पर्सा । मानवसेवा आश्रममा आश्रय लिँदै आइरहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि भारत पठाइएको छ ।
मानवसेवा आश्रम वीरगञ्जमा एक कार्यक्रम गरी २७ जना भारतीय नागरिकलाई रेलमार्फत आआफ्नो घरमा पुनर्मिलनको लागि पठाइएको हो । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मनोज मिश्र, मानवसेवा आश्रमका सचिव समुन बर्ताैला, मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतम, सहसंयोजक प्रकाश थारुलगायतले बिदाइ गरेका थिए ।
मानवसेवा आश्रमका सचिव बर्तौलाले विभिन्न सेवा केन्द्रमा रहेका २७ जना भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइएको जानकारी दिए । “भारतका आधा दर्जनभन्दा धेरै राज्य तथा प्रदेशका भारतीय नागरिकलाई स्वदेश फर्काउन लागेका हौँ”, उनले भने, “पारिवारिक पुनर्मिलन गराउन लागेकामध्ये २१ जना पुरुष र छ जना महिला छन् ।”
पारिवारिक पुनर्मिलनका लागि पठाइएका भारतीय नागरिकको स्थायी ठेगाना भने विहार, उत्तरप्रदेश, आन्द्रप्रदेश, उडिसा, महाराष्ट्र, तेलगंना रहेको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मिश्रले मानवसेवा आश्रमले भारतीय नागरिकलाई आआफ्नो घरमा पुनर्मिलन गराउन लागेको कार्य निकै सराहनीय रहेको बताए । “भारतीय नागरिकको उद्धार गरेर पारिवारिक मिलन गराउन लागेकामा मानवसेवा आश्रमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु”, उनले भने ।
मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक गौतमले भारतीय दूतावासबाट सडकमा आश्रित भारतीय नागरिकको लागि आवश्यक सहयोग र साथको आवश्यकता रहेको बताए । “सडकमा आश्रित नेपाली नागरिकको लागि त हामीले काम गरिरहेका छौँ, भारतीय नागरिकका लागि दूतावासबाट आवश्यक व्यवस्थापनको काम भइदिए सहज हुने थियो”, उनको भनाइ थियो ।
मानव सेवा आश्रमले हालसम्म एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलन गराइसकेको त्यस अवसरमा जानकारी दिइएको थियो । रासस
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts