सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री

कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्रीवितरण गरेको जनाएको छ ।

नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको हो । उक्त पुस्तक बिक्रीवितरणबाट रु १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ । प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।

“सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । केही छुटेका ठाउँमा पनि शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पु-याउँछौँ”, उनले भने, “हामीसँग पाठ्यपुस्तक पर्याप्त छ । कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी पाठ्यपुस्तक शैक्षिक सत्रअगावै पुग्छ ।”

केन्द्रले यही चैत १३ गतेदेखि पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको थियो भने सबैभन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्रीवितरण गर्दै आएकामा आगामी शैक्षिकसत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्रीवितरण गरिरहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।

चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ ।
 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>