को हुन् इलाम –२ मा विजयी भएका नेम्वाङ ?

सारांश :

फिक्कल । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो ।


एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार आठ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार सात सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार नौ सय ४२ मत प्राप्त गरेका थिए ।

सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा काठमाडौँमा भएको थियो । काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा एसएलसी उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर उनि नेपाल फर्के।

स्वदेश फर्केर उनले काठमाडौँ स्कूल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौँको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी  वकालत गर्दै आएका थिए ।

सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताउनुभएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थाले ।

उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे । पछिल्लो समय उनि सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन् ।

विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । यद्यपि उनि राजनीतिक गतिविधिबाट भने टाढै 
थिए । सुहाङले यसअघिसम्म कुनैपनि निर्वाचनमा मतदान समेत गरेका  थिएन । आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएन ।

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएपनि खासै रुचि भएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको  हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा माओवादी केन्द्र नेकपा र नेपाल परिवार दलको समर्थन पाउनुभएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाएका छन् ।

सालिन एवम् बौद्धिक नेताको छवि बनाउनुभएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ ।

आफू विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्धा इलामको नागरिकको साझा भएको उनको भनाइ
छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनको भनाइ छ । उनि आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउछन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ ।

हाल सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य छन् । उनका एक दाजु, एक दिदी र एक बहिनी छन् । उनको दिदी सुसाङ पेशाले डेण्टल सर्जन छिन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर  गर्दैछन्  ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!