरी नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ठ, प्रतिभाशाली र सफल महिला भारतत्तोलन खेलाडी थिइन्।उनले आफ्नो भारतत्तोलनको छोटो करिअरमा अहिलेसम्म कसैले भेटाउन नसकेका कोशेढुंगाहरूलाई पार गरेर नेपालमा यो खेलको स्तरलाई नै माथि उठाएकी थिइन्।२०१९ मा काठमाडौंमा भएको तेह्रौँ राष्ट्रिय खेलकुदमा उनले श्रीलंकाकी खेलाडी पछाडि पार्दै ५९ केजी समूहतर्फ स्वर्ण पदक जितेकी थिइन्।त्यो ऐतिहासिक पदक अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला खेलाडीले जितेको पहिलो स्वर्णपदक थियो।

वर्तमान परिप्रेक्ष्यमा पनि उनी निर्विवाद रूपमा नेपाली भारतत्तोलनकी उत्कृष्ठ खेलाडी थिइन्।भारतत्तोलनका विभिन्न राष्ट्रिय किर्तिमानहरू सञ्जु चौधरीका नाममा छन्।२०७३ सालको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर भारतत्तोलन खेलमा लागेकी सञ्जुले यो ५–६ वर्षको अन्तरालमा उल्लेखनीय अवसर, अपलव्धी र अनुभव संगाल्ने मौका पाएकी थिइन्  र आफूलाई त्यही अनुरूप निखार्दै लान समेत सफल देखिन्थिन्।

लगभग दुई वर्ष नेपाल प्रहरीको जागिर खाएर पुलिस क्लबमा आवद्ध भएकी चौधरीले ६ महिनाअघि मात्र प्रहरीको जागिर छाडेर हाल प्रशिक्षक सञ्जय महर्जनसँग एशियन गेम्सको तयारी गरिरहेकी थिइन्।सातौँ राष्ट्रिय खेलकुदमा प्राविधिक कारणले अयोग्य घोषित हुँदै बाहिरिनु परे पनि सञ्जुभित्र लुकेको प्रतिभाको पहिचान गरेका प्रशिक्षक सञ्जयले उनलाई काठमाडौं बोलाएका थिए।पछिल्लो समयमा पनि सञ्जुलाई तिनै प्रशिक्षकले आफ्नै घरमा आश्रय दिएर प्रशिक्षण गराइरहेका थिए।ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको त्यही घरको भुइँ तल्लामा सोमबार राति पासो लगाएर आफ्नो जीवनयात्रालाई पूर्णविराम लगाइदिइन्।

सञ्जु चौधरीको असामयिक निधन नेपाली खेलकुदको क्षेत्रका लागि मात्र होइन, समस्त राष्ट्रकै लागि ठूलो क्षति हो।उनी भारतत्तोलन खेलमा अहिलेको पुस्ताले पाएकी एक उत्कृष्ठ खेलाडी थिइन्।उनी विगत केही समयदेखि ‘डिप्रेसन’को अवस्थामा रहेको संकेतहरू प्राप्त भएका छन् यद्यपि यो कुराको पुष्टि भने भएको छैन।

उनको मृत्युपछि उनका एक नजिकका मित्रले उनले बेला–बेलामा ‘मर्न पाए पनि हुन्थ्यो’ र ‘आत्महत्या गर्छु’ जस्ता कुराहरू गर्ने गरेको तर उनले जिस्किएको होला भन्ने सोचेको बताएकी छिन् जुन कुराले उनी डिप्रेसनमा गएको हुनसक्नेतर्फ ईशारा गर्छ। नेपाल प्रहरीको जागिर छाडेपछि उनलाई आर्थिक रुपमा पनि गाह्रो परिरहेको थियो भन्ने कुराहरु पनि बाहिरिएका छन्। तर उनको मृत्युको सत्यतथ्य पत्ता लगाउनेतर्फ कसैले चासो देखाएको पाइएको छैन जसलाई खेदको विषय मान्नुपर्छ।

बाहिरबाट आफूलाई बलियो देखाइरहे पनि भित्र–भित्र उनलाई केही कुराहरूले खाइरहेको थियो, र ती कारणहरू उनको नितान्तः निजी विषय पनि हुनसक्छन् वा अरू नै केही।उनलाई नजिकबाट चिन्ने उनका आफन्त, उनीसँग धेरै समय बिताउने प्रशिक्षक र खेलाडी साथीहरूका साथै उनले दुःख–सुख बाँड्ने उनका साथी–संगीले पनि त्यस कुराको कुनै भेउ पाउन नसक्नुलाई पनि दुःखद मान्नुपर्छ।

सबैभन्दा ठूलो खेदको विषय, सञ्जु चौधरीको मृत्यु प्रकरणले हाम्रो राज्य र खेलकुद क्षेत्रको बागडोर सम्हालेर बसेको संस्था नै आफ्ना खेलाडीको शारिरीक र मानसिक स्वास्थ्यप्रति कति असंवेदनशील छ भन्ने कुरालाई पनि सतहमा ल्याएको छ।नेपालमा राज्यले खेल र खेलाडीप्रति कस्तो व्यवहार गरिरहेको छ भन्ने कुरा थप अध्ययन–अनुसन्धान र बहसको विषय बन्न पुगेको छ ।

सञ्जुको मृत्युको सुक्ष्म छानविन हुनुपर्छ: पूर्व राष्ट्रिय खेलाडी समसुद्दीन सिद्दिकी

बाँके नेपालगञ्जका समसुद्दीन सिद्दिकी नेपाली भारतत्तोलन जगत्‌को एक चर्चित नाम हो।दुई एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका भारतत्तोलनका भेट्रानका नाममा १५ अन्तर्राष्ट्रिय पदकहरू छन्।सञ्जु चौधरीलाई भारतत्तोलन खेलमा लाग्न महत्वपूर्ण भूमिका खेल्नुभएका सिद्दिकीसँग गरिएको छोटो कुराकानीः

प्रश्न: सञ्जु चौधरीसँग सरको परिचय कहिले भएको थियो ? सञ्जुको भारतत्तोलन खेलको शुरूवातको बारेमा केही बताइदिनुहोस् न

उत्तर: हाम्रो घर एउटै क्षेत्रमा भए पनि मैले सञ्जुलाई पहिले चिनेको थिइँन।उनी क्रिकेट, फुटबल र एथ्लेटिक्स पनि खेल्ने गर्थिन्।त्यही क्रममा २०६९÷७० बाट हाम्रो परिचय भए जस्तो लाग्छ।नेपालगञ्जमा एउटै रङ्गशालामा प्रशिक्षण गर्नुपर्ने भएकाले सञ्जुलाई अरू खेलहरू खेलेको देखिरहन्थ्यौँ।उभित्र लुकेको प्रतिभा, उसको क्षमता र लगनशीलताका साथै उसको शारिरीक ढाँचा देखेर मलाई के लाग्यो भने उनी टिम गेममा भन्दा भारतत्तोलन जस्तो एकल खेलाडीले गर्ने खेलमा आई भने धेरै माथि पुग्न सक्छे।

त्यसपछि मैले सञ्जुको बारेमा सोधखोज गर्दा थाहा भयो उसका बाबुआमा भेरी अञ्चल अस्पताल पछाडि बस्नुहुँदो रहेछ।उसको बाबुआमासँग कुरा गरेर उसलाई पनि धेरै सम्झाएपछि ऊ भारतत्तोलन खेल्न तयार भएकी थिइन्, २०७१÷७२ साल तिरको कुरा हुनुपर्छ यो।

प्रश्न: तपाइँले चिन्नुभएको सञ्जु चौधरी कस्तो स्वभावकी थिइन् ? उनले आत्महत्या गर्नुको पछाडि आर्थिक कारण वा खेलकै कारण परेको मानसिक दबाब हो भन्ने कुराहरू पनि बाहिर आएका छन्यसबारेमा के भन्नुहुन्छ ?

उत्तर: मैले चिनेको सञ्जु चौधरी एउटी आत्मविश्वासले भरिएकी, मेहेनती र लगनशील अनि ‘बोल्ड’ (खुला सोच भएकी) शालीन व्यक्तित्वकी धनी थिइन्।जीवनमा धेरै संघर्ष गरेका कारण उ बहादुर र नीडर थिई।मेरो विचारमा उनी यसरी आत्महत्या गर्नेखालकी केटी नै होइन।

आर्थिक कारण भन्नुभएको छ, पहिले उनको आर्थिक स्थिति कमजोर भए पनि पछिल्लो समयमा उनले आफ्नै बलबुतामा त्यसलाई सुदृढ बनाउँदै लगेकी थिइन्।तेह्रौँ सागमा स्वर्ण जितेपछि सरकारबाट पनि उसले केही पैसा पाएकी थिइन्।उनले खेलकूदमा लागेर नै नेपालगञ्ज–१० भृकुटीनगरमा घर बनाएर बाबुआमालाई हेर्दै आइरहेकी थिइन्।उसको मृत्युको पछाडि आर्थिक कारण थियो जस्तो मलाई लाग्दैन ।

जहाँसम्म मानसिक दबाबको कुरा छ, यदि खेलकै दबाबका कारण उसले आत्महत्या गर्नुथियो भने त्यो धेरै पहिले भइसक्नुपर्ने हो।किनभने उनले विगत ६–७ वर्षको अवधिमा उनले खेल्ने क्रममा ठूला–ठूला दबाब झेलिसकेकी थिइन्।खेलजीवनमा धेरै दबाब झेलेकी सञ्जुलाई त्यस्ता दबाबहरूले नै परिपक्व बनाएको थियो।हामीले हेर्दा पनि उनी खुसी नै देखिन्थिन्।उसले यसरी आत्महत्या गरेको खबर सुनेर हामी स्तब्ध छौँ।सत्यतथ्य बुझ्नका लागि यो घटनाको भित्री तहसम्म पुगेर छानबिन गरिनुपर्छ भन्ने मेरो माग छ।यही अन्तर्वार्ता मार्फत म नेपाल भारतत्तोलन संघ, राष्ट्रिय खेलकूद परिषद् र सरकार सबैसँग यसको छानबिन होस् भन्ने अपील गर्दछु।

प्रश्न: उनले नेपाल प्रहरीको जागिर छोड्नुको कारणबारे तपाइँलाई केही जानकारी थियो ?

उत्तर: त्यो उसको निजी मामिला भएका कारण मैले त्यसतर्फ चासो राखेको थिइँन।जागिर छाडेपछि उसले मलाई ‘गुरू मैले पुलिसको जागिर छाडिदिएँ, अन्त कतै लगाइदिनुपर्‍यो’ भनेर भनेकी चाहिँ हो।१५ दिन अघिमात्र हाम्रो कुरा हुँदा पनि कामको कुरा भएको थियो।मैले इद सकिएपछि कतै ‘सेटल’ गराउँला भने भनेकी थिई।अहिले उनको मृत्यु भइसकेपछि मलाई के लागिरहेको छ भने उनले प्रहरीको जागिर छाड्नुको खास कारण पनि खोजिनुपर्छ।

प्रश्न: नेपालमा एउटा खेलाडीचाहे कुनै पनि खेलको होस्उसले खेलेर आफू र आफ्नो परिवारको पेट पाल्छुत्यसैलाई पेशा बनाउँछु भन्नु सम्भव छ ?

उत्तर: अहिलेको अवस्थामा सम्भव छैन।अहिले नेपालको खेलकुद क्षेत्र व्यावसायिक भइसकेको छैन।त्यसमाथि कोभिडको महामारीका कारण दुई–तीन वर्षभन्दा बढी भइसक्यो कुनै प्रतियोगिताहरू भएका छैनन्, खेलाडीले खेल्न बिर्सिसके।धेरै खेलाडीहरू किनारा लागिसके।

नेपालमा खेलकुदलाई व्यावसायिक बनाउन छुट्टै नीति ल्याउनुपर्छ।खेलकुदमा राजनीति हावी भएको छ।खेलाडीहरू पलायन हुनुपरिरहेको छ।अहिले भइरहेको गलत पद्दतिलाई सुधार्नुपर्छ।धेरै सुधारको आवश्यकता छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!