घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

सारांश :

कैलाली । घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ। साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँगै स्थानीयलाई सहज भएको हो ।


आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयलाई टाढा जानुपर्ने बाध्यता हटेको छ । बिरामी हुँदा टाढा जानुपर्ने बाध्यता हटेपछि समय र पैसा पनि बचत भएको घोडाघोडी–६ का कृष्णबहादुर विकले बताए । “आफ्नै गाउँ नजिकै धेरै सेवा लिन पाउँदा खुसी लागेको छ”, उनले भने, “अब धनगढी, नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्यो ।”

कम लागतमा सबै खालका सेवा स्थानीयस्तरमा पाएकामा देवसिंह विष्टले खसी व्यक्त गरे । “पहिले उपचार गर्नका लागि टाढा जानुपथ्यो”, उनले भने, “उपचार गर्न टाढा जाँदा गाडी भाडामै धेरै खर्च हुन्थ्यो, अब भने सहज भएको छ ।” नगर अस्पतालमा सर्पदंश, रेविज, प्रयोगशाला, प्रसूतिलगायत आकस्मिक सेवा सञ्चालन भइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिए । उनका अनुसार हाल अस्पतालमा तीनजना एमबिबिएस डाक्टरसहित नर्सिङ हेल्थ असिस्टेन्ट, नर्स, अहेव, अनमी, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र नगर एम्बुलेन्ससहितको सेवा सञ्चालनमा रहेको छ ।

नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढ्दै गएको नगर अस्पतालका चिकित्सक सरोज श्रेष्ठले बताए । उनका अनुसार दैनिक ५० देखि एक सय जनासम्म बहिरङ्ग (ओपिडी) मा सेवा लिन आउने गरेका छन् । नगर अस्पतालमा स्वास्थ्य बिमा पनि सुरु गरिएो भन्दै सोही कारण बिरामीको सङ्ख्या पनि बढेको उनले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गगरेका थिए ।

सोहीअनुरूप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा पनि १५ श्ययाको नगर अस्पताल बनाउने निर्णय भएको थियो । अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माणको काम अघि बढाइएको थियो । जमिनको भोगाधिकारका कारण भवनको जगमात्रै बनेर रोकिएको छ ।

भवन निर्माण रोकिए पनि साडेपानी स्वास्थ्यचौकीको भवनमार्फत सेवा दिइरहेको घोडाघोडी नगपालिकाका प्रमुख खड्कबहादुर रावतले बताए ।“यहाँका जनतालाई सहज स्वास्थ्य सेवा पहुँच पुर्याउने नगरको पहिलो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो, “नगर अस्पतालबाट सेवा पाउँदा स्थानीयलाई सहज भएको छ ।” उनका अनुसार चाँडै अलपत्र रहेको निर्माणाधीन नगर अस्पतालको भवन सम्पन्न गरी थप सेवासमेत विस्तार हुनेछ । रासस

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!