काठमाडौँलाई कस्तो नबनाउने भनेर छलफल गर्नु सान्दर्भिक देखिएको छ

बाग्मती नेपालको एक मुख्य नदी हो । बागद्वार उद्‍गम स्थल भएको यो नदी काठमाडौंको किनारबाट बग्दछ । चोभारको गल्छीबाट उपत्यका काटेर तराईतिर बग्ने यो नदीलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू पवित्र मान्दछन् ।  यस नदीको किनारमा दाहसंस्कार गर्दा जन्म र मृत्युको बन्धनबाट मुक्त हुनुका साथै मोक्ष समेत प्राप्त हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । विगत केही वर्षदेखि यस नदीको स्वच्छताका लागि थुप्रै योजना र कार्यक्रम सञ्चालन भए तर  समस्या घट्नुको साटो बढ्दै गएको छ । बढ्दो जनसंख्या‚ अनियन्त्रित शहरीकरण‚ अव्यवस्थित ढल एवम् फोहोरमैलाले शहर झन् प्रदूषित हुँदै आएको छ । नदीको जलमार्ग दिनानुदिन साँघुरिदै गएको छ भने नदीको वहाव पनि क्रमश: घट्दै गएको छ ।

बाग्मती नदीलाई स्वच्छ बनाउने लक्ष्य अनुसारको काम हुन नसकेपछि २०६४ सालमा बाग्मती सभ्यता एकीकृत विकास समिति बनाएर काम गर्न थालिएको थियो । २०६६ सालमा मन्त्रिपरिषद्को निर्णयले बागमती कार्य योजना कार्यन्वयनमा आयो । बागमती बचाउ अभियानले केही समयका लागि तिव्रता पनि पायो तर प्रगति भएको देखिएन । सुकुम्बासी वस्ती तथा अन्य किसिमका अतिक्रमणले  नदीको सिमाना साँघुरो हुँदै गएको देखिन्छ । उपत्यकामा ढल तथा फोहोर व्यवस्थापन हुन नसक्दा नदी  दिनानुदिन प्रदूषित हुँदै गएको छ भने नदीको सिमाना साँघुरो भएका कारण वर्षायाममा नदीको वहाव शहर तथा बस्तीतिर पसेर डुबानको समस्या देखिने गरेको छ। वर्षेनी धोबीखोला बागमतीको डुबानले सताइ रहेको छ । वर्षमा १ महिना चिन्ता गर्ने अनि ११ महिना कानमा तेल हालेर सुत्ने परिपाटीले गर्दा बाग्मतीको व्यवस्थापन नभएको हो ।

प्राविधिक जनशक्तिको कमी र निर्णायक तहमा भएका व्यक्तिहरूमा इच्छाशक्ति नभएका कारण ढल निर्माण कार्य सम्पन्न गर्न; सम्पन्न भएका सडक सञ्चालन गर्न; मर्मत तथा सम्भार गर्न; र भइरहेको फोहोर व्यवस्थापन गर्न पनि चुनौतीपूर्ण बनेको छ । पूर्व मूख्य सचिव लिलामणि पौडेलको नेतृत्वमा सञ्चालित बाग्मती सफाइ अभियानले अहिले पनि निरन्तरता पाइरहेको भए तापनि त्यो पर्याप्त हुन सकेको छैन । फोहोर जथाभावी गर्ने अनि झिँगा धपाउने मात्र गरेर बागमती सफाइ अभियान कहिले पूर्ण होला ?

बाग्मतीको उद्गमस्थलबाट पशुपतिसम्म र पशुपतिदेखि चोभारको गल्छीसम्म दुई वटा फरक फरक योजना बनाइ कार्यन्वयन गर्नेतर्फ सोच्नुपर्छ । हरियाली सहितको सफा बाग्मती नदीको परिकल्पना साकार पार्न बाग्मतीको दुवैतर्फ खुला र स्तरीय सडक‚ ग्रिनबेल्ट निर्माण र ढल मिसावटबाट बचाउन ढल प्रवाह हुने छुट्टै व्यवस्था गर्नु जरुरी छ । अन्यथा बाग्मती नदीमा अहिले झैं निरन्तर ढल बगिरहने छ ।  ढललाई अन्डरग्राउण्ड गर्दै सम्भव भएसम्म सडक र पुलसँग जोडेर चोभारसम्म निकास दिने योजना बनाइ कार्यन्वयन गर्नु आवश्यक देखिन्छ । पशुपतिनाथदेखि टेकु दोभानसम्म बागमती नदीको पानीलाई संकलन गरी वोटिङ सञ्चालन गर्नेबारे पनि सोच विचार गर्नुपर्दछ । बाग्मती नदीलाई सौन्दर्यको पर्याय बनाउन स्थानीय नागरिकले पनि जिम्मेवारी बोध गर्नुपर्ने हुन्छ । यी सन्दर्भलाई मनन गर्न सके मात्र बाग्मतीको वास्तविक स्वरूप कायम हुन र हामीले सोचेजस्तो पर्यावरणीय सन्तुलन कायम गर्न मदत पुग्छ।


हरियाली सहितको सफा बाग्मती नदीको परिकल्पना साकार पार्न बाग्मतीको दुवैतर्फ खुला र स्तरीय सडक‚ ग्रिनबेल्ट निर्माण र ढल मिसावटबाट बचाउन ढल प्रवाह हुने छुट्टै व्यवस्था गर्नु जरुरी छ ।


विगत केही वर्षदेखि हप्तैपिच्छे बागमती सफाइ अभियान जारी छ । जुन रूपमा बागमती सफाइ अभियान शुरु भयो‚ त्यसको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । यति भए पनि यो अभियानमा उपत्यकावासीको सक्रिय सहभागिता अपरिहार्य छ । घरघरबाट निस्किएका ढल र जथाभावी यत्रतत्र थुपारिएका फोहोर मैलाले बागमतीको अस्तित्व संकटमा परिरहेको कोहीबाट लुकेको छैन तर यसलाई मनन गर्ने समय धेरैसँग नभएझैं देखिन्छ  ।

सर्वसाधारणमा नदी सफा राख्नुपर्छ भन्ने चेतनाको विकास भएका कारणले तुलनात्मक रूपमा  विगतभन्दा अहिले केही सफाइ त भएको छ तर त्यतिले मात्र पुग्दैन । उपत्यकावासीको ध्यान यसतर्फ केन्द्रित गराउनु जरुरी छ । यो एउटा पवित्र नदी हो । यसको स्वच्छताले मानवीय जीवन पनि स्वस्थ रहन सक्छ‚ अन्यथा विभिन्न रोगको सिकार बन्ने कुरामा दुई मत छैन । घर-घरबाट निस्कने ढल र फोहोरको व्यवस्थापन गर्न नसक्दा यो स्थिति सिर्जना भएको हो । राजधानीका करिब ३ लाख भन्दा बढी घरहरूमा करिब ४०/४५ लाख मानिसहरू बस्दछन् । ती घरबाट निस्कने ढल बागमती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचा, हनुमन्ते लगायतका नदी र खोलाहरूमा मिसाइएको छ । यो ढल मिसाउने विषयको व्यवस्थापन जबसम्म हुन सक्दैन तबसम्म जति सफाइ गरे पनि  उस्तै रहने छ ।

नदीमा थुप्रै पानी बग्यो । त्योसँगै राजनीतिका थुप्रै फोहोरी खेलहरू पनि भए । यसको वहानामा आफ्नो गोजी भर्नेहरू पनि भेटिए तर नदीको अवस्था भने ज्युँका त्युँ छ । ०६३/६३ को जनआन्दोलन पछि पनि थुप्रै सरकारहरू बने । थुप्रै प्रधानमन्त्री‚ मन्त्री‚ सांसद‚ मेयर बने तर बागमतीको स्वरूप भने झन् बिग्रँदै गएको छ । राजनीतिकर्मीहरूमा ईच्छाशक्तिको कमी हुँदा उनीहरूले यसलाई पनि स्वार्थपूर्ति गर्ने माध्यम बनाए । बाग्मतीको प्रदूषण पनि अरूले नै गरेको दोष लगाए तर विडम्बना त्यसको सौन्दर्य बारे कसैले सोचेन ।

एकातिर सफाइ अभियान जारी रहेको छ भने अर्कोतिर जानाजान उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोर थुपार्ने काम भइरहेकै छ । यी स्थानहरूमा देखिने फोहरको थुप्रोले यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित बाग्मती लगायतका नदीको महिमा र छवी नासिँदै गएको छ।  हप्तौं होइन महिनौसम्म पनि फोहोरका थुप्रोहरू ती सडक‚ चोक र नदी किनारबाट उठाउने र व्यवस्थापन गर्ने कार्यलाई सरोकार राख्ने पक्षले बेवास्ता गर्दै आएका छन् । घर बाहिर हिँड्दा समेत नाक थुनेर हिँड्नुपर्ने अवस्था छ । गर्मीयाम बढेसँगै फोहोर थुप्रिएकाले प्रदूषण अझ बढेर महामारी फैलन सक्ने खतरा बढ्दै गएको छ। यसले देशकै राजधानी शहर काठमाडौं विश्व सामु घृणित हुने चिन्ता थपिएकोछ ।

सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ । स्थानीय सरकारहरूले फोहोर व्यवस्थापनलाई चासो नदिई पन्छने गरेको देखिन्छ । त्यस विषयमा स्थानीयले पनि कुनै खबरदारी गरिरहेका छैनन् । सरकारका काम कारबाहीप्रति नागरिक समाज तथा वुद्धिजिवीहरूले वाच डगको भूमिका निर्वाह गर्नुपर्नेमा त्योसमेत यथेष्ट मात्रामा हुन सकिरहेको छैन । वुद्धिजिवीहरूमा वुद्धि वेचेर जीविकोपार्जन गर्ने तर सार्वजनिक सरोकारका विषयमा आवाज नउठाउने प्रवृत्ति हावि भएको छ ।

सरसफाइलाई जबसम्म एउटा अभियानका रूपमा लिइँदैन‚ जबसम्म आफ्नो घर वरपर आफैं सरसफाइ गर्ने वातावरण बन्दैन, तबसम्म बागमती लगायतका नदीहरूको दुर्दशा यस्तै रहिरहने निश्चित छ । हरेक नागरिकले सरसफाइमा विशेष ध्यान दिने र स्वच्छ वातावरणको हकको लागि सरकारलाई बेलाबेला घचघच्याई रहनु आवश्यक छ । नागरिकले पनि आफू जिम्मेवार हुन जरुरी छ । आफ्नो घर अगाडिको फोहोर उठाउन पनि सरकारकै मुख ताक्ने स्थितिको अन्त्य गर्नुपर्दछ ।

आफूले गरेको फोहोरको व्यवस्थापन आफैं गर्ने बानी बसाउन मूलत: स्थानीय नागरिकमा चेतनाले मात्र काम गर्न नसकिरहेको पक्षलाई विचार गरी दण्ड प्रणाली लागू गर्नु आवश्यक भएको छ।  चुईगम मुखमा हालेर त्यसको खोल जथाभावी फाल्ने, सार्वजनिक स्थानमा पिच्चपिच्च थुक्ने । चुरोटका ठुटा सडकमै मिल्काउने र लगाइरहेको मास्क उचितस्थानमा नराख्ने प्रवृत्ति सामान्य बन्दै गएकोछ । यी समस्याबाट मुक्त हुन एक खालको अनुशासनमा रही सभ्य नागरिकको परिचय दिन सकियो भने मात्र सरसफाइ अभियानमा सुधारका केही संकेतहरू देखा पर्नेछन् । यहाँ नागरिक दायित्व र सरकारी जिम्मेवारीबीच समन्वयको खाँचो देखिएको छ । राज्यको दायित्व जनतालाई सेवा प्रवाहसँगै स्वच्छ वातावरणमा बाँच्न दिने वातावरण बनाउनु पनि हो ।  यसको लागि काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरूले एकीकृत योजना बनाइ बागमती सफाइ अभियानलाई कार्यन्वयन गर्न सकियो मात्र  सफा, स्वच्छ र सुन्दर बागमतीसहितको काठमाडौं हामीले देख्न सक्ने छौं ।

कुनै समय काठमाडौं (कान्तिपुर) को सौन्दर्यवाट मोहित भएर आदिकवि भानुभक्त आचार्यले अलकापुरी नगरी कविता लेखेका थिए । यो अलकापुरी नगरी वास्तुशिल्पको शहर हो । यसलाई मन्दिरै मन्दिरको शहर पनि भनियो । ४०० ईशापूर्व पुरानो किराँत सभ्यतालाई अझै पनि आफ्नो गर्भमा समेटेर बाँचेको यो शहरले आधुनिकतालाई पनि आत्मसात गर्दै गएको छ । अहिले मन्दिरै मन्दिरको यो शहरमा आधुनिक व्यापारिक भवन, सिनेमा घर, अनेक प्रविधियुक्त संरचनाहरू थपिएका छन् । आदिकवि भानुभक्तले भनेको जस्तो नभएर अहिले काठमाडौं कतै दिल्लीजस्तो, कतै लन्डनजस्तो र कतै चाहिँ बनारसजस्तो हुन पुगेको छ । यो शहर ‘आधुनिकता र प्राचीन शैलीको फ्युजन’ बन्दै गएको झैं देखिन्छ । काठमाडौंलाई कस्तो बनाउने भन्दा पनि कस्तो नबनाउने भनेर छलफल गर्नु र नयाँ योजना बनाउदा सबै कुरालाई ख्याल गरेर विकास गर्नु सान्दर्भिक देखिएको छ । काठमाडौंलाई पूर्णतः प्राचीन शहरका रूपमा विकास गर्न कसरी सकिएला ? साँस्कृतिक सहरलाई सभ्यतासँग जोडिएको सहरको रूपमा विकास गर्न के गर्नुपर्ला ? उपत्यकालाई सांस्कृतिक  राजधानी वनाउनेबारे पो सोच्ने  हो कि ? यी प्रश्न पाठक वर्गलाई प्रतिक्रियाको लागि छोडेकी छु ।

source -INS

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!